Comments Add Comment

युएईमा तिहारः सामुहिक देउसीभैलो, फजुल खर्चमा कटौती

युएई/ युएईमा रहेका विभिन्न संस्थाको संयुक्त आयोजनामा नेपाली राजदूतावास अबुधावीमा सामुहिक देउसीभैलो कार्यक्रम भएको छ ।

गत बिहीबार दूतावासमा आयोजित कार्यक्रममा दूतावासका कर्मचारीसहित गैरआवासीय नेपाली संघ युएई, आदिवासी जनजाति महासंघ, प्रवासी नेपाली मञ्च तथा जनप्रगतिशील मञ्च, नेपाली जनसम्पर्क समिति, इनास युएईलगायतका संस्थाका प्रतिनिधिको सहभागितामा सामुहिक देउसी खेलिएको एनआरएन युएई अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिए ।

देउसीभैलो कार्यक्रममा सहभागी हुँदै कार्यवहाक राजदूत सागरप्रसाद फुँयालले चाडपर्व संरक्षणमा प्रवासी नेपालीले एकता दर्शाएको प्रति खुसी व्यक्त गरे ।

दूतावास जनताको सेवा गर्न आएकोले जनताको सेवामा सधै लागिरहने जनाउँदै समस्यामा परेका नेपालीलाई सहयोग गर्न संस्थाहरुले एकता गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले राजदूतावासको निवासमा देउसी भैलो खेल्ने परम्परालाई यो वर्षदेखि दूतावासले हटाएको समेत जनाए ।

फुँयालले भने, ‘राजदूत र कर्मचारीको निवासमा देउसी भैलो खेल्ने परम्परा अब रहने छैन । जिल्लागत संस्थाहरुले भिन्न भिन्न तवरले खेल्दै आएको देउसी अबदेखि सामुहिक रुपमा दूतावासको कार्यलयमा मात्र रहनेछ ।’

यस्तै, देउसी भैलोलाई सामुहिक रुपमा खेल्न दूतावासले सबै संघसंस्थालाई आग्रह गरेको छ ।

देउसी भैलोको उपहारमा गरिने फजुल खर्चमा समेत दूतावासले मितव्ययिता अपनाएको जनाएको छ ।

यस्तो रहृयो संघसंस्थाको देउसीभैलो

युएईका विभिन्न राज्यमा रहेका एनआरएन, राजनीतिक दलका प्रवासी संगठन तथा जिल्लागत संघसंस्थाहरुले सामुहिक तथा संस्थागत रुपमा देउसी भैलो खेलेका छन् ।

एनाआरएन युएई, झापाली समाज, नेपाली समुदाय युएईलगायतका संस्थाले यहाँ रहेका नेपाली व्यवसायीको घर तथा व्यवसायिक स्थलमा देउसी भैलो खेलेका हुन् ।

देउसी भैलो कार्यक्रमबारे पुर्व जानकारी गराएर सहभागी भएको झापाली समाज युएईका सचिव प्रकास सिग्देलले जनाए ।

एनआरएन युएईले अबुधावी, दुवई, शारजहा लगायतका राज्यमा नेपाली व्यवसायी रहको स्थानमा देउसी भैलो खेलेको छ ।

संस्कृति संरक्षणका लागि देउसीभैलो खेलिएको र संकलित दक्षिणा परोपकारी क्षेत्रमा खर्च गरिने एनआरएन युएई अध्यक्ष श्रेष्ठले बताए ।

नेवार समुदायले मनाए नेपाल संवत ११३९ र म्हः पुजा

नेवाः पुचः युएईले नेपाल संवत ११३९ र म्हः पुजा सहित शुभकामना आदानप्रदान गरेको छ ।

अबुधाबीमा आयोजित कार्यक्रममा युएईका विभिन्न क्षेत्रमा रहेका नेवार समुदायका तथा विभिन्न जातीय संस्थाका प्रतिनिधिले सहभागिता जनाएको नेवाः पुचः युएईका उपाध्यक्ष राजेश प्रधानले जानकारी दिए ।

कार्यक्रममा नेवार संस्कृति झल्कने कुमारी नृत्य प्रस्तुत गरिएको थियो । नेवार समुदायले यस संवतलाई नयाँ वर्षका रुपमा मनाउने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment