+
+
Shares

क्यूआर कोडसहितका थप १७ लाख थान लाइसेन्स छपाइ सुरु

सुरक्षण मुद्रण केन्द्रका उपसचिव गोपालराज तिमिल्सिनाले असार मसान्तभित्र १७ लाख थान लाइसेन्स छपाइ गर्ने लक्ष्य राखिएको जानकारी दिए ।

कपिल कोइराला कपिल कोइराला
२०८३ वैशाख २४ गते ११:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुरक्षण मुद्रण केन्द्रले दोस्रो चरणअन्तर्गत १७ लाख थान स्मार्ट सवारीचालक अनुमतिपत्र छपाइ सुरु गरेको छ।
  • यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीच वैशाख ४ गते क्युआर कोडसहितको स्मार्ट लाइसेन्स छपाइ सम्झौता भएको थियो।
  • पहिलो चरणमा १२ लाख थान लाइसेन्स छापेर विभागलाई हस्तान्तरण गरिएको र दोस्रो चरणमा हालसम्म २२ हजार ३१० थान छापिएको छ।

२४ वैशाख, काभ्रेपलाञ्चोक । सुरक्षण मुद्रण केन्द्रमा दोस्रो चरणअन्तर्गत थप १७ लाख थान स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को छपाइ सुरु भएको छ  ।

यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीच गत वैशाख ४ गते क्युआर कोडसहितको स्मार्ट लाइसेन्स छपाइसम्बन्धी सम्झौता भएको थियो । सरकारले पहिलो चरणमा छापिन बाँकी रहेका ‘ब्याकलग’ लाइसेन्स छपाइ सम्पन्न गर्नुका साथै दैनिक मागलाई प्राथमिकतामा राख्दै दोस्रो चरणको सम्झौता गरेको हो ।

सुरक्षण मुद्रण केन्द्रका उपसचिव गोपालराज तिमिल्सिनाले असार मसान्तभित्र १७ लाख थान लाइसेन्स छपाइ गर्ने लक्ष्य राखिएको जानकारी दिए । ‘पहिलो चरणको सम्झौताअन्तर्गत वैशाख पहिलो सातामै दैनिक ३१ हजार २२७ थानका दरले छपाइ गरी १२ लाख थान लाइसेन्स विभागलाई हस्तान्तरण गरिसकिएको छ,’ उनले भने ।

दोस्रो चरणको सम्झौताअन्तर्गत हालसम्म ८२४ थान अत्यावश्यक र २१ हजार ४८६ थान नियमिततर्फ गरी कुल २२ हजार ३१० थान लाइसेन्स छपाइ गरेर विभागलाई हस्तान्तरण गरिसकिएको छ ।

हाल वैदेशिक रोजगारी तथा अध्ययनका लागि विदेश जानुपर्ने अवस्थाका विद्यार्थीहरूका लागि प्राथमिकताका आधारमा तत्कालै मुद्रण गरिने अत्यावश्यक लाइसेन्स १२९ थान रहेका छन् ।

त्यस्तै, नेपाल सरकारको नीतिबमोजिम लाइसेन्स नवीकरण वा ट्रायल पासको राजस्व भुक्तानी गरिसकेपछि यातायात व्यवस्था विभागबाट तथ्याङ्क प्राप्त भएको २४ घण्टाभित्रै प्रिन्ट सम्पन्न गरी बुझाउनुपर्ने दैनिक लाइसेन्स चार हजार ८१ थान छपाइ प्रक्रियामा रहेको केन्द्रले जनाएको छ ।

त्यसैगरी मुद्रणको प्रतीक्षामा रहेका पुराना आवेदनहरू (ब्याकलग लाइसेन्स) मध्ये ५० हजार ८९७ थान छापिसकिएको र हस्तान्तरणको प्रक्रियामा रहेको बताइएको छ ।

पहिलो चरणका लागि खरिद गरिएको कच्चा पदार्थ सकिएकाले दोस्रो चरणको छपाइका लागि आवश्यक कागजलगायत सामग्री खरिद गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग सम्झौता गरिएको उपसचिव तिमिल्सिनाले जानकारी दिए ।

‘ती सामग्री आउन करिब दुई साता लाग्ने भएकाले हाल अत्यावश्यक तथा २४ घण्टे सेवाअन्तर्गतका लाइसेन्स मात्र छापिएका छन्,’ उनले प्रस्ट पारे ।

केन्द्र र विभागबीच गत कात्तिक १२ गते छ महिनाभित्र १२ लाख थान लाइसेन्स छपाइ गर्ने सम्झौता भएको थियो । विभाग र केन्द्रबीच प्रतिथान १९५ रुपैयाँ १७ पैसामा लाइसेन्स छपाइ गर्ने सम्झौता भएको हो ।

केन्द्रले हुलाक सेवा विभागसँगको सम्झौताअनुसार हालसम्म ३० लाख थान हुलाक टिकट छापेर हस्तान्तरण गरिसकेको जनाएको छ । थप ६० लाख थान टिकट छाप्ने सम्झौता प्रक्रियामा रहेको छ ।

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?