+

क्रिकेटर सिद्धान्त लोहनीले गरे सन्यासको घोषणा

२०८३ साउन  २ गते २३:४९ २०८३ साउन २ गते २३:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली क्रिकेटर सिद्धान्त लोहनीले निरन्तरको चोट र सात पटकको घुँडाको शल्यक्रियापछि व्यावसायिक क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।
  • सन् २०१५ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेका लोहनीले आफ्नो बायाँ घुँडाको पूर्ण प्रत्यारोपण गर्नुपरेकाले खेल जीवन टुङ्ग्याउनुपरेको बताएका छन् ।
  • उनले भने, 'सन्यास भनेको क्रिकेटसँग बिदाइ होइन, अब नयाँ भूमिकाबाट फेरि क्रिकेटमै फर्किने आशा राखेको छु' भन्दै भविष्यमा सक्रिय रहने प्रतिबद्धता जनाएका छन् ।

३ साउन, काठमाडौं । नेपाली क्रिकेटर सिद्धान्त लोहनीले व्यावसायिक क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

सामाजिक सञ्जालमार्फत शनिबार सन्यास घोषणा गर्दै उनले सात पटक घुँडाको शल्यक्रिया गर्नुपरेको र अन्ततः चोटकै कारण क्रिकेट यात्रा टुङ्ग्याउन बाध्य भएको बताएका हुन् ।

सन् २०१५ जुलाई १८ मा नेपाली राष्ट्रिय टोलीबाट डेब्यु गरेका लोहनीले ठ्याक्कै ११ वर्षपछि सोही मितिमा अन्तर्राष्ट्रिय तथा व्यावसायिक क्रिकेटबाट सन्यास लिएका हुन् ।

घुँडाको चोटपछि पुनरागमनका लागि धेरै प्रयास गरेको तर शल्यक्रियापछि भएको गम्भीर सङ्क्रमणका कारण अन्ततः बायाँ घुँडाको पूर्ण प्रत्यारोपण गर्नुपरेको उनले उल्लेख गरेका छन् ।

‘धेरै शल्यक्रियापछि मैदानमा फर्किने प्रयास गरेँ। तर सङ्क्रमणले अवस्था झन् बिग्रियो र अन्ततः बायाँ घुँडाको पूर्ण प्रत्यारोपण गर्नुपर्‍यो। अब मेरो खुट्टा पहिलेको जस्तो कहिल्यै हुने छैन, घुँडा मोड्न पनि जीवनभर सीमितता रहनेछ’ उनले लेखेका छन् ।

सन् २०२३ मा जनकपुरमा भएको महेन्द्रनारायण निधी टी-२० राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशका कप्तानी गर्दै खेलेका सिद्धान्त गण्डकी प्रदेशविरुद्ध फिल्डिङ गर्ने क्रममा घाइते भएका थिए ।

सन् २०१५ जुलाई १८ मा आईसीसी टी२० विश्वकप छनोट अन्तर्गत जर्सीविरुद्ध खेल्दै नेपालको सिनियर टिममा डेब्यु गरेका उनले १६ बल खेल्दै २ चौका र २ छक्काको मदतमा २७ रन बनाएका थिए ।

पारस खड्काको हातबाट डेब्यू क्याप लिँदै

उक्त खेलमा नेपाल ७ विकेटले पराजित हुँदा टिमका लागि सर्वाधिक रन बनाउने खेलाडी उनै सिद्धान्त थिए । खेल हारेपनि सिद्धान्तले हानेको हेलिकप्टर शटको चर्चा भएको थियो । अन्तर्राष्ट्रिय स्तरमै उनको सटले चर्चा पायो ।

डेब्यु खेलमा राम्रो प्रदर्शन गर्दै सम्भावना देखाएपनि सिद्धान्तको अन्तर्राष्ट्रिय करियर भने त्यसपछि अघि बढेन ।

सिद्धान्तले सन् २०१८ मा एभरेष्ट प्रिमियर लिग र सन् २०२३ जनवरीमा मा नेपाल टी२० लिग समेत खेलेका थिए । २०२३ जुनमा घाइते भएपछि भने उनले फेरि खेलेका छैनन् ।

उनले व्यावसायिक क्रिकेटमा फर्किन अब सम्भव नभएको स्वीकार्दै अहिले हिँड्न सकिरहेकोमा नै आफू भगवानप्रति आभारी रहेको बताएका छन् ।

‘चोटका कारण यति कम उमेरमै क्रिकेट छोड्नुपर्दा मन दुखेको छ । तर राष्ट्रिय टोलीबाट खेलेका सम्झनाहरू जीवनभर ताजा रहनेछन्’ उनले उल्लेख गरेका छन् ।

लोहनीले आफ्नो क्रिकेट यात्रामा साथ दिने परिवार, प्रशिक्षक, फिजियो, साथीभाइ, समर्थक तथा नेपाल क्रिकेट संघ (क्यान), मोरङ जिल्ला क्रिकेट सङ्घ, कोशी प्रदेश क्रिकेट सङ्घ र आफूलाई अवसर दिने सबै फ्रेन्चाइज टोलीप्रति आभार व्यक्त गरेका छन् ।

उनले सन्यासलाई क्रिकेटबाट पूर्ण विदाइ नभएको स्पष्ट पार्दै भविष्यमा फरक भूमिकामा क्रिकेटमै जोडिने प्रतिबद्धता पनि जनाएका छन् । ‘सन्यास भनेको क्रिकेटसँग बिदाइ होइन। अब नयाँ भूमिकाबाट फेरि क्रिकेटमै फर्किने आशा राखेको छु,’ उनले भने ।

सन्यास घोषणा सिद्धान्त लोहनी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय