२४ साउन, काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टी कमजोर हुने भएरै विशेष महाधिवेशन नगरौं भनेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता सिंहले यस्तो बताएका हुन् ।
‘हामीले विशेष महाधिवेशन नगरौं, यसले पार्टी कमजोर हुन्छ भनेकै थियौं,’ नेता सिंहले भने, ‘नियमित महाधिवेशनको समय आइसक्यो, नियमित महाधिवेशनमै जो नेता लोकप्रिय छ, कार्यकर्तालाई रिझाएको छ, उसैले जितेर नेतृत्व गर्छ । त्यसले पार्टी बलियो हुन्छ भनेका थियौं ।’
अहिले विशेष महाधिवेशनका कारण पार्टी कमजोर भएको र फुटको अवस्थामा रहेको उनले दाबी गरे ।
उनले विशेष महाधिवेशन अवैधानिक रहेको पनि टिप्पणी गरे । सोही कुरा अहिले सर्वोच्च अदालतको पूर्ण इजलाशको आदेशले पनि बोलेको बताए ।
‘अहिले सर्वोच्च अदालतका प्रधानन्यायाधीश सम्मिलित बेञ्चले नै भन्यो– विशेष महाधिवेशनमा विधि प्रक्रिया पालन भएन । निर्वाचन आयोगले केही नहेरी, अर्को पक्षको कुरा नसुनी निर्णय गर्यो भनेर,’ उनले भने । अब कांग्रेस आधिकारिकता सम्बन्धी विवादको निरुपण गर्दा आफ्नो पक्षलाई न्याय मिल्ने उनले दाबी गरे ।
प्रतिक्रिया 4