Comments Add Comment

भग्नावशेष बन्यो ‘एसियाकै पहिलोे’ सुरुङमार्ग

३ मंसिर, हेटौंडा । देशका विभिन्न ठाउँमा सुरुङमार्ग बनाउने भनेर प्रस्ताव अघि सारिए पनि काम कतै भएको छैन । त्यसैले सुरुङमार्गको योजना नै नेपालीका लागि महत्वाकांक्षी लाग्छन् । तर, आजभन्दा १०१ वर्ष पहिले नै नेपालमा सुरुङमार्ग थियो र त्यसमा बकाइदा गाडी चल्थ्यो भन्दा विश्वास गर्न कठीन हुन्छ ।

हो, हामी चुरियामाई सुरुङमार्गको कुरा गरिरहेका छौं, जसको अब भग्नावषेश मात्र बाँकी छ । राणाकालमा रक्सौलबाट अमलेखगञ्जसम्म रेल चल्थ्यो, त्यहाँबाट मकवानपुरको भीमफेदीसम्म बनाइएको सडकमार्गमा चुरे पहाड छिचोल्दै हेटौंडा छिर्न सजिलो थिएन । त्यसैले पहाडमा घुमाएर बाटो बनाउनुको साटो चुरियामाई मन्दिर परिसरबाटै सीधा सुरुङमार्ग खनियो र गाडी चलाइयो ।

हेटौंडा बजारबाट करिब ९ किलोमिटर दक्षिणमा चुरियामाई मन्दिर छ । त्यहाँ सडक अहिले पनि उकालो छ । अहिले सडक पिच नगरी कंक्रिटिङ गरिएको छ ।

एेतिहासिक सुरूङ

तत्कालीन समयमा त्यस्तो उकालो पहाडमा बाटो बनाउन गाह्रो भएकाले विकल्पमा सुरुङमार्ग खनिएको बताउँछन् स्थानीय जानकार बिके महर्जन । काठमाडौं उपत्यकाबाहिर सबैभन्दा पहिले विकास गरिएको यो सडकखण्डमा तत्कालीन राणा सरकारले सुरुङमार्ग खनेको थियो ।

र, त्यही सुरुङमार्ग हुँदै चल्ने गाडीले भीमफेदीसम्म समान ल्याउँथे । काठमाडौंसम्म पुग्ने सडक नभएकाले त्यहाँबाट भरिया लगाएर काठमाडौंसम्म समान पुर्‍याइन्थ्यो । काठमाडौंमा चल्ने राणाका गाडी पनि भीमफेदीसम्म यही सुरुङमार्ग छिचोल्दै पुग्थे ।

तर, प्रजातन्त्र पुनर्स्थापनापछि त्रिभुवन राजपथ बन्यो । त्यसै क्रममा यो सुरुङमार्गको बीच खण्डमा विष्फोट गराएर भत्काइयो र त्यसैमाथि सडक बनाइयो ।
सडक छेउमा देखिएका सुरुङका मुखहरु थनिए । तर, मन्दिर नजिकैको सुरुङमार्गको केही भाग भने अझै सग्लो अवस्थामा नै छ । सडक पारीको अर्को भागलाई भने कंक्रिटको घर बनाएर बन्द गरिएको छ ।

डिल्लीजंग थापाको काैसल

सिभिल इन्जिनियर बिग्रेडियर जनरल डिल्लीजंग थापाले ५ सय मिटर लम्बाइको यो सुरुङमार्ग डिजाइन गरेका थिए । थापा तिनै हुन्, जसले धरहराको पनि डिजाइन गरे । यो सुरुङमार्ग ९ फिट चौंडा र १० फिट अग्लो छ ।

चुरिया सुरुङ सन् १९१७ मै बनेको थियो । टोनी हेगनले आफ्नो पुस्तक ‘दी हिमालयन किङ्डम अफ नेपाल’मा पनि यो सुरुङमार्गबारे चर्चा गरेका छन् ।

उनले यसलाई एसियाकै पहिलो मानवनिर्मित सुरुङ हुनसक्ने बताएका छन् । उनले भारतमा पनि त्यस्तो सुरुङ नबनेको अवस्थामा नेपालमा यस्तो सुरुङमार्ग देख्दा आफू अचम्भित र खुसी भएको कुरा पुस्तकमा उल्लेख गरेका छन् ।

भिडियोमा हेर्नुस्

जीर्ण अवस्थामा रहेको यो सुरुङ मार्ग हाल प्रयोगमा छैन । भूकम्पपछि यो सुरुङमार्ग थप जीर्ण बन्न पुगेको छ ।

पहाड नै खोपेर बनाइएको सुरुङको फिनिसिङ चुनासुर्की लगाएर गरिएको छ । त्यतिबेला सिमेन्ट प्रयोगमा थिएन । सुरुङमार्गको सडकतर्फ भित्तामा लहरैसँग ढुंगाहरु राखिएका छन्, खोपाहरु कुँदिएका छन् । यसको पनि वैज्ञानिक प्रयोजन हुनसक्छ ।

जीर्ण छ चन्द्रशमशेरको नासो

पुरातत्व विभागले सुरुङको ऐतिहासिकता परीक्षण गरेको छ । सुरुङमार्गमा अहिले सर्वसाधारणलाई अवलोकन गर्न निषेध छ । भूकम्पअघिसम्म यसभित्र पसेर हेर्न पाइन्थ्यो । तर, सुरक्षा संवेदनशीलताले अहिले यसलाई बन्द गरेर राखिएको छ ।

मन्दिरका पुजारीका अनुुसार चन्द्रशम्शेरको पालामा बनेको यो सुरुङमार्गको डिजाइन गर्ने इन्जिनियर थापाका पनाति/पनातिनाहरु यसको अवलोकनमा बेलाबखत आउने गर्छन् । उनीहरुले अब यसलाई मर्मत गरेर व्यवस्थिथत गर्दै फेरि अवलोकनका लागि खुला गर्ने योजना सुनाउने गरेको पूजारीले बताए ।

पूर्खाको नासो भएकाले यसलाई राष्ट्रिय सम्पदा घोषणा गर्नुपर्ने माग स्थानीयबासीको छ । सुरुङभित्र सरसफाई गरेर बत्तीसहित तत्कालीन अवस्थामा प्रयोग भएका सामान र चित्र/फोटोले सजाएर यसलाई खुला गर्नुपर्ने उनीहरु बताउँछन् ।

अस्तित्व बचाउन मुस्किल

पुरातात्विक महत्वको सुरुङमार्गको अस्तित्व मेटिने अवस्था आउन नदिन प्रदेश ३ सरकार, हेटौंडा नगरपालिका र पुरातत्व विभागले उचित पहल लिनुपर्ने आवाज चुरियामाईबासीको छ ।

चुरे पर्वतको काखमा रहेको यो सुरुङमार्ग नेपालीहरुको श्रम, सीप, मिहिनेत र कला कौशलको प्रतिविम्ब भएको बताउँछन् चुरियामाईका स्थानीय श्यामकुमार भम्जन । गुफामा परिणत भएपछि यो सुरुङमार्ग खासै चर्चामा पनि आउन सकेको छैन । तत्कालीन समयमा यो सुरुङमार्गको पस्ने र निस्कने विन्दुमा पाले घरहरु थिए ।

तत्कालीन पाले वीरबहादुर भ्लोनका नाति रामका अनुसार पालेघरहरुले गाडी अएपछि झण्डा हल्लाएर जनाउ दिने गरेका थिए ।

   

तस्वीर/भिडियोः  शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment