News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा बालयौन दुराचारको सजाय काटेर अमेरिका फर्किएका ५८ वर्षीय केनेथ जोसेफ कुम्ब्सले त्यहाँको संघीय अदालतसमक्ष आफ्नो कसुर स्वीकार गरेका छन् ।
- सन् २०१६ मा नेपालमा आठ बालबालिकामाथि यौन दुर्व्यवहार गरेको अभियोगमा उनीविरुद्ध अक्टोबर २८ मा अमेरिकी अदालतले फैसला सुनाउने तयारी गरेको छ ।
- अनुसन्धानमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रमाण र पीडितको बयान उपलब्ध गराएर अमेरिकी निकायलाई महत्वपूर्ण सहयोग पुर्याएको छ ।
२ साउन, काठमाडौं । नेपालमा बालयौन दुराचार मुद्दामा सजाय काटेर गएका एक अमेरिकी ‘पेडोफाइल’(बालयौन दुराचारी) ले अमेरिकी अदालतसमक्ष पनि आफ्नो कसुर स्वीकार गरेका छन् । नेपालमा जेल सजाय काटेर गएका ५८ वर्षीय केनेथ जोसेफ कुम्ब्स अमेरिकाको अदालतसमक्ष पनि नेपालमा गरेको कसुर स्वीकार गरेका हुन् ।
अमेरिकी संघीय अदालतमा बिहीबारको इजलाससमक्ष कुम्ब्सले आफ्नो कसुर स्वीकार गरेको अमेरिकी न्याय विभागको सार्वजनिक मामिला कार्यालयले जनाएको छ । सो कार्यालयले आफ्नो बेवसाइटमा कुम्ब्सले दोष स्वीकार गरेको जानकारी सार्वजनिक गरेको हो ।
कार्यालयको सूचनामा कुम्ब्सले सन् २०१६ मा नेपाल बस्दा होटेलमा ८ जना बालबालिकामाथि यौन दुर्व्यवहार गरेको उल्लेख छ । ती यौनजन्य कार्य गर्नका लागि कुम्ब्सले बल प्रयोग, जबरजस्ती नशालु पदार्थ सेवन गराउने र बालकबालिकाहरूलाई पैसाको प्रलोभनमा पार्ने जस्ता उपाय अपनाएको भनिएको छ ।
सोही क्रममा पीडित बालकबालिकाको तस्वीरसमेत खिचेको अमेरिकी सार्वजनिक मामिला कार्यालयले भनेको छ । सो कार्यालयका अनुसार ती तस्वीर कुम्ब्सका इलेक्ट्रोनिक उपकरणबाट अमेरिकी अनुसन्धान अधिकारीले बरामद गरेका छन् ।
उक्त कार्यालयको जानकारीअनुसार कुम्ब्स नेपालमा यस्तो अपराध गर्नुअघि नै अमेरिकाको मिसौरी राज्यमा एक यौन अपराधीका रूपमा दर्ता भइसकेका व्यक्ति थिए ।
नेपालमा सजाय काटेर फर्किएका उनलाई अमेरिकी कानुन प्रवर्तन निकायले सेप्टेम्बर २०२५ मा पक्राउ गरेको थियो । उनी त्यसबेलादेखि हिरासतमै छन् ।
उनलाई पक्राउ गरेपछि अमेरिकी कानुन प्रवर्तन निकायले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)सँग अनुसन्धानमा सहयोग मागेको थियो । सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) अनुपशमशेर जबराले नेपालबाट मागेको सहयोग गरिएको जानकारी दिए ।
‘उहाँहरूले यो मुद्दासँग सम्बन्धित विषयमा मागेअनुसार सीआईबीबाट घटनाको तथ्य, प्रमाण तथा जानकारी दिइएको छ । भिडिओ कन्फेरेन्समार्फत पीडितहरूको बयान पनि दिलाउन सहयोग गरिएको छ,’ एसएसपी जबराले भने ।
अमेरिकी सार्वजनिक मामिला विभागले पनि नेपालस्थित अमेरिकी दूतावास, नेपाल प्रहरीको सीआईबी, काठमाडौं जिल्ला सरकारी वकिल कार्यालय र नेपालको गैरसरकारी संस्था नयाँ पाइलाबाट अनुसन्धानमा सहयोग प्राप्त भएको जनाएको छ ।
अब कुम्ब्सविरुद्ध आगामी अक्टोबर २८ मा अमेरिकी संघीय अदालतले फैसला सुनाउने भएको छ ।
अमेरिकामा यो मुद्दा ‘प्रोजेक्ट सेफ चाइल्डहुड’ अन्तर्गत दायर गरिएको हो । जुन बालबालिकामाथि हुने यौन शोषण र दुर्व्यवहारको महामारीविरुद्ध लड्न अमेरिकी न्याय विभागले मे २००६ मा सुरु गरिएको थियो ।
कलिला बालकसँग अनाचार, ठमेलबाट पक्राउ
नेपाल प्रहरीको सीआईबीले विशेष सूचना पाएपछि २४ भदौ २०७३ मा ठमेलको याम्बु होटेलमा छापा मार्यो । त्यसअघि सीआईबीले बालयौन दुराचार ‘व्यवसाय’मा सक्रिय समूहले होटलमा आउने विदेशी नागरिकलाई बालबालिका उपलब्ध गराउँदै आएको सूचना पाएपछि निगरानी बढाएको थियो ।
सूचना परिपक्व देखिएपछि प्रहरीले त्यहाँ छापा मार्दा पुष्टि नै भयो । त्यही होटेलको कोठामा पाँच जना बालबालिकासहित अमेरिकी नागरिक केनेथ जोसेफ कुम्ब्स फेला परेका थिए । त्यो बेला उनी ४८ वर्षका थिए । उनले बोकेको राहदानी नम्बर ५१७८१७११२ थियो ।
उनलाई बालबालिका आपूर्ति गर्ने काम स्वयम्भू बस्ने २१ वर्षीय नेपाली नागरिक बुद्ध पतुवारलाई पनि प्रहरीले पक्राउ गरेको थियो । पतुवारले कुम्ब्सका लागि १२ देखि १६ वर्ष उमेर समूहका बालक उपलब्ध गराउने गरेको प्रहरी अनुसन्धानमा भेटिएको थियो ।

सीआईबीका तत्कालीन प्रवक्ता रहेका नेपाल प्रहरीका पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक(एआईजी) दिवेश लोहनीले त्यो बेला अनलाइनखबरसँग भनेका छन्, ‘हजारदेखि २ हजार हातमा राखिदिएर लैजाने गरेको देखियो । एउटै बालक धेरै पटक प्रयोग भएको पाइन्छ । कहिले तर्साएर त कहिले फकाएर लैजाने रहेछ ।’
सीआईबीका प्रवक्ता जबराका अनुसार उनीहरूले त्यो बेला १२ जना बालकलाई पीडित बनाएका थिए ।

पतुवारले ल्याएका बालकलाई कुम्ब्सले यौनजन्य गतिबिधि गर्न लगाउने, ‘ओरल सेक्स’ (मुखमैथुन), गुदद्वार मैथुनका लागि बाध्य पार्ने गरेको पनि सीआईबीको अनुसन्धानबाट खुलेको थियो । त्यसरी यौन क्रियाकलापमा लगाइसकेपछि उनीहरूका भिडियो र तस्वीरसमेत खिचेर राख्नेगरेका थिए । कुम्ब्सले नेपाल आफूलाई एप्लिकेसन डिजाइनर भनेर परिचय दिएका थिए ।
कुम्ब्सलाई बालक सप्लाई गर्ने पतुवारले कुम्ब्सबाहेक अन्य विदेशी पेडोफाइलका लागि पनि बालक आपूर्तिको काम गर्ने गरेको पाइएको पूर्वएआईजी लोहनी सम्झन्छन् । ‘त्यो बेला यस्ता पेडोफाइलहरूको समूह पालैपालो नेपाल आउने-जाने गर्ने रहेछ । त्यो अनुसन्धानमा खुल्यो । उनीहरूका लागि पतुवारले बालबालिका सप्लाई गर्ने पनि खुल्यो,’ अनलाइनखबरसँग कुराकानी उनले भने, ‘ती बालबालिका धेरैजसो गरिब पृष्ठभूमिका थिए । कतिपय बालबालिका एक-दुई हजारमै पटक-पटक प्रयोग भएका थिए ।’ उनका अनुसार कुम्ब्स पनि त्यसअघि पटक-पटक नेपाल आउने-जाने गरेको देखिएको थियो ।
पक्राउपछि सीआईबीको अनुसन्धानका आधारमा कुम्ब्स र पतुवारविरुद्ध काठमाडौं जिल्ला अदालतमा मानव बेचविखन र बालयौन दुराचार कसुरमा मुद्दा दायर भएको थियो । जसमा अदालतले दुवै जनालाई दोषी ठहर गरेको थियो ।
जिल्ला अदालतले कुम्ब्सलाई ९ वर्ष कैद र पतुवारलाई चार वर्ष कैदको सजाय सुनाएको थियो । यस्तै दुई जना पीडितलाई ५०/५० हजार क्षतिपूर्ति भराउने आदेश पनि भएको थियो ।
दुवै जनाले सुन्धारास्थित केन्द्रीय कारागार जगन्नाथ देवलमा सजाय काटेर छुटेका हुन् । अमेरिकी नागरिक कुम्ब्स गतवर्ष मात्रै नेपालबाट छुटेर अमेरिका फर्किएका थिए । अमेरिकाले आफ्नो कानुनअनुसार त्यहाँ पक्राउ गरेर मुद्दा चलाएको छ ।
यता उनलाई बालक आपूर्ति गर्ने पतुवार पनि त्यसपछि सानातिना घटना गर्दैआएको सीआईबीको रेकर्ड छ । ‘पीडितहरूसँग यता उसले केही न केही बिझ्याइँ गरिरहेको हुन्छ । त्यसैले उ सीआईबीको निरन्तर निगरानीमा छ,’ सीआईबी स्रोतले भन्यो ।
पेडोफाइलहरूको रोजाइमा नेपाल
अंग्रेजीमा शब्द ‘पेडोफिलिया’ एक मनोवैज्ञानिक अवस्था हो । जसले बालयौन दुराचार गर्न तीव्र इच्छा राख्छ । त्यस्तो अवस्थामा रहेका व्यक्तिलाई ‘पेडोफाइल’ भनेर चिनिन्छ ।
नेपाल प्रहरीका पूर्वअधिकारीहरूका अनुसार नेपालसहितका तेस्रो विश्वका देश त्यो घटनाताका पेडोफाइलहरूका लागि प्रमुख रोजाइका गन्तव्य थिए ।
‘मलाई अहिले धेरै याद त छैन । तर, त्यो बेला म सीआईबीमा हुँदा पेडोफाइलका त्यस्ता अन्य तमाम घटना पनि थिए,’ पूर्वएआईजी लोहनी भन्छन्, ‘उनीहरूको रोजाइमा गरिब र विपन्न परिवारका बालबालिका पर्थे । उनीहरूलाई बालबालिका पुर्याउने पतुवार जस्तै बिचौलिया हुन्थे ।’
अहिले भने त्यस्ता घटना कम सुनिएको उनी बताउँछन् । ‘अहिले शायद नेपालीको आर्थिक स्तर बढेको, शिक्षा स्तर पनि सुधार हुँदैगएको र डिजिटल प्लाटफर्मले बालबालिकालाई सचेत पारेकाले त्यो घटना कम भएका हुनसक्छन्,’ पूर्वएआईजी लोहनी भन्छन् ।
त्यो बेला पेडोफाइलहरू नेपाल आउँदा केही गैरसरकारी संस्थाले सूचना दिने गरेको पनि उनी सम्झन्छन् । ‘अहिले पनि भइरहेका होलान्, तर प्रहरीसम्म पर्याप्त सूचना नपुग्दा पनि बाहिर नआएका हुनसक्छन्,’ उनले भने ।
पूर्वडीआईजी हेमन्त मल्ल त्यो बेला पेडोफाइलका घटना खुलेआम हुने गरेको सम्झन्छन् । ‘नेपालमा मात्र होइन तेस्रो विश्वकै देशमा खुलेआम समस्या थियो,’ उनले भने, ‘गरिब, संरक्षक नभएका बच्चा, शिक्षाको कमी भएका बच्चा उनीहरूको टार्गेटमा हुन्थे ।’

प्रशस्त धनपैसा भएका पेडोफाइलहरू अमेरिका र युरोपका देशमा आफ्नो चाहना पूरा नहुने भएपछि नेपाल जस्ता गरिब देशमा आउने गरेको पूर्वडीआईजी मल्ल बताउँछन् । ‘उनीहरूको देशका बालबालिका कमजोर हुँदैनन् । त्यति सजिलै उनीहरूले प्रयोग गर्न सक्दैनन् । त्यसैले उनीहरू नेपाल, भारत, बंगलादेश जस्ता देशमा आएर आफ्नो चाहना पूरा गर्छन्,’ मल्ल भन्छन् । त्यो बेला यस्तो केसमा पुरुष मात्र नभई महिला पनि समातिएका घटना रहेको स्मरण गर्छन् ।
सीआईबीका प्रवक्ता जबरा पछिल्लो समय पेडोफाइलका घटना कम सुनिएपनि जोखिम भने नहटेको बताउँछन् । ‘अहिले पनि सीआईबी यसबारे चनाखो नै छ । कतिपय अवस्थामा बालयौन दुराचारको पृष्ठभूमि भएका नागरिक नेपाल आउँदा ती देशले पनि निगरानी गर्नू भनेर सचेत गराइरहेका हुन्छन्,’ उनले भने, ‘बालयौन दुराचारका घटना हुन नदिन केही विकसित देशका प्रहरीले सूचनामा सहयोग आदान–प्रदान गरिरहेका हुन्छन् ।’
पेडोफाइलबाट नेपाल जस्ता मुलुक अझै पनि सजग हुनुपर्ने पूर्वडीआईजी मल्ल बताउँछन् । ‘बालबालिकाका लागि यो निकै जोखिम र डरलाग्दो समस्या हो । यौन दुराचारमा परेको बालबालिका त्यसको प्रभावबाट सहजै उम्किन सक्दैन । उसको जीवन नै संकटमा पुग्छ । त्यसैले यसमा विश्वको संवेदनशील ध्यान छ । हामी पनि सजग भइरहनुपर्छ,’ पूर्वडीआईजी मल्लले भने ।
प्रतिक्रिया 4