Comments Add Comment

सरकारको नियतसँगै क्षमतामाथि पनि प्रश्न छः गगन थापा

३ मंसिर, काठमाडौं । नेपाली कांग्रेका नेता गगन थापाले वर्तमान सरकारको नियत र क्षमतामाथि प्रश्न उठेको टिप्पणी गरेका छन् ।

सोमबार पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा थापाले संविधान कार्यान्वयनमा कांग्रेसले जिम्मेवारपूर्ण भूमिका निर्वाह गरेपनि सरकार जनता र प्रतिपक्षी दलप्रति उत्तरदायी र जिम्मेवार नबनेको बताएका हुन् ।

‘संविधानको आत्मा भनेको लोकतान्त्रिक मूल्य मान्यता हो । बाँकी त संरचना हो’ उनले भने, ‘त्यो लोकतान्त्र कार्यान्वयनको सन्दर्भमा संविधानको आधारमा भएको चुनावमा सबैभन्दा बढी शक्ति लिएर आएको शक्ति, जसले सरकार चलाएको छ, उसको नियतमाथि प्रश्न उठिरहेको छ । प्रश्न नियतको मात्र छैन, क्षमताको पनि छ ।’

संविधान कार्यान्वयनमा कांग्रेसले सहयोग गरेको तर, सरकारमाथि संघीयताको व्यवस्थापन गर्न सक्छ कि सक्दैन ? लोकतान्त्रिकलाई थप समावेशी बनाएर लैजान्छ कि लैजाँदैन भन्ने प्रश्न उठेको थापाले बताए ।

दुई तिहाईको सरकार बनेपनि डेलिभरी नहुँदा जनतामा निराशा छाएको भन्दै कांग्रेस नेता थापाले भने, सरकारको नियतमाथि पनि प्रश्न छ, क्षमतामाथि पनि प्रश्न छ ।’
चुनाव हारेको र संसदमा शक्ति क्षिण भएको स्वीकार गरेका थापाले कांग्रेसले संविधान कार्यान्वयनमा अगुवाई गर्नुपर्ने बताए ।

पार्टीको राजनीतिक मस्यौदा समितिका सदस्य समेत रहेका थापाले कांग्रेसले देखाउने बाटो अरुले पछ्याउने भएकाले ‘संविधान कार्यान्वयनमा हामीले गर्ने हो भन्ने स्थापित गर्नुपर्छ’ भन्ने ढंगले अघि बढ्नुपर्ने उल्लेख गरे ।

संविधानको स्वामित्व लिन कांग्रेस अलमलिएको भन्दै सांसद थापाले भने, कतै यो विषय हाम्रो होइन कि ? अरुले पो ल्याएको हो कि तानिएर पो गएको हो कि ? यसबारे महासमितिले स्पष्ट मार्गनिर्देश गर्नुपर्छ ।’

सरकारका सन्दर्भमा कांग्रेस प्रतिपक्षी भएपनि संविधान कार्यान्वयनमा कांग्रेस नै नेता हो, कांग्रेस नै सत्ता हो भन्ने देखाउनु पर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment