Comments Add Comment

पश्चिमा र छिमेकी अस्थिरता चाहन्छन्ः मुख्यमन्त्री पोखरेल

६ मंसिर,बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले पश्चिमा र छिमेकी देशले नेपालसहित सिंगो एशियामै स्थिरता हुन नदिने बताएका छन् ।

एशियाको विकास भयो भने आफू पछि परिन्छ भने डरले विशेष रणनीति अनुसार नै पश्चिमाहरुले एशिया रणनीति अन्तर्गत अस्थिरता पैदा गर्ने गरेको आरोप लगाए ।

सैनिक कलेजका अधिकृतहरुसँग सुरक्षा र विकासबारे बिहीबार छलफल गर्दै मुख्यमन्त्री पोखरेलले पश्चिमा जस्तै छिमेकी देशले पनि आफ्नो प्रभूत्व जमाइराख्न नेपालमा स्थिरता हुन नदिने बताए । तर, कुन छिमेकी देश भन्ने चांही उनले खुलाएनन् ।

मुख्यमन्त्री पोखरेलले आन्तरिक कारणले मात्र नभई विदेशीको स्वार्थका कारण पनि देशमा द्वन्द्व हुने गरेको बताए ।

पश्चिमा र छिमेकीले मुलुकमा दीगो विकास र स्थिरता हुन नदिने रणनीतिलाई सबै सुरक्षा निकायले सुक्ष्म अध्ययन र सही विश्लेषण गरेर अघि बढ्नुपर्ने मुख्यमन्त्रीको आग्रह थियो ।

समाजमा द्वन्द्वको दीगो समाधान र शान्ति सुरक्षा कायम गर्न जनतासंग सुरक्षा निकायको सुमधुर सम्बन्ध विकास हुनुपर्नेमा जोड दिए ।

अहिलेको युगमा हतियारको बलले मात्रै शान्ति सुरक्षा कायम गर्न नसकिने स्पष्ट पार्दै उनले जनताको विश्वास जित्ने र नजिकको सम्बन्ध र सहकार्यमा गर्नुपर्ने बताए ।

विकास आयोजनाहरुमा स्थानीय स्वार्थका कारण अवरोध र सुरक्षा चुनौती पनि आउने गरेकाले ठूला आयोजनाहरु नेपाली सेनालाई जिम्मा दिनुपर्ने अवस्था आउंदा सेना पनि विकासको एउटा मुख्य साझेदार हुँदै आएको मुख्यमन्त्रीले उल्लेख गरे ।

नेपालको संघीयता विश्वका अन्य मुलुक भन्दा फरक र मौलिक रहेको तथा संविधानले प्रदेशहरुलाई अधिकार सम्पन्न बनाएकाले कर्मचारीर सबै सुरक्षा निकायले काठमाडौं केन्द्रित  मानसिकता त्याग्नुपर्ने आग्रह गरे ।

छलफलमा सैनिक कलेजका मेजर भन्दा माथिल्लो तहका सैनिक अधिकारीहरुको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment