Comments Add Comment

बुढापाकाको रोमान्समा किन समाजको बक्र दृष्टि ?

बुढ्यौली, जीवनको एक चरण हो । बुढो हरेकले हुनैपर्छ । तर, बुढ्यौली उमेर गुजार्न त्यती सजिलो छैन । भुक्तभोगीहरु यसै भन्छन् ।

जति-जति उमेर ढल्कदै जान्छ, शरीर गल्दै र थाक्दै जान्छ । आँखा कमजोर हुन्छ । हातगोडा शिथिल हुन्छ । वैंशालु उर्जा, शक्ति, जोश सबै निखि्रदै जान्छ । तर, प्रेमिल मन नि ?

तन बुढो भएपनि मन बुढो हुँदैन । रहरहरु बुढो हुँदैन । उनीहरुलाई पनि रमाइलो गर्न मन लाग्छ । रोमान्स गर्न मन लाग्छ । तर, बुढ्यौली उमेरमा गरिने यस्तो कार्यलाई समाजले बक्रदृष्टि लगाउँछ । जबकी बुढ्यौली उमेर पनि रसरंगपूर्ण भयो भने उनीहरु धेरै किसिमका पीडाबाट मुक्त जीवन विताउन सक्छन् ।

यसै सेरोफेरोमा हिन्दी बिबिसी अनलाइनमा पल्लवी बरनवालले लेखेका एक लेखको भावनुवाद यहाँ पेश गरिएको छ ।

तन बुढो भएर के भो त ? 

मानिसको जीवनचक्रमा किशोरावस्थामा पढाई, त्यसपछि युवाअवस्थामा जागिर वा कुनै व्यावसाय र त्यसबाट अवकाश पछि आरामदायी जीवन जिउनुलाई हाम्रो समाजले राम्रो मान्ने गर्छ ।

बुढेसकालमा सुखी परिवार, राम्रो घर, पेन्सन, गुणस्तरीय खाना, स्वस्थ जीवन र बैंक ब्यालेन्स हुनुपर्ने धेरैको सोच हुन्छ । तर, के बुढेसकालमा यति प्रबन्ध नै काफी छ ?

साँच्चै माथिका सबै चीज जरुरी छ तर, तपाईंले राम्रोसँग विचार गर्नुभयो ? यी सबै भौतिक सुखका प्रवन्ध जुन प्रष्ट देखिन्छ पनि आउँछ र त्यस बारेमा कुरा गर्न कोही हच्किँदैनन् ।

तर, उमेर बढेपछि यौन आवश्यकताको बारेमा भने कुरा हुँदैन । मानिसहरु यस बारेमा वा उमेर बढेपछि यौन आवश्यकतामाथि कुरा गर्न हिच्किचाउँछन् ।

कति मानिसहरु होलान् जो हजुरबा र हजुरआमा बीच बुढेसकालमा पनि सेक्स हुन सक्छ भन्ने सोच्न सक्छन् ?

केही समयअघि रिलीज भएको बलिउड फिल्म ‘बधाई हो’मा बढ्दो उमेरको एक यस्तै सम्बन्धलाई देखाउने कोसिस गरिएको छ ।

बुढेसकालमा यौनबाट टाढिनु सही कि गलत ?

धार्मिक मान्यताहरुका अनुसार जिन्दगीको यो चौंथो चरणलाई सन्यास भनिन्छ । अर्थात बुढा मानिसहरुले सारा भोग विलास छोडेर ईश्वरको आराधनामा मग्न हुन आवश्यक छ ।

तर, के सेक्सलाई बुढ्यौलीबाट अलग राख्नु सही हो ? के सेक्स शरीर र मनको यस्तो आवश्यकता होइन जुन सँधै चाहिन्छ ?

यसको जवाफ ८० वषिर्या हलिउड अभिनेत्री जुडी डेन्च एक अन्तवार्तामा दिन्छिन्, ‘सेक्स र अन्तरंगता जिन्दगीको एक महत्वपूर्ण आवश्यकता हो । यसको चाहना कहिल्यै पनि कम हुँदैन ।’

चर्चित प्लेब्वाई म्यागजिनका संस्थापक हृयु हेफ्नरले ८६ वर्षको उमेरमा विवाह गरे । सम्झनुहोस् के नेपालमा तपाईंले के यस्तो विवाह देख्नुभएको छ ? सायद तपाईंको जबाफ हुन्छ होला छैन् ।

हाम्रो समाजमा पौढ कामुकतालाई नीच नजरबाट हेरिन्छ । फिल्मी रोमान्समा पनि ती जोडीका अन्तरंग सम्बन्धमात्रै देखाइन्छ जुन जोडीको उमेर कम छ ।

हिरो यदि ५५ वर्षको छ भने उसको कपालको रंगाएर र अनुहारमा मेकअप गरेर उनलाई जवान देखाउने कोसिस गरिन्छ । फिल्ममा बढी उमेरकी हिरोइन त धेरैको कल्पनामा मात्रै सीमित छ ।

तर ‘निशब्द’, ‘वंश अगेन’ र ‘चिनी कम’ जस्ता केही बलिउड फिल्ममा यस ढर्रालाई तोड्ने प्रयास गरिएको छ । यी फिल्मी कहानीहरुलाई पर्दा र पर्दाबाट बाहिर स्विकार गर्न सहजता छैन् ।

वृद्धवृद्धाको अनुभव के छ ?

६४ वषिर्य एक वृद्ध आफ्नो अनुभव सुनाउँछन्,’सामाजिक मिडियामा केही महिलाहरुसँग जोडिएका थिएँ तर सम्बन्ध जब शारीरिक सम्बन्धतिर अगाडि बढ्ने कुरा हुन्छ त्यतिखेर महिलाहरुलाई हैरानी हुन्छ । महिलाहरुलाई लाग्छ हामी वृद्ध छौं र त्यस हिसाबले धेरै यो कुरा बोल्ड हो ।’

त्यस्तै अर्का एक ६० वर्षका वृद्धले विवाह गरेको २८ वर्ष भयो । उनले एक सन्तुष्ट यौनजीवन गुजारिरहेका छन् । तर, उनलाई पत्नीसँग रोमान्स गर्दा छोराछोरीहरुले देखेका त छैनन् भन्ने डर लाग्छ ।

कारण छोराछोरीहरु आफ्नो आमाबुबाको रोमान्स देखेर असहज हुन्छन्  । एकपटक उनी आफ्नो पत्नीसँग विहान पार्कमा मर्निङवाकको लागि गएका थिए र दुवैले एक अर्काको हात थामेका थिए । पार्कमा टहलीरहेका हरेक कोही न कोही मानिसहले उनीहरुलाई फर्कीफर्की हेरिरहेका थिए मानौं उनीहरुले अश्लिल हर्कत नै गरिरहेका थिए ।

समाजले लगाउँछ प्रतिबन्ध

बुढेसकालमा प्रेममाथिको सामाजिक प्रतिबन्ध हटाउने कुरा गर्दा आफूमाथि आइलाग्ने विभिन्न किसिमका प्रश्नको उत्तर हामीसँग हुँदैन । बुढेसकालमा रोमान्सको मामिलामा हाम्रो समाजमा अघोषित प्रतिबन्ध छ ।

यस्तोमा वृद्धवृद्धाहरु खुलेर भन्न पाउँदैनन तर लुकीछिपी इन्फ्याचुएसनको सहारा लिन्छन् । एक वृद्धका अनुसार जब उनी बजार जान्छन् र त्यहाँ कुनै सुन्दर युवती देखे भने दिनभर उनको दिमागमा ती युवती नै आउँछिन् ।

यी अनुभवहरुलाई विचार गर्ने हो भने यो प्रश्न सोध्न सकिन्छ कि के यौनजीवन बाट टाढा प्रौड दम्पतीको संख्या हाम्रो समाजमा धेरै छ ?

तर, यो प्रश्न एक किसिमको मिथक हो । एक ५५ बर्षिय महिला भन्छिन्, ‘मेरो यौन जीवन सक्रिय छ । जब तपाईं युवाअवस्थामा हुनुहुन्छ त्यतिखेर सेक्सुअल परिक्षणहरु गर्ने लालसा हुन्छ । त्यतिखेर फेरि विभिन्न रिलेसनमा बस्नुहुन्छ तर, उमेर बढेपछि तपाईं जिन्दगीमा एक स्थायीत्व खोज्नुहुन्छ ।’

उनको अहिले चलिरहेको लिभ इन रिलेसन १० वर्ष पहिले सुरु भएको थियो जतिखेर उनी ४५ वर्षकी थिइन । त्यतिखेर उनलाई आफ्नै घरका मानिसहरुबाट पौढप्रेमसँग जोडिएका विभिन्न प्रश्नहरुको सामना गर्न परेको थियो ।

उनकी आमाले भनेकी थिइन, ‘तिमीलाई यो उमेरमा एक नयाँ सम्बन्ध बनाउने के जरुरी छ ?’

वास्तवमा रजनोवृत्ति क्रममा माधवीको शरीररमा केही हार्मोनल परिवर्तन भएको छ । उनको यौन जीवन पहिले महिनावारी हुँदा अनियमित थियो तर रजनोवृत्ति भएपछि उनको यौन जीवन फेरि लिगमा आएको छ ।

बढ्दो उमेरसँगै यौन जीवनमा केही परिवर्तन आउन सक्छ तर, पौढावस्थामा यौनबाट टाढा हुनुपर्छ भन्ने धारणा गलत हो ।

यदि तपाईं स्वास्थ्यमा चुस्त दुरुस्त हुनुहुन्छ, राम्रो खानपान लिनुहुन्छ र सकि्रय हुनुहुन्छ भने तपाईंले बढ्दो उमेरमा पनि यौन जीवनबाट टाढिनु पर्दैन ।

धेरैजसो मानिसलाई यौन सक्रियताको महत्व उमेरको पछिल्लो भागमा पनि अझै धेरै बढ्छ भन्ने कुरा थाहा हुँदैन ।

बुढेसकालमा यौन कसरी फाइदाजनक ?

अध्ययनबाट यौन क्रियाले तपाईंको शरीरमा अक्सिटोसिन र एनडोफिर्न जस्ता हार्मोनको वृद्धि हुने कुराको पुष्टी गरिएको छ ।

अक्सिटोसिनले तनावलाई कम गर्न मद्धत गर्छ । यतिमात्रै होइन अक्सिटोसिनले उच्च रक्तचाप र हृदयघातको सम्भावनालाई पनि कम गर्छ ।

त्यस्तै एन्डोफिर्न एक प्राकृतिक पेनकिलर हो जसले शरीरमा उत्पन्न हुने दुखाईलाई कम गर्छ । धेरैजसो प्रौढावस्थासँग जोडिएका कैयौं किसिमका समस्याहरु हुन्छन् जस्तै कम्मर दुख्ने, जोर्नीको दुखाई । एन्डोफिर्न यस खालको समस्यामा फाइदाकारी छ ।

एक अझै खास कुरा किनभने महिलाहरुलाई राजनोवृत्तिपछि गर्भवती हुने खतरा टर्छ त्यसैले वृद्ध मानिसहरुले गर्भनिरोधकको चिन्ता नगरिकन यौन सुख उठाउन सक्छन् ।

शारीरिक लाभ बाहेक बुढेसकालको यौनले तपाईंको जीवनशैलीमा पनि एक महत्वपूर्ण भूमिका निभाउँछ । बस सुरक्षित र आनन्ददायक सम्बन्धको नियम भने जिन्दगीमा अपनाइराख्नुपर्छ ।

त्यसपछि चाहे उमेर ५५ होस वा ७५ सम्बन्ध सँधै जवान राख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment