१९ भदौ, काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीको दशौँ दिनसम्म पनि रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा सम्पर्कविहीन कर्मचारी तथा श्रमिकको खोजी चुनौतीपूर्ण बनेको छ ।
बाढीले १२ वटा जलविद्युत् आयोजनामा क्षति पुर्याएपछि सयौँ कर्मचारी तथा श्रमिकको अवस्था अझै अज्ञात छ । सुरुङ, भूमिगत विद्युत्गृह, कार्यालय तथा आवास क्षेत्रमा फसेकाहरूको खोजी कार्य जारी छ ।
खोजीका क्रममा भने दशौँ दिन (२१६ घण्टापछि) नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट नेपाल विद्युत् प्राधिकरणका दुई कर्मचारीलाई जीवितै उद्धार गरिएको छ ।
शुक्रबार बिहान करिब ८ ः ५५ बजे नेपाल विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान सञ्जय शाह र मेकानिकल सुपरभाइजर कबीर महर्जनलाई उद्धार गरिएको हो । उद्धार गरिएका दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको र काठमाडौंको छाउनीस्थित वीरेन्द्र अस्पतालको आईसीयूमा उपचार भइरहेको छ ।
उनीहरूको जीवितै उद्धार गरिएपनि सुरुङमा एउटा शव फेला परेको छ । आयोजनाका प्रमुख आवास ओझाका अनुसार सुरक्षाकर्मीले सुरुङबाट एउटा शव निकालेका हो ।
त्रिशूली–३ ‘ए’ मा ढुंगा फुटाउँदै सुरुङ सफा गर्ने काम
नेपाली सेनाका अनुसार त्रिशूली–३ ‘ए’ मा ९३ जनाको संयुक्त उद्धार टोली परिचालन गरी खोजी उद्धारको कार्य भइरहेको छ । आज नेपाल विद्युत् प्राधिकरणका इलेक्ट्रिकल सुपरभाइजर संजोग केसीसहित नेपाली सेनाको टोली थप व्यक्तिको खोजीका लागि पावर हाउसतर्फ प्रवेश गरेको छ ।
टोलीले पाँचवटा एस्काभेटर, कम्प्रेसर र ब्रेकर प्रयोग गरेर सुरुङको आउटलेटमा भरिएको लेदो, ढुंगा र बालुवा हटाउँदै करिब ३० मिटरभित्र प्रवेश गरेको थियो ।
सुरुङभित्र ठूलो ढुंगा भेटिएपछि त्यसलाई ब्लास्टिङ गरी बाटो खुलाउने र सुरुङ सफा गर्ने काम भइरहेको छ । यसअघि पनि सेनाको टोलीले सुरुङमा जमेको पानी, माटो तथा ढुंगा हटाउँदै भित्र पस्ने बाटो बनाएको थियो ।
दुई कर्मचारीको जीवित उद्धारले उद्धार टोलीको प्रयासलाई नयाँ आशा दिएको भए पनि सुरुङभित्रको अवस्था अझै जोखिमपूर्ण छ । बाढीले ल्याएको लेदो, ढुंगा र बालुवाका कारण सुरुङका कतिपय भागमा मेसिन तथा उद्धार टोली पुर्याउनै कठिन भइरहेको छ । त्रिशुली ३ ‘ए’ मा ४२ जना सम्पर्कविहिन रहेकोमा २ जनाको जीवितै उद्धार गरिएको छ भने १ जनाको शव फेला परेको छ । अब ३९ जना सम्पर्कविहिन छन् ।
त्रिशूली–३ ‘बी’ मा ठूलो मेसिन पुर्याउनै चुनौती
निर्माणाधीन माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनामा भने मुख्य चुनौती उद्धार टोलीलाई घटनास्थलसम्म पुर्याउने उपकरण र बाटो व्यवस्थापन बनेको छ । नेपाली सेनाका ८९ जना, तीन गैर सैनिक तथा आयोजनाका प्रबन्ध निर्देशकसहितको संयुक्त टोलीले आयोजनाको कार्यालय र कर्मचारी आवास क्षेत्र पहिचान गरेको छ । तर ती संरचनासम्म पुग्ने बाटो बाढीले तहसनहस पारेकाले एस्काभेटरबाट बाटो खन्ने र माटो तथा ढुंगा पन्छाउने काम भइरहेको छ ।
आयोजनाकी उपनिर्देशक लिला अर्यालका अनुसार अहिले तीन वटा एस्काभेटरबाट लगातार खन्ने काम भइरहेको छ । तर साना एस्काभेटरले अपेक्षित गतिमा काम गर्न नसक्ने अवस्था छ ।
ठूलो एस्काभेटर घटनास्थलसम्म पुर्याउन डाँडा काट्ने काम भइरहेको छ । त्यसबाट पनि सम्भव नभए ठूलो एस्काभेटरलाई केही साना पार्टमा विभाजन गरी घटनास्थलसम्म पुर्याएर पुनः जोड्ने विकल्पमा समेत छलफल भइरहेको छ ।
‘ठूलो एस्काभेटर जसरी हुन्छ पुर्याउन सकियो भने मात्रै कामको परिणाम देखिने अवस्था छ,’ आयोजनाको भनाइ छ । यसअघि पनि त्रिशूली–३ ‘बी’ मा हेलिकोप्टरमार्फत एस्काभेटर पुर्याएर उद्धार तथा पहुँच मार्ग निर्माणको प्रयास गरिएको थियो । त्रिशूली–३ ‘बी’ मा १९१ जना सम्पर्कविहीन छन् । जसमा फेवा कन्स्ट्रक्सनका १४१ जना, त्रिशूली जलविद्युत कम्पनीका २१ जना, कर्मचारी परिवार ७ जना, चेस्का इन्जिनियरिङ (परामर्शदाता)का १२ जना, सुरक्षा गार्ड १ जना र काठमाडौं विश्वविद्यालयबाट इन्र्टनसिप गर्न गएका ३ जना विद्यार्थी रहेका छन् । सुरुङमा काम गरिरहेका २३ जना सुरुङभित्र धेरै हिलो तथा लेदो नपस्दा सुरक्षित रूपमा बाहिर निस्किन सफल भएका थिए ।
लाङटाङमा दुई शव भेटिए, सुरुङभित्र खोजी जारी
रसुवाको लाङटाङ खोला जलविद्युत् आयोजनामा भने सुरुङभित्रबाट दुई शव फेला परिसकेका छन् । नेपाली सेनाका अनुसार २५ जनाको संयुक्त खोज तथा उद्धार टोलीले सुरुङभित्र करिब २०० मिटरसम्म प्रवेश गरी दुई स्थानमा साना होल बनाएर खोजी गरिरहेको छ । अर्को सेगमेन्टमा समेत प्रवेश गर्ने तयारी भइरहेको छ ।
आयोजनाका प्रबन्धक विजयमान भट्टराईका अनुसार फेला परेका दुई शव सुरुङभित्रैबाट निकालिएको हो । उद्धार टोलीले सुरुङभित्र थप व्यक्ति वा उनीहरूका अवस्थाबारे जानकारी लिन विभिन्न क्यामरा तथा उपकरण प्रयोग गरिरहेको छ ।
भट्टराईका अनुसार बाढीले पुर्याएको क्षतिको प्रकृति सामान्य बाढीभन्दा निकै फरक र भयावह छ । सुरुङभित्रको संरचना, पानीको बहाव र ढुंगा–माटोको प्रभावका कारण खोजी अत्यन्त जोखिमपूर्ण बनेको उनको भनाइ छ ।
लाङटाङ आयोजनाका अधिकारीहरूले यस घटनालाई भविष्यका जलविद्युत् आयोजना तथा विपद् व्यवस्थापनका लागि ठूलो पाठका रूपमा लिनुपर्ने बताएका छन् ।
आयोजना अधिकारीका अनुसार यसपटकको बाढीले कतिपय भूमिगत संरचनासमेत सुरक्षित नरहेको देखाएको छ । त्यसैले आगामी दिनमा जलविद्युत् आयोजनाको डिजाइन, जोखिम मूल्यांकन र आपत्कालीन उद्धार प्रणालीमा पुनर्विचार आवश्यक देखिएको छ ।
उनले हिमताल तथा हिमनदीजन्य जोखिमलाई समेत दीर्घकालीन रूपमा सम्बोधन गर्नुपर्ने बताएका छन् । जोगिन जोखिम न्यूनीकरणका पूर्वतयारी, जलाधार व्यवस्थापन तथा अन्तरदेशीय समन्वयमा जोड दिनुपर्ने उनको सुझाव छ ।
माथिल्लो त्रिशूली–१ मा पनि खोजी जारी
२१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ आयोजनामा पनि खोजी जारी छ । नेपाली सेनाका अनुसार आयोजनाका तीन जना इन्जिनियरसहितको टोलीले पहुँच (एक्सेस) टनेलबाट रबर बोट प्रयोग गरी करिब २०० मिटरभित्र पुगेपछि टनेलको बन्द भाग फेला पारेको थियो । त्यहाँबाट एक शवसमेत फेला परेको छ । अडिट टनेल–३ मा भने करिब १.८ किलोमिटरसम्म पुगेर खोजी गरिएको छ ।
यसअघि आयोजनाको टनेल हेड र टेल दुवै क्षेत्रमा बाक्लो दलदलका कारण खोजी कठिन बनेको थियो । टनेलको कतिपय भागमा तीनदेखि चार मिटरसम्म दलदल जमेको थियो ।
उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, कोरियाली, शेर्पा, ड्रोन टिम लगायतले विशेष क्यामेरा र तालिम प्राप्त कुकुर समेत लगेर खोजी कार्य जारी राखेको छ । प्रवद्र्धक नेपाल वाटर एण्ड इनर्जी डेभलेपमेन्ट कम्पनी (एनडब्लुईडीसी) का अनुसार आयोजनामा कार्यरत ५५७ जना श्रमिक तथा कर्मचारी अझै सम्पर्कविहीन छन् ।
बाढी आउनुअघिसम्म १ हजार ४ सय ३३ जना कार्यरत थिए । तिमध्ये बाँकीको उद्धार गरिएको थियो ।
हराइरहेका कर्मचारी तथा श्रमिकहरूमा एनडब्लूईडीसीका १५ जना, परामर्शदाता जेड कन्सल्टका ७ जना, मुख्य ठेकेरदा डुसानका ५६ जना, सिभिल ठेकेदार पावर चाइनाका ३८५ जना र इलेक्ट्रोमेकालिकल ठेदार एन्ड्रिज हाइड्रोका ९४ जना रहेका छन् ।
चिलिमेमा पनि संयुक्त टोली परिचालित
२० मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजनामा पनि नेपाली तथा विदेशी विशेषज्ञसहितको संयुक्त टोलीले खोज तथा उद्धार जारी राखेको छ ।
यसअघि टोली सुरुङभित्र करिब १०० मिटर प्रवेश गरेर खोजीमा जुटेको थियो । सुरुङको कतिपय भाग पूर्णरूपमा टालिएको अवस्थामा भेटिएकाले भित्र पस्ने काम चुनौतीपूर्ण बनेको थियो । नदीमा बालुवा, हिलो र लेदो थुप्रिँदा पानीको सतह १० मिटरसम्म बढेको कम्पनीले जनाएको छ ।
सञ्चालनमा रहेको चिलिमेबाट ६ जना सम्पर्कविहीन छन् । उनीहरू भूमिगत विद्युत् गृहमा फसेको अनुमान गरिएको छ । कठिनाइका कारण कसैको पनि उद्धार हुन नसकेको कम्पनीले जनाएको छ । साइट कार्यालयमा रहेका ७१ जना भागेर आफ्नो ज्यान जोगाउन सफल भएका थिए ।
रसुवागढी जलविद्युत् आयोजनामा ठूलो चुनाैती
त्यस्तै १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनामा समेत खोजी जारी छ । आयोजनाको भूमिगत विद्युतगृहका कर्मचारीको अवस्थाबारे प्रश्न उठिरहेका बेला सेनाले सुरुङभित्र खोजी गरेको थियो । आयोजनाका अनुसार ९३ जना सम्पर्कविहीन छन् ।
नदीमा पानीको सतह बढेर भूमिगत विद्युतगृहमा प्रवेश गर्ने सुरूङको मुख नजिकै हेलिकप्टर अवतरण गर्ने सुरक्षित स्थान नहुँदा विद्युतगृहभित्र फसेकाहरूको उद्धारमा कठिनाई भइरहेको आयोजनाको प्रवद्र्धक रसुवागढी हाइड्रोपावर कम्पनीले जनाएको छ ।
पर्वतारोही शेर्पाहरूको समूह परिचालन गरी खोजी कार्यलाई थप तीब्र पार्ने तयारी भइरहेको छ । दैनिक रूपमा वर्षा भइरहेको तथा नदीमा नै १० मिटरसम्म पानीको सहत बढेर जमिनको कटान नरोकिँदा समस्या भइरहेको छ । सम्पर्कविहीन भएकाहरूमध्ये ३ देखि १४ जनासम्म भूमिगत विद्युतगृहभित्र पसेको अनुमान गरिएको छ ।
खोज तथा उद्धारमा सुरुमा मित्रराष्ट्रका विशेषज्ञ टोलीसमेत परिचालन भएका थिए । तर पछिल्लो चरणमा विभिन्न आयोजनामा नेपाली सेना र सशस्त्र प्रहरीको टोली मुख्य रूपमा खटिएको आयोजनाका अधिकारीहरूले बताएका छन् ।
दुई जीवित उद्धारले जगाएको आशा
भोटेकोशी बाढी गएको दशौँ दिनसम्म आइपुग्दा कतिपय सुरुङभित्र प्रवेश गर्नसमेत नसकिएको अवस्था छ । कतै सुरुङ लेदो र ढुंगाले पुरिएको छ, कतै पहुँचमार्ग नै छैन । कतिपय आयोजनामा शव भेटिन थालेका छन् भने केही स्थानमा अझै बेपत्ता व्यक्तिको अवस्था पत्ता लाग्न सकेको छैन ।
तर त्रिशूली–३ ‘ए’ बाट २१६ घण्टापछि सञ्जय शाह र कबीर महर्जनको जीवित उद्धारले सुरुङभित्र फसेका अन्य व्यक्तिका परिवारमा आशा जगाएको छ ।
त्रिशूली–३ ‘ए’ मा सुरुङभित्रको ढुंगा र लेदो हटाउने कामदेखि त्रिशूली–३ ‘बी’ मा भारी उपकरण पुर्याउने प्रयास, लाङटाङ र चिलिमेमा सुरुङभित्र क्यामरा तथा प्राविधिक उपकरणमार्फत खोजी र अपर त्रिशूली–१ मा वैकल्पिक सुरुङमार्फत प्रवेश गर्ने प्रयासलाई थप प्रभावकारी बनाउने उद्देश्यले काम भइरहेको आयोजनाहरूले जनाएका छन्।
प्रतिक्रिया 4