Comments Add Comment

१८ सय ग्राममाथिका कुखुरा प्रतिबन्ध लगाउन माग

५ मंसिर, बुटवल । ब्रोइलर कुखुरापालक किसानले अठार सय ग्राम तौलभन्दा माथिको जिउँदो कुखुरा बजारमा प्रतिबन्ध लगाउन माग गरेका छन् ।

यस्तो माग राख्दै लुम्बिनी ब्रोइलर कुखुरापालक किसान संघले बुधबार बुटवलमा विरोध र्‍यालीसमेत निकालेको छ । विश्व स्वास्थ्य संगठनले १८ सय ग्राम भन्दा माथिको जिउँदो कुखुरा मानव स्वास्थ्यका लागि हानिकारक भएको प्रमाणित गरे पनि सरकारले त्यस्ता कुखुराहरुमाथि प्रतिबन्ध लगाउन नसकेको किसानको गुनासो छ ।

मापदण्ड भन्दा अधिक तौल भएका कुखुराहरु अधिकांश भारतबाट आयात हुने भएकाले यसको यथाशिघ्र अनुगमन गरी प्रतिबन्ध लगाउनसमेत किसानहरुले माग राखेका छन् ।

विरोध र्‍यालीपछि संघले प्रदेश नं ५ भुमि व्यवस्था, कृषि, तथा सहकारी मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको छ । नौ बुँदे ज्ञापनपत्रमा बजारमा अस्वस्थ कुखुराको आयातलाई रोकेर स्वदेशमै उत्पादित कुखुराको न्युनतम मूल्य निर्धारण गर्न माग गरिएको छ ।

मूल्य निर्धारण गर्दा कृषक, उपभोक्ता र मासु व्यवसायीको समन्वयमा बैज्ञानिक ढंगबाट निर्धारण गर्न माग गरिएको छ । ज्ञापनपत्रमा ब्रोइलर कुखुरापालक किसानको तथ्याङ्क संकलन गर्नुपर्ने, कोल्ड स्टोरको व्यवस्था हुनुपर्ने, दाना कम्पनीहरुले दानाको गुणस्तर उल्लेख गर्नुपर्ने, किसानहरुलाई अनुदानको व्यवस्था गर्नुपर्ने, कुखुराको वजार मुल्य र गुणस्तरको निरिक्षण गर्ने छुट्टै संयन्त्र बनाउनुपर्ने तथा भारतिय चल्ला र अण्डामा निगरानी बढाउनुपर्ने लगायतका मागहरु समेटिएको छ ।

ज्ञापनपत्र बुझ्दै मन्त्रालयका उपसचिब श्रीकृष्ण नेपालले किसानको मागप्रति सरकार संवेदनशिल रहेको बताए । उनले किसानहरुलाई मर्कामा पर्न नदिन सरकारले नियमित अनुगमनका कार्यक्रमहरु सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment