Comments Add Comment

सरकार संघीयता संस्थागत गर्न चाहँदैनः प्रकाशमान

४ मंसिर, प्यूठान । सरकार संघीयता संस्थागत गर्ने पक्षमा नरहेको कांग्रेस नेता प्रकाशमान सिंहले आरोप लगाएका छन् । सरकारका गतिविधिले दुईतिहाइको सरकार हुँदा पनि संघीयतालई संस्थागत गर्ने पक्ष नदेखिएको उनले बताएका हुन् ।

मंगलबार प्यूठानको बाग्दुलामा प्रेस युनियनले गरेको पत्रकार भेटघाटमा बोल्दै उनले भने, ‘संविधानको संस्थागत गर्न सरकारको ध्यान पुगेको छैन ।’

संविधानमा उल्लेखित अधिकारहरु कानुन बनाएर काम गर्नुपर्नेमा ९ महिना वितिसक्दा पनि कुनै विधेयक संसदमा पेश गर्न नसकेको उनले गुनासो गरे । स्थायी सरकारको दाबी गर्ने सरकारले शान्ति सुरक्षाको प्रत्याभूति दिन नसकेकाले जनता सडकमा उत्रनु परेको उनले बताए ।

समृद्धिको नारा दिने सरकारसँग काम गर्न सक्ने क्षमता नभएको उनको आरोप थियो । ‘कुरा मात्र ठूला गर्ने,’ उनले भने, ‘विकास बजेट ८ प्रतिशत पनि खर्च हुन सकेको छैन ।’

यातायातको सिण्डिकेट, सुनकाण्ड जस्ता घटनाको संरक्षणमा सरकार नै लागेको कांग्रेस पूर्वउपप्रधानमन्त्री समेत रहेका सिंहले बताए । सबै विभागहरु प्रधानमन्त्री कार्यालय मातहतमा ल्याएर सरकारले जनवादी केन्दि्रयताको चरित्र देखाए पनि नतिजा दिन नसकेको उनको बुझाइ थियो ।

पार्टीको सन्दर्भमा बोल्दै कांग्रेस पूर्व महामन्त्री सिंहले कांग्रेस, कांग्रेस जस्तो पार्टी नरहेको जिकिर गरे । पार्टी नेतृत्व समयको मागअनुसार अघि बढ्न नसकेको भन्दै उनले नेतृत्व परिवर्तनका लागि आफूहरुले अभियान सन्चालन गरेको उल्लेख गरे । ‘हामी विधि र प्रक्रिया पुर्‍याएर नेतृत्व परिवर्तन गर्न चाहन्छौं’, उनले भने ।

तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले जनताको चित्तबुझ्दो काम नगरेकै कारणले पार्टीले चुनावमा हार व्यहोर्नु परेको उनको निष्कर्ष थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment