१९ कात्तिक, काठमाडौं । वाम दलहरुबीच एकता र ध्रुवीकरणको श्रृंखला चलिरहेका बेला नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मंगलबार बेलुकी भेटवार्ता गरे । बुधबार बिहान उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेट्ने बताएका छन् ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहितको ठूलो समूहले माओवादी केन्द्रसँग एकताको निर्णय गरिसकेको र रामकुमारी झाँक्री सहितको टोली एमालेसँग एकताको तयारीमा रहेका समाचार आइरहेका बेला झलनाथले ओलीसँग र प्रचण्डसँगको भेटको श्रृंखला किन चलाइरहेका छन् ? यसै सन्दर्भमा नेता खनालसँग विनोद घिमिरेले गरेको कुराकानी –
हिजो एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा के कुराकानी भयो ?
म मेरो मेडमको उपचारको क्रममा छु । उपचार गर्ने सिलसिलामा उहाँले पनि जुन सद्भाव सहानुभूति प्रकट गर्नुभएको थियो, त्यसका लागि धन्यवाद दिन गएको हुँ । मैले धन्यवाद दिएँ । त्यो सिलसिलामा नेपालको परिस्थितिबारे सामान्य कुराकानी भयो ।
नेपालको परिस्थितिबारे के कुरा भयो ?
जेनजी आन्दोलन र त्यसबाट विकसित परिस्थितिबारे सामान्य चर्चा भयो ।
पार्टी एकता र फुटको श्रृंखला चलिरहेको छ । यसबारे कुराकानी भएन ?
केही पनि भएन ।
भर्खरै तपाईंको पार्टी फुट्यो । त्यहीबेला तपाईंहरुबीच भेट भएको छ । केही पनि कुरा भएन भन्दा त अनौठो लाग्ने के । ?
मानिसहरुलाई अनौठो लाग्न सक्छ । नेपालमा यस्तै अनौठा घटनाहरु भइरहेका छन् । भदौ २३-२४ को घटना तपाईंले कल्पना पनि गर्नुभएको थिएन । मान्छेले अनुमान गरेभन्दा बेग्लै घटना भइरहेका छन् । त्यस्तै त हो नि ।
तपाईंहरुलाई पुरानै घर फर्किनुस् भनेर केपी ओलीले आह्वान गर्नु भएको थियो । त्यसबारे पनि केही कुरा भएन ?
मैले सोधें उहाँलाई- यो वाम एकता अहिलेको प्रबल आवश्यकता बनिरहेको छ । त्यसबारेमा के सोच्नु हुन्छ ? भनेर । उहाँले वाम नै कहाँ छन् र ? कोसँग एकता गर्ने ? त्यो वाम नै देख्दै देखिँदैन, सबै स्वार्थी तत्वहरु मात्र देखिन्छन् । त्यसकारण वाम एकता भन्ने कुराको औचित्य आवश्यकता नै देख्दिनँ भन्ने कुरा गर्नुभयो । अनि त्यसमा लामो कुरा गर्ने कुरै भएन नि ।
तपाईंकै पार्टीका केही नेताहरुले पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ । यसबारे जानकारी छ ?
छैन । कसले गर्दै रहेछ ?
रामकुमारी झाँक्री, किसान श्रेष्ठ लगायतले पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ । तपाईंलाई जानकारी छैन ?
ए हो ? मान्छेको आफ्नो आत्मनिर्णयको अधिकार हुन्छ । त्यो उहाँहरुको आत्मनिर्णयको अधिकार हो । अब यो नेपाली कम्युनिस्ट आन्दोलनमा उथलपुथल, विभाजन, पुनर्गठन, रुपान्तरण लगायतका प्रक्रियाहरु जारी छन् । त्यसमा विभिन्न व्यक्ति-व्यक्तित्वहरु आफ्नो ढंगले संलग्न छन् । उहाँहरुको हकको कुरा हो । त्यसमा मेरो भन्नु केही छैन ।
उहाँहरु एमालेमा मिसिने सम्भावनाका कुरा भइरहेका छन् । तपाईंसँग छलफल भएको छैन ?

मसँग छलफल त हुँदै आएको छ । छलफलको क्रममा एकताको प्रक्रिया अलि फराकिलो ढंगले कुराकानी गर्न पाएको भए हुन्थ्यो । पहिला नेकपा एकीकृत समाजवादीभित्रै यो चार वर्षको अवधिको राम्रो समीक्षा गरेर हामीले किन विद्रोह गरेका थियौं ? त्यो विद्रोह गरेर हामी कहाँ पुग्यौं ? अनि अहिले आएर अर्को पार्टीमा विलय हुने अवस्था कसरी सिर्जना भयो ? आदि कुराहरुको बारेमा अलि गहिरो गरी समीक्षा होस् भन्ने धेरैको चाहना थियो । त्यसका विपरीत पार्टी एकीकरण गर्ने ठाउँमा पुगिसक्यो । त्यसले गर्दा अलि तितरवितर हुने अवस्था बनेको छ । त्यसैका अभिव्यक्ति हुन् के यिनीहरु ।
तपाईंले एकीकरणका लागि चारवटा सर्त राख्नु भएको थियो । ती सर्तहरु अहिले पनि कायमै छन् कि बदलिँदो परिस्थितिमा केही फेरिएका छन् ?
मेरो त कायम छ त्यो । वामपन्थी बीचमा एकता गर्ने हो भने तिनीहरु नै आधारभूत सर्तहरु हुन् । त्यो कुरालाई पालना गर्नेहरु एक ठाउँमा आउन सक्छन् । त्यसलाई आवश्यक नठान्नेहरु आ–आफ्नो ढंगले हिँड्न सक्छन् ।
अहिले तपाईंबाट पनि छुट्टिएर एमालेमा जाने तयारीमा रहेकाहरुबारे के धारणा छ ?
म कुनै पनि समूहप्रति अहिलेको अवस्थामा शत्रुता हुन्छ नि, अनावश्यक नकारात्मकता सिर्जना गरेर जाने पक्षमा छैन । मेरो अपिल छ सबैलाई हामी साझा आधारमा एकताबद्ध भएर जाऔं । राष्ट्र संकटमा छ, यो संकटमा रहेको मुलुकलाई बचाउन सबै वामपन्थीहरु साझा आधारमा उभिएर अगाडि बढौं । यो अपिल मेरो निरन्तर रहन्छ, जारी रहन्छ ।
तपाईंले नयाँ पार्टी गठन गर्ने भनेर पनि समाचारहरु आएका थिए । त्यसको तयारी के छ ?
मैले केपी ओली कमरेडलाई भेटेँ । आज म प्रचण्ड कमरेडलाई पनि भेट्दै छु । उहाँहरु सबैसँग कुरा गर्छ म । जहाँ कमन ग्राउण्ड भेटिन्छ, कमन ग्राउण्डमा, कमन बाटोमा हिँडिहालिन्छ । त्यो भेटिएन भने आफ्नो बाटो तय गरेर हिँडिन्छ । हिँड्ने कुरा चाहिँ रोकिनेवाला छैन ।
मूल बाटो हिँड्ने सम्भावना छ कि तपाईंको आफ्नै गोरेटो बाटो छ ?
सकेसम्म मूलबाटो हिँडौं, साझा बाटो हिँडौं, भएन भने आफ्नै गोरेटो बाटो । हिँड्न चाहिँ पटक्कै नछोडौं ।
मैले भनेको छु नि चारवटा सर्तहरु । ती चार वटा सर्तहरु जसले स्वीकार गर्छ र मान्छ, त्यो समूहसँग मेरा निकटताहरु बढ्दै जान्छन् । जसले मान्दैन ऊसँग मेरो निकटता बढ्दैन, म दुरी पनि बढाउँदिनँ ।
तपाईंले भन्नुभएको छ नि हिँड्न छाड्नु हुँदैन भनेर । माधव नेपालहरु हिँडिसक्नु भयो । रामकुमारी झाँक्रीहरु पनि हिँड्ने निश्चित गरिसक्नु भयो । तपाईं तै एक्लै पर्ने सम्भावना पो देखियो त ?
ठिक छ । आज म प्रचण्ड कमरेडसँग पनि कुरा गर्छु । उहाँको दृष्टिकोण के रहेछ । उहाँहरुलाई पनि मैले धन्यवाद दिनुपर्ने छ । माधव नेपाललाई त पार्टी भित्रै भएको हुनाले मैले धन्यवाद दिइसकेँ । त्यो सिलसिलामा कुरा गर्छु म ।
यसको मतलब तपाईं एकता प्रक्रियाप्रति सकारात्मक हुनुहुन्छ ?
देशका सबै वामपन्थी साथीहरु साझा आधारमा एकताबद्ध बनौं । अरु कुनै विकल्प छैन । यदि देश, जनता, राष्ट्र, परिवर्तन, रुपान्तरण, समाजवाद, आदिको निम्ति काम गर्ने हो । राष्ट्रको स्वाधिनताको निम्ति काम गर्ने हो भने सबैले साझा आधारमा उभिनुको अर्को कुनै विकल्प छैन । त्यसमा अलि फराकिलो दृष्टिकोण बनाएर, फराकिलो छाति बनाएर हामी सबैले सोचौं र एक ठाउँमा आऔं ।
प्रतिक्रिया 4