News Summary
Generated by OK AI. Editorially reviewed.- भोटेकोशी बाढीले रसुवा र नुवाकोटका ११ जलविद्युत् आयोजना प्रभावित हुँदा ८९८ जना सम्पर्कविहीन र ३६१ जना उद्धार भएका छन्।
- माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट २५४ जनाको उद्धार भएको छ, भने सुरुङमा करिब ३०० जना फसेको अनुमान गरिएको छ।
- उनीहरूको उद्धारका लागि चीनबाट विज्ञ टोली नेपाल आएको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले जनाएको छ।
१३ भदौ, काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीले रसुवा र नुवाकोटका जलविद्युत् आयोजना क्षेत्रमा ठूलो मानवीय जोखिम निम्त्याएको छ ।
बाढीका कारण विभिन्न जलविद्युत् आयोजनामा फसेका तथा कार्यरतमध्ये ८९८ जना अझै सम्पर्कविहीन छन् । उद्धार टोलीले हालसम्म ३६१ जनाको उद्धार गरेको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले उपलब्ध गराएको विवरणअनुसार भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका ११ वटा जलविद्युत् आयोजना प्रभावित भएका छन् । ती आयोजनामा अझै पनि ८९८ जना सम्पर्कविहीन छन् ।
उद्धार गरिएकामध्ये ठूलो संख्या माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका कर्मचारी तथा श्रमिक रहेका छन् । २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ आयोजनाबाट मात्रै २५४ जनाको उद्धार गरिएको इप्पानले जनाएको छ ।
उक्त आयोजनाको सुरुङमा अझै करिब ३०० जना फसेको अनुमान छ । उनीहरूको उद्धारका लागि चीनबाट समेत विज्ञको टोली नेपाल आइपुगेको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले जनाएको छ ।
त्यस्तै, २० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनाबाट १८ जना र ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ बी आयोजनाबाट ९१ जनाको जीवितै उद्धार गरिएको छ । यी आयोजनाबाट उद्धार गरिएका समेत गरी हालसम्म उद्धार हुनेको संख्या ३६१ पुगेको हो ।
रसुवाका सात आयोजना प्रभावित
इप्पानको विवरणअनुसार रसुवामा भोटेकोशी बाढीबाट सात वटा जलविद्युत् आयोजना प्रभावित भएका छन् । ती आयोजनामा २१६ मेगावाटको माथिल्लो त्रिशूली–१, १११ मेगावाटको रसुवागढी, १२० मेगावाटको रसुवा–भोटेकोशी, ६.४२ मेगावाटको माथिल्लो मैलुङ–ए, २० मेगावाटको लाङटाङ खोला, २२ मेगावाटको चिलिमे र ५ मेगावाटको मैलुङ खोला जलविद्युत् आयोजना छन् ।
यी आयोजनामा बाढीको प्रत्यक्ष प्रभाव परेपछि त्यहाँ कार्यरत जनशक्तिको अवस्थाबारे चासो बढेको छ । आयोजना क्षेत्रमा रहेका व्यक्तिसँग सम्पर्क स्थापित हुन नसक्दा उद्धार तथा खोजीलाई प्राथमिकता दिइएको छ ।
नुवाकोटमा पनि ६ आयोजना प्रभावित
नुवाकोटतर्फ पनि बाढीले विभिन्न जलविद्युत् तथा ऊर्जा आयोजनामा असर पुर्याएको छ । इप्पानको विवरणमा त्रिशूली जलविद्युत् आयोजना, देवीघाट जलविद्युत्, माथिल्लो त्रिशूली–३ए, माथिल्लो त्रिशूली–३बी, मिडिल त्रिशूली गंगा र नुवाकोट सौर्य विद्युत् आयोजना प्रभावित सूचीमा छन् ।
नुवाकोटका प्रभावित आयोजनामा २४ मेगावाटको त्रिशूली, १४.१ मेगावाटको देवीघाट, ६० मेगावाटको माथिल्लो त्रिशूली–३ए, ३७ मेगावाटको माथिल्लो त्रिशूली–३बी, १५.६ मेगावाटको मिडिल त्रिशूली गंगा र २५ मेगावाटको नुवाकोट सौर्य विद्युत् आयोजना छन् ।
सुरुङभित्र फसेकाको उद्धार मुख्य चुनौती
बाढीपछि आयोजनाका संरचनामा फसेका व्यक्तिको उद्धार सबैभन्दा ठूलो चुनौती बनेको छ । माथिल्लो त्रिशूली–१ को सुरुङमा मात्रै करिब ३०० जना फसेको विवरणले उद्धारको अवस्था कति जटिल छ भन्ने देखाउँछ । उनीहरूलाई बाहिर निकाल्न थप प्राविधिक जनशक्ति र उद्धार टोली परिचालन गर्नुपर्ने अवस्था देखिएको छ ।
चीनबाट उद्धार टोली आएपछि फसेकाहरूको उद्धारका लागि थप सहयोग जुट्ने अपेक्षा गरिएको छ ।
बाढी प्रभावित क्षेत्रमा उद्धार कार्य जारी रहेकाले सम्पर्कविहीन व्यक्तिको अवस्थाबारे थप विवरण आउने क्रममा छ । अहिले सार्वजनिक भएको तथ्यांकअनुसार भने ३६१ जनाको उद्धार भइसकेको छ भने ८९८ जना अझै सम्पर्कविहीन छन् ।
यसले भोटेकोशी बाढी केवल जलविद्युत् आयोजनाको भौतिक संरचनामा भएको क्षतिमात्र नभई आयोजना क्षेत्रमा कार्यरत सयौँ श्रमिक र कर्मचारीको जीवनसँग जोडिएको गम्भीर मानवीय संकट बनेको देखाएको छ ।
अबको मुख्य प्राथमिकता सम्पर्कविहीन सबैको अवस्थाबारे जानकारी लिनु र सम्भव भएसम्म सुरक्षित रूपमा उद्धार गर्नु बनेको छ ।
प्रतिक्रिया 4