Comments Add Comment

मेस्सी युगको १५ वर्ष: यसकारण छन् भिन्न !

काठमाडौं । नोभेम्बर १६, २००३, यो त्यही मिति हो जतिबेला सुरु भयो लियोनल मेस्सीको फुटबल युग । त्यसबेला मेस्सीले फुटबल क्लब बार्सिलोनाबाट एफसी पोर्टोविरुद्ध मैत्रीपूर्ण खेलमा डेब्यू गरेका थिए ।

१५ वर्षको यो अवधिमा मेस्सी अहिलेसम्म पनि उस्तै प्रभावकारी देखिइरहनुको पछाडि फुटबलरहरु नै कारण बताउँछन्, ‘उनी यो पृथ्वीकै होइनन्, ‘एलियन’ जस्ता लाग्छन् ।’
हुन पनि उनले एफसी पोर्टोविरुद्ध बार्सिलोना डेब्यू गरेदेखि अहिलेसम्म दजनौँ कीर्तिमान बनाइसकेका छन् ।

मेस्सी बन्ने सूत्र

५ सय ६६ गोल गरेर बार्सिलोनाका कीर्तिमानी गोलकर्ता । ला लिगाका ४ सय २८ खेलमा ३ सय ९२ गोल । च्याम्पियन्स लिगका १ सय २७ खेलमा १ सय ५ गोल । अर्जेन्टिनाबाट १ सय २८ खेलमा ६५ गोल ।

९ पटक ला लिगा विजेता, ६ पटक कोपा डेल रे, ८ पटक सुपरकोपा, चार पटक च्याम्पियन्स लिग, ३ पटक सुपर कप सातै ३ पटक क्लब विश्वकप । पाँच पटकका बालोन डि’ओर विजेता । पाँच पटक युरोपियन गोल्डेन सुज विजेता ।

यसैले होला, ३१ वर्षको उमेरमा पनि उही लयमा देखिइरहेका छन् । जारी सिजन सबै प्रतियोगितामा गरेर मेस्सीले १३ खेलमा १४ गोल गरिसकेका छन् । हातमा लागेको चोटले तीन हप्ता आराममा रहे पनि मेस्सी उच्च गोलकर्ता नै छन् ।

स्पेनिस फुटबल लेखक जिलियम बालागु बार्सिलोनामा मेस्सीले देखाएको एलियन सिद्धान्तलाई ब्याख्या गर्दै भन्छन्, ‘एलियन सिद्धान्त बारे मैले लेखेको छु, मेस्सी हुनका लागि विभिन्न ११ कुरा चाहिन्छन् । जुन एलियनसँग मात्रै हुनसक्ला ।’

‘मेस्सीको परिवार झण्डै अस्टे्रलिया बसाई सरिसकेको थियो । मेस्सी अस्टे्रलियामा जन्मिएको भए यस्तै हुन्थे त ? अहँ हुँदैन थिए । अर्जेन्टिना भएकैले उनमा त्यो सीप आएको हो’ बालागु भन्छन्, ‘प्रेरणा, आकांक्षा, प्रयास, नियमितता, प्रतिबद्धता, बलिदान, आत्मविश्वास, नेतृत्व, मानसिक क्षमता यो सबैसँगै एउटा राम्रो जिनबाट मेस्सी बन्न सकिन्छ ।’

राम्रोबाट कसरी उत्कृष्ट ?

बार्सिलोनाबाट ला लिगा, च्याम्पियन्स लिग, कोपा डेल रे, सुपरकोपा, क्लब विश्वकप र सुपर कपमा गरेर खेलेका ६ सय ५० खेलमा मेस्सीले ५ सय ६६ गोल मात्रै होइन २ सय १९ पटक त गोलको अवसर नै बनाएका छन् ।

यो १५ वर्षमा मेस्सीले ६ जना प्रशिक्षकसँग रहेर खेलिसकेका छन् । सबैमा उनको प्रभाव उस्तै राम्रो छ ।

स्पेनिस फुटबलका जानकार एन्डी वेस्ट भन्छन्, ‘मेस्सी नयाँ अवस्थाको आँकलन गर्न र त्यसमा घुलमिल हुन जान्दछन् । नयाँ प्रशिक्षक, नयाँ खेलाडी साथी मात्रै होइन नौलो स्थानबाट खेल्न पनि उनी हिचकिचाउँदैनन् ।’

सुरुमा बल डि्रबलिङ गर्ने सयमदेखि अहिलेसम्म मेस्सीमा नौलो परिवर्तनहरु पनि देखिएको छ । हुन त डि्रबलिङ गरिरहने ताका पनि बलसँगै कुदेर गोलमा बढ्ने उनको क्षमता अदभुत नै थियो ।

सुरुका दिनबाट अहिलेसम्म आइपुग्दा मेस्सीमा देखिएको सबैभन्दा राम्रो सुधार बल पास गर्ने क्षमता हो । उमेर बढ्दै जाँदा त्यही अनुकुल खेलशैलीलाई पनि मेस्सीले अबलम्बन गर्दै लगिरहेका छन् ।

पहिलेका वर्षमा जस्तो बीच मैदानबाट खेलाडीलाई पछि छाड्दै गोलमा बढेका मेस्सी र अहिले उत्कृष्ट स्थान हेरेर लामो पास पनि दिने मेस्सीले समयसँगै आफूलाई बदलेको प्रमाण हो ।

कसरी दिने निर्देशन ?

क्याप नाउमा मेस्सीको प्रभाव यति राम्रो छ कि प्रशिक्षक एर्नेस्टो भालभर्दे पनि बेलाबेला भनिरहेका हुन्छन्, ‘मेस्सीलाई अलि बढी थाहा छ ।’

खेलाडी र कप्तानका रुपमा रहेका मेस्सीमा अहिले नै प्रशिक्षकको जस्तो नजर पनि देख्न सकिन्छ । अप्ठेरो परिस्थितिमा के गर्ने भन्ने निर्णयमा उनको सुझाव प्रभावकारी हुन्छ । उनले जसरी खेल बुझ्ने क्षमता धेरै कममा मात्रै हुन्छ ।

बालागु भन्छन्, ‘भालभर्देसँग मेस्सीबारे कुरा गर्दा उनले मलाई भनेका थिए, बेन्चमा बसेर खेल हेरिरहेका बेला मेस्सीले कमेन्ट्री नै गरिरहेका हुन्छन् । उनले भनेका कुरा सुन्ने हो भने सुधार गर्न सहज हुन्छ । ला लिगामा सेभिल्लासँगको खेलमा बेन्चमा रहँदा पनि मेस्सीले त्यस्तै गरेका थिए । त्यसैले पछिल्लो ३० मिनेट मैदान गएका उनले खेल नै उलटपुलट पारिदिए ।’

यसैले त कतिपय विषयहरु भालभर्देले मेस्सीकै लागि छाडिदिन्छन् । ‘तिमीलाई थाहा छ नि लियो …, तिमीले यस्तो गर्दा…, तिमी … अँ, जे राम्रो हुन्छ त्यही गर न’ हिजोआज भालभर्देले यस्तो भनेको सुन्न पाइन्छ ।

यस्तो लाग्छ मेस्सीतिर हेरेर भालभर्देले सोचिरहेका हुन्छन्, ‘यो केटोलाई मैले के बुझाइराख्नु पर्ला र !’

कप्तानमा कस्ता छन् ?

ला लिगामा शनिबार राति साढे १ बजे बार्सिलोना र एथ्लेटिको मडि्रडबीच खेल हुँदै छ । यो सिजन च्याम्पियन्स लिगमा राम्रो भए पनि ला लिगामा शीर्षमा रहे पनि सोचेजस्तो गर्न नसकेको बार्सिलोनाका लागि एथ्लेटिकोविरुद्धको खेल परीक्षाको घडी हुने छ ।

मेस्सीको कप्तानीमा बार्सिलोनाको यो पहिलो सिजन हो । राष्ट्रिय टिममा उनले गरेको कप्तानीलाई हेरेर मानिसहरुले लामो समयदेखि भन्दै आएका छन्, ‘मेस्सी जस्तो खेलाडी हुन्, उस्तो कप्तान होइनन् ।’

विशेष गरी मेस्सीको कप्तानीमा उठेका प्रश्न अर्जेन्टिनाबाटै आएको देखिन्छ । जहाँ बार्सिलोनामा जस्तो उपाधि जिताउन पनि उनले सकिरहेका छैनन् ।

केही दिनअघि लिजेण्ड खेलाडी डिएगो म्याराडोनाले फक्स स्पोट्ससँगको अन्तर्वार्तामा मेस्सीको कप्तानीमाथि प्रश्न उठाएका थिए । उनले २०११ देखि राष्ट्रिय टिमको कप्तानी गरिरहेका मेस्सी उत्कृष्ट खेलाडी भए पनि उत्कृष्ट कप्तान नभएको बताएका थिए ।

विवादास्पद कुरा गरिरहने म्याराडोनाको भनाईलाई धेरै वास्ता नगरे पनि नकार्न भने मिल्दैन । किनभने २००८ देखि २०१० सम्म मेस्सीको उत्कृष्ट समयमा म्याराडोनाले राष्ट्रिय टिम सम्हालेका थिए । म्याराडोनमा मात्रै होइन अर्जेन्टिनाका पूर्वखेलाडी ड्यानियल पासारेलाले पनि मेस्सीको कप्तानी राम्रो नरहेको बताएका थिए ।

राष्ट्रिय टिमबाट मेस्सीको कप्तानीमा प्रश्न उठिरहे पनि बार्सिलोनामा उनको कप्तानीलाई मूल्याङ्कन गर्न हतार गर्नु हुँदैन ।

कम बोल्ने तर प्रस्ट

पछिल्लो समय मेस्सीको व्यवहारमा परिवर्तन पनि आइरहेको छ । हुन त कम बोल्ने उनको शैली पहिले जस्तै नै छ तर, बोल्नुपर्ने कुरा सिधा र प्रस्टसँग बोल्छन् । पहिले दुई वाक्य जोडेर मिलाएर भन्न अप्ठेरो मान्ने स्वभाव नरहे पनि अहिलेसम्म उनी पत्रकार सम्मेलनमा मुस्किलले मात्रै उपस्थित हुन्छन् ।

त्यही स्वभावले गर्दा नै जब उनी बोल्छन्, मानिसहरु उनलाई सुन्न आतुर हुन्छन् । शान्त भएर सबै कुरा सुनिरहेका हुन्छन् । किनभने केही महत्वपूर्ण कुरा भन्नुपर्दा मात्रै बोल्छन् ।

नयाँ सिजन सुरु हुनुअघि बोका जुनियर्ससँगको मैत्रीपूर्ण खेलअघि मेस्सीले बोलेका कुरामा त्यसैले मानिसहरु भावुक बनेका थिए ।

‘गएको सिजन ला लिगालाई हेर्दा हामीले धेरै राम्रो गरेका हौँ । तर, च्याम्पियन्स लिगमा जे भयो त्यो दुःखदायी रहृयो । म विश्वस्त बनाउन चाहन्छु च्याम्पियन्स लिग घर फर्काउन यसपटक हामी सक्दो मेहनत गर्ने छौँ’ उनले भनेका थिए ।

एउटा उदाहरणीय काम

केही हप्ताअघि प्रशिक्षक भालभर्देसँग कुरा गर्न जाँदा मेस्सीले भनेका थिए, ‘माल्कोमले किन खेल्ने समय नै पाएका छैनन् ?’ त्यसैको प्रभाव हुनुपर्छ प्रशिक्षकले च्याम्पियन्स लिगमा इन्टर मिलनाविरुद्ध माल्कोमलाई अवसर दिए । मैदान छिरेको दुई मिनेटमा गोल गरेर उनले आफूलाई प्रमाणित पनि गरे ।

‘मेस्सी टिमबाट जहिल्यै उत्कृष्ट होस् भन्ने चाहन्छन् । उनको प्रेरणाले अरु खेलाडीले पनि राम्रो गर्न सक्छन् । पाँच पटक बालोन डि’ओर विजेता जस्ता खेलाडीले भनेको कुराले धेरै बल मिल्छ’ माल्कोमले ईएसपीएनसँग भनेका छन् ।

अर्जेन्टिनाको युवा टिम र सिनियर टिममा गरेर ११ वर्ष खेल्दा मेस्सीलाई कप्तानी गर्ने र मेस्सीको कप्तानीमा खेल्ने दुवै भूमिकामा थिए, पाब्लो जाबालेटा । उनी भन्छन्, ‘मेस्सीको उपस्थिति मात्रैले पनि आफूलाई योग्य बनाइदिन्छ । उनमा रहेको जितको चाहनाले आफूमा पनि जोश भरिन्छ ।’

अहिले बार्सिलोनामा उसमान डेम्बेलेमा देखिएका समस्याबारे पनि मेस्सी जानकार छन् । उनले डेम्बेलेको उत्कृष्ट क्षमताको उपयोग गर्न कसरी सहयोग गर्न सकिन्छ भन्नेमा काम गरिरहेका छन् । मेस्सीले केही भनेर या केही गरेर मात्रै होइन उनलाई हेरेरै पनि डेम्बेलेले कसरी भविष्य बनाउने भन्नेबारे सिक्न सक्छन् ।

मेस्सीबारे लेखेका ईएसपीएनका लेखक साम बोर्डनले भनेका पनि छन्, ‘अरु जति कराउँछन् त्यो भन्दा ठूलो आवाज शान्त बसेका मेस्सीमा हुन्छ ।’

कस्तो होला भविष्य ?

अर्जेन्टिनाबाट १ सय २८ खेलमा बार्सिलोनामा जस्तो प्रभाव नभए पनि उनको क्षमता कमजोर बनेको भने होइन । चार पटक त अर्जेन्टिनाबाट ठूला प्रतियोगिताको फाइनलमा पराजित हुनु एउटा दुर्भाग्य पनि हो ।

मेस्सीले बार्सिलोनासँग २०२१ सम्मका लागि सम्झौता गरेका छन् । उनकै कुरा मान्ने हो भने, बार्सिलोना मात्रै त्यस्तो क्लब हो जहाँ उनी आफ्नो पूरा खेल जीवन बिताउन चाहन्छन् । बाल्यकालको सम्झनासँगै युवा समयको महत्वपूर्ण उपलब्धी उनले बार्सिलोनाबाटै पाएका छन् ।

मेस्सीको विगत र वर्तमान जान्दा जान्दै भविष्य कस्तो होला भनेर अनुमान गर्न खोज्नु एक हिसाबले मुर्खता नै हो । उनले अवस्थाअनुसार आफूलाई परिवर्तन गर्दै नयाँ शैलीमा उत्कृष्टता देखाइरहेका पनि छन् ।

एउटा कल्पना गरौँ न, इटालियन फुटबलको चौथो डिभिजनको क्लब कोमोबाट मेस्सी खेलिरहेका छन् र च्याम्पियन्स लिग फाइनलमा बार्सिलोनालाई हराएर उपाधि जिते ।
यस्तो सुन्दा हाँस्यास्पद लाग्न सक्छ । तर, यो यसै भनिएको होइन । अहिले इटालियन क्लब जिनोएका अध्यक्ष रहेका तत्कालिन कोमो क्लबका अध्यक्ष इनरिको प्रेजिओसीले दाबी गरेका थिए, ‘उनी कोमोमा रहँदा मेस्सी ट्रायलका लागि आएका थिए । यदि त्यो बेला मेस्सीलाई क्लबमा राख्न सकेको भए कोमो अहिले च्याम्पियन्स लिग विजेता हुने थियो ।’

इटालीमा मात्रै होइन मेस्सीलाई इंग्लिस पि्रमियर लिगमा खेल्ने पनि कुनै रहर छैन । फुटबल लेखक बालागुले मेस्सीलाई सोधेका थिए, ‘इंग्ल्याण्डमा मानिसहरु स्ट्रोकमा हुने जस्तो चिसा ठण्डा रातहरुमा खेल्न परेको भए मेस्सीले अहिलेको जस्तो गर्न सक्दैनथ्यो भन्छन् नि !’

मेस्सीको जवाफ थियो, ‘सायद उनीहरुले अर्जेन्टिनाको रोसारियो जस्तो चिसो मैदानहरुमा मैले खेलेको हेरेका छैनन् ।’

(यो सामग्री बीबीसी, ईएसपीएन र एफसी बार्सिलोनाको सहयोगमा तयार पारिएको हो ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment