+
+
Shares

२६ आयोजनाको ईआईए स्वीकृत, जलविद्युतको वर्चस्व

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ७ गते ६:०७

७ साउन, काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले एक वर्षको अवधिमा २६ वटा आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन स्वीकृत गरेको छ ।

मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा ३२ वटा आयोजनाको क्षेत्र निर्धारण प्रतिवेदन स्वीकृत भएको छ । यस अवधिमा २६ वटा ईआईए प्रतिवेदन र छ वटा पूरक ईआईए प्रतिवेदन स्वीकृत भएका छन् ।

त्यसैगरी, नौ वटा परिमार्जित वातावरणीय व्यवस्थापन योजना स्वीकृत भएका छन् भने सात वटा आयोजनालाई वातावरणीय व्यवस्थापन योजना परिमार्जनका लागि सहमति दिइएको छ ।

१५ वटा आयोजनाले पूरक अध्ययनको सहमति प्राप्त गरेका छन् । पाँच आयोजनाको म्याद थप गरिएको छ भने छ आयोजनालाई जरिवाना गरिएको छ ।

ईआईए स्वीकृत भएका आयोजनामध्ये अधिकांश जलविद्युत् आयोजना छन् ।

मन्त्रालयले एक वर्षको अवधिमा ९० मेगावाट क्षमताको मर्स्याङ्दी अर्धजलाशययुक्त जलविद्युत् आयोजना र २७० मेगावाट क्षमताको भेरी–१ अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको ईआईए स्वीकृत गरेको छ ।

यसैगरी, ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना, ९१ दशमलव १५ मेगावाट क्षमताको बूढीगण्डकी नदी जलविद्युत् आयोजना तथा ३५ मेगावाट क्षमताको माथिल्लो अप्सुखोला जलविद्युत् आयोजनाको पनि ईआईए स्वीकृत भएको छ ।

मन्त्रालयका अनुसार ८८ मेगावाट क्षमताको रोल्वालिङ, ३० मेगावाट क्षमताको माथिल्लो दूधखोला जलविद्युत् आयोजना तथा ३४ दशमलव ३९ मेगावाट क्षमताको सुपर बूढीगण्डकी जलविद्युत् आयोजनाको पनि ईआईए स्वीकृत भएको छ ।

पूरक ईआईए स्वीकृत भएका आयोजनामध्ये पनि अधिकांश जलविद्युत् आयोजना छन् । तीमध्ये सङ्खुवा खोला जलविद्युत् आयोजना, सिम्बुवा खोला जलविद्युत् आयोजना र मनाङ मस्र्याङ्दी जलविद्युत् आयोजना छन् ।

परिमार्जित वातावरणीय व्यवस्थापन योजना स्वीकृत भएका आयोजनामध्ये पनि जलविद्युत् आयोजनाको सङ्ख्या बढी छ । तीमध्ये सुपर तमोर, माथिल्लो बलेफी, तिनाउ खोला, रोल्वालिङ खोला, बलेफी खोला तथा कालीगण्डकी गर्ज जलविद्युत् आयोजना रहेका छन् ।

विद्युत् प्रसारण लाइनतर्फ लप्सीफेदी–रातामाटे, रातामाटे–न्यू हेटौंडा, रातामाटे–न्यू दमौली, न्यू दमौली–न्यू बुटवल तथा न्यू बुटवल–नेपाल–भारत सीमा ४०० केभी डबल सर्किट प्रसारण लाइनका साथै रातामाटे, न्यू दमौली र न्यू बुटवल ४०० केभी सबस्टेशनको परिमार्जित वातावरणीय व्यवस्थापन योजना पनि स्वीकृत भएको छ ।

यी प्रसारण लाइन र सबस्टेसन अमेरिकी सहयोग परियोजना एमसीए–नेपालमार्फत निर्माण भइरहेका छन् ।

त्यस्तै, २०१ मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी जलविद्युत् आयोजनाको परिमार्जित वातावरणीय व्यवस्थापन योजना पनि मन्त्रालयले स्वीकृत गरेको छ ।

वातावरणीय व्यवस्थापन योजना परिमार्जनका लागि सहमति दिइएका आयोजनामध्ये पनि अधिकांश जलविद्युत् आयोजना छन् । त्यसमा रोल्वालिङ खोला, कालिका कालीगण्डकी, तमोर खोला–५, कालीगण्डकी गर्ज र मध्य तादी खोला जलविद्युत् आयोजना छन् ।

-राससबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?