Comments Add Comment

मध्य तराईमा छठको रौनक : बजारमा किनमेल गर्नेको भीड

२६ कात्तिक, वीरगञ्ज । छठ पर्व शुरु भएसँगै आर्थिक नगरी वीरगञ्जमा चहल पहल बढेको छ । कात्तिक महिनाको शूक्ल पक्षको चौथी तिथिका दिनदेखि विधिवत रुपमा छठ शुरु हुने गर्दछ ।

यो पर्व सप्तमी तिथिका दिनको बिहानसम्म गरी चार दिन मनाइन्छ । तराई मधेसमा बस्ने भोजपुरी र मैथिली भाषी हिन्दुको मुख्य पर्वमा पछिल्लो समयमा अन्य समुदायको पनि आकर्षण बढ्दै गएको छ । अहिले वीरगञ्जलगायत मध्य तराईका गाउँघर, छठीघाट र स्थानीय एफएम रेडियोसमेत छठका गीतले गुञ्जायमान छन् ।

वीरगञ्जलगायत तराई मधेसका बजारहरुमा छठ पूजाको लागि चाहिने पूजा तथा प्रसाद सामाग्री, भाडाँवर्तन, लत्ता कपडा इत्यादिको किनमेल बढेको छ ।

छठपूजामा छठी मातालाई चढाइ मुख्य प्रसाद ठेकुवा हो । जुन गहुँको शुद्ध पिठोमा भेली र चिनी मिसाएर घीउ वा तोरीको तेलमा पकाइन्छ । यस्तै छठी मातालाई अर्पण गरिने अन्य प्रसादहरुमा स्याउ, केरा, सुन्तला, पानी सहितको काँचो नरिवल, उखु, हरियो बोडी, पानी सिङ्गडा, गागल, मुला, अदुवाको बोटलगायतका फलफूल र हरियो तरकारीहरु हुन् । यी फलफूल र तरकारीको पसल वीरगञ्ज बजारको मुख्य सडकका फुटपाथ र सडक छेउमै थापिएका छन् । ती पसलहरुमा दिनभर ग्राहकहरुको भीड लागेको छ ।

छठ पर्व नजिकिएसँगै छठका लागि आवश्यक सामाग्रीको बिक्री बढेको वीरगञ्जको नगवाका दिनेश साह तुराहाले जानकारी दिए । अन्य समयमा तरकारीको व्यापार गर्ने दिनेश २० वर्षदेखि छठको समयमा छठका लागि आवश्यक सामाग्री बेच्दै आएका छन् । उनले छठका लागि आवश्यक समाग्रीको व्यापार बढ्दा आफूलाई फाइदा हुने बताए ।

वीरगञ्जको माईस्थान, घण्टाघरलगायतका क्षेत्रमा छठ पर्वमा कोशी भर्नका लागि आवश्यक सामाग्री १ सय रुपैयाँमा किनबेच भएको छ । जसमा अदुवा, पिडालु, मुला, वेसार, बोडी, लगायतका कृषिजन्य उपज हुने गर्दछ । नरिवल ४० रुपैयाँ प्रति गोटा, अदुवा २ सय रुपैयाँ प्रतिकिलो, मुला ४० देखि १ सय रुपैयाँ किलो, सुथनी १ सय रुपैयाँ किलो, केरा ७० रुपैयाँ दर्जनमा किनबेच भएको व्यापारीहरुले बताएका छन् । यसवर्ष कात्तिक २७ गते सँझिया घाट अर्थात मुख्य छठको दिन परेको छ भने त्यसको भोलिपल्ट उदाउँदै गरेको सुर्यलाई अर््घ्य दिएपछि छठ विधिवत रुपमा समापन हुन्छ ।

डोम समुदायले बनाउँछन् बेतबाँसका सामाग्री

डोम समुदाय बाँस र बेतका चोयाबाट भाँडाकुँडा बनाएर बिक्री गर्नमा व्यस्त भएका छन् । उनीहरुले यही सामग्री बेचेर मनग्य आम्दानी पनि गरिरहेका छन् ।

डोम समुदायले प्रत्येक छठ पूजामा बाँस र बेतका भाँडाकुँडा बेचेर राम्रो आम्दानी गर्ने गरेका छन् । कात्तिक लाग्नेबित्तिक्कै घरका बच्चादेखि बूढासम्मले बिहानदेखि बेलुकासम्म दाउरा, छैटा, सुफली बनाउनमा तल्लिन छन् । छठ पर्व मनाउने प्रत्येक तराईवासीले छठमाता तथा सूर्यदेवलाई बाँस र बेतबाटै बनाइएका सुफली, छउरा र छैटामा अर्घ दिनु अनिवार्य मानिन्छ ।

यसरी मनाइन्छ चार दिने छठ

छठ पर्वको पहिलो दिन अर्थात चौथीको दिनलाई ‘अरवा अरवाइन’ गरी चोखोनितो हुने गरिन्छ । दोस्रो दिन अर्थात् पञ्चमीको दिन ‘नहाय खाय’को दिन हो । दिनभरि उपवास बसी साँझ नयाँ बनाइएको व्रतालुहरुले चोखो परिकार पकाएर खाने गर्छन् ।

खीर बनाई डालीअनुसार उत्सर्ग गरी आफू तथा आफ्नो परिवारजनलाई दिने चलन छ । यसरी पञ्चमी तिथिमा दिनभरीको निराहार ब्रतपछि राति गरिने फलाहारलाई ‘खरना’ भनिन्छ । षष्ठीको दिन व्रत बस्नेहरु निराहार रही साँझ पवित्र कपडा लगाई पोखरी, नदी, तलाउ निर अस्ताउँदो सूर्यलाई ठकुवा, भुसुवा, केरा फलफुल, पान, सुपारी उखु आदिले अध्र्य दिई पूजा गर्छन् ।

यसलाई ‘सँझिया घाटे’ पनि भनिन्छ । त्यसको भोलिपल्ट अर्थात सप्तमीका दिन पनि पहिलेको नै उपकर्म गरी उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व विधिवत रुपमा समापन हुन्छ । त्यसलाई ‘पारण’ भन्ने गरिन्छ । छठमा आफ्नै खेतबारीमा पाइने वस्तुहरुको प्रयोग गर्ने चलन भए पनि पछिल्लो समयमा सबैकुरा किन्ने चलन बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment