+
+
Shares

कालीगण्डकी किनारको कुमाल बस्तीः खाए मकै, नखाए भोकै

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर १ गते ८:२७

१ मंसिर, पोखरा । मुलुकमा ठुल्ठूला परिवर्तन आए पनि कालीगण्डकी नदीको किनारस्थित कुमाल बस्तीमा अहिले पनि ‘खाए मकै, नखाए भोकै’ भन्ने उखान चरितार्थ हुँदै आएको छ ।

तनहुँ जिल्लाको दक्षिणी भेग घिरिङ गाउँपालिका-४ को उर्वरभूमि गड्यौलीटारमा सिँचाइ अभावका कारण स्थानीय बासिन्दा अहिले पनि मुख्य खाद्यान्न बाली मकैमा निर्भर रहँदै आएका हुन् ।

बिहान उठेदेखि साँझ सुत्ने बेलासम्म विशेषगरी मकैकै भात, ढिँडो, आटो, रोटी, भुटुवा र जाँडसमेत बनाउनाका साथै वृद्ध र बालबालिकाका लागि सातुजस्ता परिकार बनाएर खानु-खुवाउनु पुस्ताँैदेखिको दैनिकी अहिले पनि कायमै छ । ‘बारीमा धान फल्दैन, विदेशबाट आएको र मजदुरी गरेर कमाएको पैसाले चामल किन्न सके मात्र भात खाने हो नत्र यही उब्जने मास, भटमास, बोडीको दाल र मकैको ढिँडो खाने गरेका छौं,’ गड्यौलीटारकी ४८ वर्षीया चन्द्रकुमारी कुमाल बताउँछिन् ।

गाउँमा विद्युत् छैन, डिजेलबाट चल्ने कलमा कुट्दा महंगो पर्ने भएकाले परम्परागत कुटानी पिसानी गर्ने जाँतो र ढिकी प्रयोग गर्दै आएको र सिँचाइ अभावमा आकाशे वर्षाको भरमा खेती गर्दै आएका छौं भन्दै उनी जोड दिन्छिन्, ‘बालबालिका, युवा तथा वृद्ध जुनसुकै उमेरका हुन् यहाँका सबैको मुख्य आहारा भनेकै मकै नै हो, के गर्ने विकल्प छैन, खाए मकै, नखाए भोकै ।’

यहाँका मानिसलाई मात्र नभई गाईवस्तुलाई समेत मकैकै कँुडो पकाएर दिने गरिन्छ ।

वैशाख महिनाको पहिलो हप्ता बारीमा लगाएको मकै साउनमा पाक्ने नयाँटारका भीमबहादुर कुमाल बताउँछन् । मकै पाकेर भाँचेपछि भदौको पहिलो हप्तामा मास, बोडीको बीउ, भटमास र फेरि मकै बारीभित्रै छर्ने गरिएको उनको भनाइ छ । यहाँका प्रत्येक घरको आँगनमा भण्डारण गरेको मकैको सुली बाह्रै महिना देख्न पाइन्छ ।

भीमबहादुरका अनुसार गाउँपालिका-१ खुङलिङटार, जगौलीटार तथा वडा नं ४ को गड्यौलीटार र नयाँटारमा झण्डै ५५० घर कुमाल परिवारका साथै आसपासका करुवाटार, पिपलटार, रुपटार र पट्टाटारका अधिकांश बासिन्दाको खाद्यान्नको मुख्य आधार पनि मकै नै हो ।

उनका अनुसार गाउँपालिकामा उत्पादनका हिसाबले अन्न भण्डारका रूपमा रहेका अधिकांश फाँटमा सिँचाइको व्यवस्था गर्न सके खाद्यान्न र तरकारीमा जिल्ला आत्मनिर्भर हुने देखिन्छ ।

फाँटमा सिँचाइको व्यवस्था हुने हो भने कृषिबाट स्वरोजगार सिर्जना हुने भएकाले युवाशक्ति विदेशिनु नपर्ने स्थानीयवासीको भनाइ छ । आफूले लगाएको २५ रोपनी जग्गामा मकै राम्रो उत्पादन भएको र सो जग्गामा लगाएको मास बिक्रीबाट मात्र यस वर्ष लगभग रु छ लाख आम्दानी गर्ने लक्ष्य रहेको गड्यौलीटारका कृषक धनबहादुर कुमाल बताउँछन् ।

‘उत्पादित वस्तु बिक्री हुँदैन कि भन्नु पर्दैन, खरीदका लागि व्यापारी गाउँमै आउने गरेका छन्,’ उनी भन्छन्, ‘मास, भटमास र बोडी प्रतिपाथी ५०० का दरले बिक्री हुने गरेको छ ।’

कालीगण्डकी नदीको पानी लिफि्टङ प्रविधिमार्फत फाँटमा सिँचाइ गर्न सक्ने हो भने स्थानीय कृषकको आर्थिक उन्नतिका साथै सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियान सार्थक हुने उनीहरूको अपेक्षा छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?