Comments Add Comment

गोरखामा ५८ प्रतिशत पुनर्निर्माण सकियो

९ मंसिर, गोरखा । गोरखामा ५८ प्रतिशत नीजि आवास पुनर्निर्माणको काम सकिएको छ ।

कुल ७० हजार चार सय ८१ लाभग्राही मध्य ४० हजार तीन सय ८९ भूकम्प पीडितले घर निर्माण गरिसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयले जनाएको छ । ‘घर निर्माण सम्पन्न गरेपछि मात्र तेस्रो किस्ता पाउने हो,’ कार्यालय प्रमुख रामकुमार श्रेष्ठले भने, ‘उहाहरुले तेस्रो किस्ता लगिसक्नुभएको छ ।’

कुल लाभग्राही मध्य ६१ हजार नौ सय ७९ भूकम्प पीडितले पहिलो किस्ता र ५२ हजार तीन सय २२ ले दोस्रो किस्ता लगेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । चालु आर्थिक वर्षभित्र नीजि आवास पुनर्निर्माणको काम सक्ने लक्ष्य रहेको श्रेष्ठले बताए । ‘पुनर्निर्माणको काम सन्तोषजनक नै छ, लाभग्राही संख्या थप भइरहेकाले काम कम भएको जस्तो देखिएको मात्र हो,’ उनले भने ।

मंसिर मसान्त सम्म गुनासो फारम भर्ने पीडितको संख्या १५ हजार सात सय पचाँस रहेको कार्यालयले जनाएको छ । जसमध्य दश हजार पाँच सय ४७ गुनासोको सम्बोधन भइसकेको छ । पाँच हजार दुइ सय तीन गुनासो अझै सम्बोधन हनु बाकी रहेको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए ।

नीजि आवास पुनर्निर्माणलार्इ तीव्रता दिन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदानको किस्ता लिनुपर्ने समयसिमा यस अघि नै निर्धारण गरिसकेको छ । २०७५ असार मसान्तसम्म अनुदानको पहिलो किस्ता लिइसकेका लाभग्राहीले २०७५ पौष मासन्त भित्र दोस्रो किस्ता लिइसक्नुपर्नेछ । २०७५ पौष मसान्तसम्म दोस्रो किस्ता प्राप्त गर्ने लाभग्राहीले २०७६ बैशाख मसान्तभित्र तेस्रो किस्ता लिइसक्नुपर्ने कार्यालयले जनाएको छ ।

त्यस्तै, पहिलो किस्ता समेत नलिएका लाभग्राहीले २०७५ कात्तिक मसान्तभित्र सम्झौता गरी पहिलो लिइसक्नुपर्नेछ । २०७५ कात्तिक मसान्तसम्म पहिलो किस्ता लिने लाभग्राहीले २०७५ माघ मसान्तभित्र दोस्रो किस्ता लिइसक्नुपर्ने छ । त्यस्तै, २०७५ माघ मसान्त भित्र दोस्रो किस्ता प्राप्त गर्ने लाभग्राहीले २०७६ जेष्ठ मसान्त भित्र तेस्रो किस्ता लिइसक्नुपर्नेछ ।

प्रवलिकरणमा समस्या

प्रवलिकरणमा नाम समावेश भएका भूकम्प पीडितहरुले पूर्ण लाभग्राहीमा नाम समावेश हुनुपर्ने माग राख्दै आएका छन् । प्रवलिकरणमा परेका अधिकांश घर ढुङ्गामाटोको भएकाले मर्मत गरेर बस्न नसक्ने उनीहरुको गुनासो छ ।

गोरखामा कुल पाँच हजार ३३ लाभग्राहीको प्रवलिकरणमा नाम परेको कार्यालयले जनाएको छ । तर, अधिकांश पीडितले पूर्ण लाभग्राहीमा नाम समावेश गर्न भन्दै गुनासो फारम भरेका छन् । ‘प्रवलिकरणमा परेका मध्य ५ सय ९९ जनाले मात्र अनुदानको पहिलो किस्ता लिएका छन्, धेरैले पूर्णलाभग्राहीमा राख्न माग गर्दै गुनासो फारम भरेका छन्, अहिलेसम्म एक जनाले मात्र पुरै अनुदान लानुभएको छ,’ कार्यालय प्रमुख श्रेष्ठले भने ।

अनुदान रकम फिर्ता गर्न आग्रह

भूकम्पबाट क्षतिग्रस्त भएको घर बाहेक सोही स्थानमा वा नेपालभर अन्य कुनै ठाउँमा बस्न योग्य घर भएका व्यक्तिहरुले झुठा विवरण पेश गरी अनुदान लिएको भएमा र कुनै भूकम्प पीडितले एकभन्दा बढी ठाउँबाट अनुदान लिएको भएमा २०७५ पौष १५ गते भित्र रकम फिर्ता गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आग्रह गरेको छ । अन्यथा सो रकम सरकारी बाँकी सरह असुल उपर गरिने बताइएको छ । त्यस्ता व्यक्तिको खोजी भइरहेको कार्यालयले जनाएको छ ।

पुनर्निर्माणलार्इ तीव्रता दिन वडा स्तरबाटै अनुगमन

गाउँपालिका भित्रको पुनर्निर्माणलाई तीव्रता दिन सिरानचोक गाउँपालिकाले वडास्तरबाटै अनुगमन थाल्ने भएको छ । गाउँ कार्यापालिकाको बैठकले घर बनाउन बाँकी रहेकाहरुको कारण पत्ता लगाउँदै छिटो बनाउन दबाव दिने र सँगै समस्या हल गर्न सहयोग गर्ने निर्णय गरेको छ ।

पुनर्निर्माणमा भएको समस्या खोजी गरेर समाधान गर्न वडा अध्यक्षको नेतृत्वमा वडास्तरमा समिति बनाउने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष राजु गुरुङले बताए ।

समितिले कुन वडामा कति घर निर्माण हुन बाँकी छ, के कारण घर बनाएका छैनन भन्ने बारेमा अध्ययन गर्ने बताइएको छ । समितिको निश्कर्षपछि समस्या समाधान गर्न वडास्तरबाटै पहल गर्ने र थप समस्या भएमा गाउँपालिकाले सम्बोधन गर्ने गरी योजना बनाएको गाउँपालिका अध्यक्ष गुरुङले जानकारी दिए ।

सिराञ्चोक गाउँपालिका भित्र पाँच हजार आठ सय ९५ घरधुरी लाभाग्राही सूचीमा समेटिएका थिए । ती मध्ये पाँच हजार पाँच सय ९१ घरधुरीले सम्झौता गरी पहिलो किस्ता लिइसकेका छन् ।

दोस्रो किस्ता लिनेको संख्या पाँच हजार एक सय १० छ भने तेस्रो लिनेको संख्या चार हजार दुई सय ८१ रहेको गाउँपालिकाले जनाएको छ । प्रवलिकरण सूचीमा नाम समेटिएका ८ ४७ घरधुरीलाई पूर्ण लाभग्राही सुचीमा समेट्न गाउँपालिकाले पुनर्निर्माण प्राधिकरणलाई अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment