Comments Add Comment

धर्नामा बसेका निर्मलाका आमाबुबा बिरामी

३० कात्तिक, कञ्चनपुर । बलात्कारपश्चात हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीय निर्मला पन्तको न्यायका लागि धर्ना बसेका उनका आमाबुबा बिरामी परेका छन् ।

पाँच दिन अघिदेखि हत्यारा पत्ता लगाउन माग गर्दै २४ घण्टे धर्नामा बसेका निर्मलाका बुबा यज्ञराज पन्त र आमा दुर्गा पन्तको स्वास्थ्य नाजुक बन्दै गएको हो ।कात्तिक २५ गतेदेखि धर्नामा बस्नुभएका यज्ञराजलाई ज्वरो आउनुका साथै रुखा खोकी लागेको र हातखुट्टा दुख्ने समस्या देखा परेको छ । दुर्गालाई समेत ज्वरो आएको र रक्तचाप घटेको छ ।

उपचारका लागि पुगेका महाकाली अञ्चल अस्पतालका चिकित्सक किशोर बोहराले दुवैको चिसोका कारण स्वास्थ्य बिग्रँदै गएको बताए ।

निर्मलाकी कान्छी आमा लक्ष्मी पन्तकोसमेत रक्तचाप बढेको पाइएको छ ।

यसैबीच, प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले पन्त परिवारको अवस्थाबारे जानकारी लिएका छन् ।

यज्ञराजले छोरीका हत्यारा पत्ता नलाग्दासम्म र न्याय नपाउँदासम्म धर्ना जारी रहने बताए ।

साथीको घरमा गएकी निर्मलाको साउन ११ गते उखु बारीमा शव फेला परेको थियो । हत्या भएको तीन महिनाभन्दा बढी समय बिते पनि हालसम्म हत्यारा पत्ता लाग्न सकेको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment