Comments Add Comment

इन्टरपोल महासभामा भाग लिन आईजीपी खनाल दुबई प्रस्थान

१ मंसिर, काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को ८७ औं महासभामा सहभागी हुन शुक्रबार राति दुबई प्रस्थान गरेका छन् ।

महासभामा सहभागी हुन प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्युरोका निर्देशक प्रहरी नायव महानिरीक्षक निरजबहादुर शाही र प्रहरी प्रधान कार्यालय, इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक उमेशराज जोशी समेत त्यसतर्फ प्रस्थान गरेका छन् ।

प्रहरी महानिरीक्षक खनालको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हालेका छन् ।

प्रहरी महानिरीक्षक खनाल आगामी ८ गते स्वदेश फर्किने छन् ।

महासभाले इन्टरपोलको नयाँ नेतृत्व चयन गर्ने

१ सय ९२ देशका प्रतिनिधिहरू सहभागी हुने महासभाले इन्टरपोलको नयाँ नेतृत्व चयन गर्ने छ ।  तत्कालीन इन्टरपोल प्रमुख मेङ हङवेइले पदबाट राजीनामा दिएपछि उक्त पद हाल रिक्त छ । इन्टरपोलको प्रमुख र तथा कार्यकारिणी समितिका विभिन्न पदाधिकारीहरु चयनका लागि महासभामा भोटिङ हुने छ ।

महासभामा सदस्य राष्ट्रहरुको वार्षिक प्रतिवेदन पेश हुने, नयाँ सदस्यताका लागि आवेदन दिएका देशहरुलाई सदस्य बनाउने कि नबनाउने भनेर मतदान हुने र विभिन्न देशबीच द्विपक्षीय छलफल हुने लगायतका कार्यक्रम छन् ।

यस वर्ष महासभामा इन्टरपोल सदस्यताको लागि गणतन्त्र कोसोभो, भानुआतु र किरिबाटी गरी ३ मुलुकले आवेदन दिएका छन् ।

महासभामा इन्टरपोल तथ्यांक प्रशोधनको आवश्यकता, सन् २०१७ को बजेट सम्बन्धी बाहृय लेखा परीक्षकको प्रतिवेदन, सन् २०१९ का कार्यक्रम तथा खर्च बजेट सम्वन्धी प्रस्ताव, आतंकवाद र आतंककारी क्रियाकलापमा लगानी, साइबर अपराध, मानव बेचबिखन जस्ता विषयमा संकल्प प्रस्ताव प्रस्तुत हुने तथा प्रस्तुत प्रस्तावमा छलफल भई महासभाबाट पारित हुने कार्यक्रम समेत छ ।

यसैगरी यस वर्ष कर्तव्यको सिलसिलामा मृत्युवरण गरी अमरत्व प्राप्त गर्ने प्रहरी कर्मचारीहरूको सम्मान गर्ने प्रस्ताव पनि रहेको प्रहरी प्रधान कार्यालय नक्शालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment