Comments Add Comment

विराटनगरमा प्रस्तावित भ्यूटावरले जहाजलाई अवरोध गर्ने

२ मंसिर, विराटनगर । विराटनगर महानगरपालिकाले निर्माण गर्न लागेको भ्यूटावरले बिराटनगर बिमानस्थलको एयर ट्राफिकलाई अवरोध गर्ने देखिएको छ । बिमानस्थलको वरपर ४५ मिटर अग्लो संरचना बनाउन नपाइने कानुनी प्रावधानलाई समेत कुल्चेर भ्यूटावरको योजना अघि बढाइएको हो ।

विराटनगर नागरिक उड्डयन प्राधिकरणले एयर ट्राफिकिङको समस्याबारे जानकारी गराउँदासमेत महानगरले १ सय १० मिटर उचाइको संरचनाको शिलन्यास गरेको थियो । प्राधिकरणका प्रमुख टेकनाथ सिटौलाले ठूला जहाज अवतरणका लागि आवश्यक हवाई दुरीभित्र पर्ने यो भ्यूटावरका विषयमा आफूहरुले गरेको पत्राचारलाईसमेत महानगरले वेवास्ता गरेको बताए ।

सिटौलाले भने, ‘भ्यू टावर विमानस्थलदेखि एक किलोमिटर भित्रै पर्दछ । यसले एयर ट्राफिकिङलाई असर पार्ने देखिएको छ ।’

यो क्षेत्र विमानस्थलबाट उत्तर-पूर्वी भागमा पर्दछ । जहाज उडाउन र अवतरण गराउन यो दिशा महत्वपूर्ण हुने सिटौला बताउँछन् । त्यसैले यो क्षेत्रमा अग्ला संरचना बनाउन नमिल्ने उनको तर्क छ । प्राविधिकहरुका अनुसार ठूला जहाजले ४-५ नटिकल (१ नटिकल माइलमा १८५० मिटर) माइलमा धावन मार्गतर्फ अवतरणको दिशा लिने गर्दछ ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीसहित सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले १८ कात्तिकमा विराटनगर-३ मा बन्ने भ्यूटावरको शिलन्यास गरेका थिए । भ्यू टावरको काम तत्काल रोक्न आग्रह गर्दै प्राधिकरणले महानगरपालिकालाई पत्राचार गरे पनि कुनै जवाफ पाएको छैन ।

अन्तरदेशीय उडान भर्ने गरी बनाइएको विमानस्थल विस्तारको गुरु योजनालाई भ्यू टावरले प्रभावित बनाउने सिटौला बताए । महानगरका प्रमुख पराजुलीले भने विमानस्थललाई असर नगर्नेमा ढु्क्क रहेको प्रतिक्रिया दिए । आफूले प्राविधिक तथा विज्ञसँग परामर्श गर्दा जहाज उड्ने र अवतरण हुने क्षेत्रभित्र नपर्ने निस्कर्षमा पुगेको उनको भनाई छ ।

महानगरले विराटनगर-३ स्थित दुधफारममा ४ अर्बको लगानीमा १ सय १० मिटर आग्लो भ्यूटावर निर्माण गर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment