+
+

आधुनिक तालाले रोकिएन इन्धन चोरी, बाटोबाटै २५ सय लिटर डिजेल गायब !

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ८ गते ९:१७

८ मंसिर, मोरङ । भारतबाट पेट्रोलिय पदार्थ ढुवानी गर्दा बाटोबाटै इन्धन चोरी हुने क्रम नरोकिएपछि नेपाल आयल निगमले छ महिनाअघि ट्यांकरमा आधुनिक लक स्टिक जडान गरेको थियो । लक स्टिक जडानपछि धेरैलाई लागेको थियो, इन्धन चोरी रोकिने छ ।  तर, आधुनिक लक सिस्टम जडान हुँदा पनि इन्धन चोरी भइरहेको पाइएको छ ।

भारतीय आयल कर्पोरेशनको बरौनी डिपोबाट अत्याधुनिक चाबी र सिलसहित विराटनगर स्थित नेपाल आयल निगमको प्रादेशिक डिपोमा ल्याइएको ट्यांकरबाट करिब २ हजार ५ सय लिटर डिजेल चोरी भएको भएको खुलेपछि यस्तो तथ्य सतहमा आएको हो । इन्धन भर्ने र खन्याउने दुई स्थान मात्र रहने अत्याधुनिक लकिङ प्रणाली जडान गरिएको को १ ख ५९६५ नम्बरको ट्याङकरबाट दुई हजार ५ सय लिटर डिजेल चोरी भएको हो ।

बिहीवार साँझ बरौनीबाट विराटनगस्थित आयल निगमको प्रादेशिक डिपोका लागि डिजल बोकेर आएको को १ ख ५९६५ नम्बरको ट्यांकर नापजाँच गर्दा ८३ सेन्टिमिटर -करिब २५०० लि.) डिजेल बाटैबाट गायब भएको पाइएको छ । तेल चोरी भएको ट्याङ्करको लक सिस्टम तोडिएको थिएन् । विराटनगरमा तेल खन्याउने क्रममा नापजाँच गर्दा लक लगाएकै ट्यांकरबाट करिब २५ लिटर डिजेल कम भेटिएपछि चोरीको घटना बाहिरिएको हो ।

२० हजार लिटर क्षमताको ट्यांकर व्यवसायी सुकदेव सिंहले आफू र आफन्तको नाममा ३० भन्दा बढी ट्याङकर सञ्चालन गरिरहेका छन् ।

नेपाल आयल निगमकै सक्रियतामा कतै पनि खोल्न नमिल्ने गरी प्रत्येक ट्यांकरमा आधुनिक लकिङ सिस्टम जडान गरिएको छ । उक्त सिस्टममा लगाइएको ताला खोल्ने दुईवटा चाबीमध्ये एउटा चाबी भारतीय आयल कर्पोरेशनको बरौनी डिपो र अर्को विराटनगरस्थित नेपाल आयल निगमको प्रदेश कार्यालय प्रमुख दिनेशकुमार यादवको निगरानीमा हुन्छ । तर तेल चोरी भएको ट्याङकरको लकिङ सिस्टम नफुटाई चोरी भएको पाइएपछि प्रादेशिक प्रमुख यादवकै संलग्नताको आशंका गरिएको छ ।

तर, प्रदेशिक प्रमुख यादव आफूलाई लागेको आरोप मान्न तयार छैनन् । भारतबाटै कम तेल आएको उनको दाबी छ । ‘हामीले चालक र ढुवानीकर्तालाई कारवाही गरेका छौं’, उनले भने, ‘नापजाँच गर्दा तेल कम भेटिएपछि कारवाही गरिएको हो ।’

उनले ट्याङ्कर चालकलाई छ महिना र ट्याङकरलाई तीन महिना तेल ढुवानी गर्न नमिल्ने गरी निलम्बन गरिएको बताए । ‘अलिकति कम आएको हो, पूरै उता राखेको होइन’, उनले भने ‘ २४-२५ सय लिटर जति कम आएको हो ।’

चोरिएको तेलको दुईगुणा रकम जरिवानास्वरुप आयल निगमको खातामा जम्मा गर्न लगाएको बताउँदै उनले भारतीय चालक धर्मेन्द्र स्वर्णकारलाई ६ महिना निलम्बन गरिएको बताए ।

पूर्वाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघका अध्यक्ष गुणराज निरौला आधुनिक लकिङ प्रणाली जडान गरिएका ट्यांकरबाट इन्धन चोरी गर्नु असम्भव हुने बताउँछन् । निरौलाका अनुसार ट्यांकर व्यवसायीहरुकै खर्चमा भारु ८५ हजार गोटाका दरले आधुनिक लकिङ सिस्टम जडान गरिएको हो । विराटनगरमा आधुनिक लक सिस्टम जडान गरिएका ४ सय ट्याङकरहरु छन् ।

छानविन समिति गठन

बिहीबार भएको चोरीको घटना प्रदेश प्रमुख यादवले कार्यलयभित्र नै मिलाउन खोजेका थिए । तर, शुक्रवार बिहान आयल निगम केन्द्रीय कार्यालयमा सूचना पुगेपछि घटना बाहिरिएको हो ।

आधुनकि लक सिस्टम भएको ट्यांकरबाट तेल चोरी गर्न सम्भव छैन् । यादवकै निगरानीमा रहने चाबी उनकै योजनामा बाहिर लगिएको हुनसक्ने आशंकामा निगमले छानविन समिति गठन गरेको छ ।

तेल चोरी प्रकरणमा प्रदेश निर्देशक यादवको संलग्नताबारे छानविन गर्न तीन सदस्यीय छानविन समिति गठन गरिएको हो । निगमको केन्द्रीय कार्यालय स्रोतका अनुसार, अन्जना पोखरेलको नेतृत्वमा गठन गरेको छानविन समितिले शुक्रबारबाटै काम थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?