Comments Add Comment

हेटौंडा सिमेन्टः नामै काफी, प्रविधि बासी !

१० मंसिर, काठमाडौं । नेपालमा यस्ता थोरै उत्पादन छन्, जुन नामले नै अब्बल मानिन्छन्, जब तिनको नाम सुनिन्छ, तब अरु उत्पादन फिका लाग्छन्, यही विरासत बोकेको एउटा उत्पादन हो, हेटौंडा सिमेन्ट ।

बजारमा दर्जनौं ब्राण्डका सिमेन्टहरु छन् । तर, हेटौंडाका सुमन रायमाझीको भनाइमा हेटौंडा सिमेन्टको विश्वसनीयतालाई उछिन्ने र त्यसलाई विस्थापित सिमेन्ट अझै बजारमा छैनन् ।

‘हामी त बाध्यतामा अरु सिमेन्ट प्रयोग गर्छौं, रहरमा त हेटौंडा सिमेन्ट नै हुन्छ,’ उनी भन्छन्,‘त्यसै हेटौंडाको सिमेन्टको नाममा निजी कम्पनीले पनि फाइदा उठाएका होइनन् ।’

हुन पनि हो, भर्खरै एउटा नयाँ सिमेन्ट उद्योगले आफ्नो ब्राण्डिङका लागि गरिएको विज्ञापनमा लेखेको छ, ‘हेटौंडाको सिमेन्ट’ ।

हेटौंडामा घर बनाइरहेका रमण साह हेटौंडा सिमेन्ट पाउन ‘सोर्सफोर्स’ नै लाउनुपर्ने अवस्था रहेको गुनासो गर्छन् । उनले आफ्नो घरको छत ढलानमा हेटौंडा सिमेन्ट प्रयोग गर्न खोज्दा पाउँदै नपाएपछि निजी कम्पनीको सिमेन्ट प्रयोग गर्न बाध्य भएको गुनासो सुनाए

स्थानीयका अनुसार यसअघि पनि हेटौंडाकै अर्को एउटा कम्पनीले आफ्नो ब्राण्डिङ प्रयोजनमा यही ‘शुत्र’ प्रयोग गरेको थियो । यसो किन हुन्छ ? धेरैलाई थाहा, ‘हेटौंडा सिमेन्ट’ अझै पनि सबैभन्दा बढी गुणस्तरीय र विश्वासिलो मानिन्छ ।

 

तर, नामले नै अब्बल रहेको हेटौंडा सिमेन्टको उत्पादन र बजार समायानुकुल विस्तार भएन । जसले गर्दा हेटौंडा सिमेन्टको बजार खुम्चियो, अरु सिमेन्टले बजार फैलाए ।

पुरानो भवन, पुरानै प्रविधि र पुरानै ग्राहकका बीचमा हेटौंडा सिमेन्ट आफ्नो अस्तित्व जोगाउन संघर्ष गर्दैछ । यसको नाम र विश्वास अझै फैलिन त पाएको छैन, तर पनि यसप्रति प्रयोगतर्काको विश्वास अझै मरेको छैन ।

किन भयो अब्बल ?

धेरैलाई थाहा नहुन सक्छ, हेटौंडा सिमेन्ट सरकारी उद्योग हो । यसले ‘शक्ति’ नामको ब्राण्डमा सिमेन्ट उत्पादन गर्छ । यही नामको फाइदा उठाउन ‘शक्ति’ को अघि र पछि अन्य शब्द थपेर सिमेन्ट उत्पादन गर्ने कम्पनी पनि प्रशस्तै छन् ।

तर, धेरैले यहाँको उत्पादनलाई ‘हेटौंडा सिमेन्ट’ भनेर नै चिन्छन् । यो सिमेन्ट नेपालमा उत्पादन हुनेमध्ये सबैभन्दा गुणस्तरीय हो भन्नेमा सायदै कसैलाई आशंका होला ।

यसको कारण के हो त ? उद्योगका प्रशासन विभाग प्रमुख गणेश कोइराला भन्छन्, ‘उत्पादनका क्रममा गुणस्तरमा कुनै पनि सम्झौता गर्दैनौं । हामीलाई सरकारी कम्पनी भएकाले सुरुदेखि नै विश्वास बढी गरिन्छ । त्यसलाई कायम राख्नु नै हाम्रा लागि चुनौती हो ।’

उद्योगका एक इञ्जिनियरका अनुसार थोरै रासायनिक वा गुणस्तर मापदण्ड नपुगेका सिमेन्टलाई ल्याबले अस्वीकार गर्छ । ल्याबले हुँदैन भनेका सिमेन्ट बोरामा भरिँदैन, सिधै डम्पिङ गरिनछ । यसो गर्दा गुणस्तरहीन सिमेन्ट बजारमा पुग्दैन ।

निजी उद्योगमा ल्याबले ‘नेगेटिभ’ देखाए पनि नाफाका लागि बजार पठाउने गर्दा गुणस्तरमा प्रश्न उठ्ने गरेको उनको तर्क छ । हेटौंडा सिमेन्टको अर्को विशेषता हो, उद्योगको कुनै पनि आफ्नो भण्डारण केन्द्र छैन । बन्दाबन्दै ताजा सिमेन्ट बजार पुग्छ । बजार पुग्न नपाई त्यो सिमेन्ट निर्माणस्थलमा पुग्छ । किनभने हेटौंडा सिमेन्ट मागअनुसार पाउन मुस्किल छ । पुगेपछि लुछाचुँडी हुने नै भयो ।

सोर्सफोर्स र कालोबजारीको कनेक्सन !

जनकपुरबाट आएर हेटौंडामा घर बनाइरहेका रमण साह हेटौंडा सिमेन्ट पाउन ‘सोर्सफोर्स’ नै लाउनुपर्ने अवस्था रहेको गुनासो गर्छन् । उनले आफ्नो घरको छत ढलानमा हेटौंडा सिमेन्ट प्रयोग गर्न खोज्दा पाउँदै नपाएपछि निजी कम्पनीको सिमेन्ट प्रयोग गर्न बाध्य भएको गुनासो सुनाए । ‘पिल्लरका लागि त बल्ल बल्ल पाएँ,’ उनले भने, ‘छतका लागि धेरै दिन कुर्नुपर्ने भयो अनि अर्को प्रयोग गर्न कर लागिहाल्यो ।’

उद्योग भने डिलरहरुबाट नियमित वितरण भए पनि माग उच्च भएकाले त्यस्तो गुनासो आउने गरेको स्पष्टीकरण दिन्छ ।

उद्योगबाट उत्पादन नहुँदै मागले घेरिने भएकाले यसलाई बजारको कुनै चिन्ता छैन । बरु हेटौंडा सिमेन्टको विश्वसनीयता उच्च हुँदा यसको कालोबजारी भने हुने गरेको छ ।ग्राहकले बढी मूल्य पनि तिर्न तयार हुँदा उदोगका कर्मचारी र डिलरवालाहरुको सेटिङमा उद्योगबाट उत्पादन भएका सिमेन्ट कालोबजारी हुने गरेको छ ।

हेटौंडा सिमेन्ट उद्योगको आफ्नै इतिहास छ । हेटौंडाको लामसुरे हाइटमा ०३२ सालमा स्थापना भएको हो, यो उद्योग । व्यवसायिक उत्पादन भने ०४२ बाट मात्रै सुरु भयो ।

सिमेन्टको जग बसाल्ने उद्योग

एशीयाली विकास बैंक (एडीबी)को सहयोगमा स्थापित यो उद्योगको उद्घाटन तत्कालीन राजा वीरेन्द्र आफैं पुगेर गरेका थिए । त्यतिबेला नेपालकै दोस्रो ठूलो उद्योगका रुपमा परिचित थियो हेटौंडा सिमेन्ट उद्योग ।

उद्योगबाट जब उत्पादन सुरु भयो, तव मात्र देशभित्र सिमेन्ट उत्पादनको सम्भाव्यता पुिष्ट भयो । भारतीय बजारको परनिर्भरतालाई तोड्न सकिने आधार यसैबाट मिल्यो ।

हेटौंडा सिमेन्टले बसाएको जगमा देश सिमेन्टमा आत्मनिर्भर बन्ने बाटोमा छ । अब नेपाल सिमेन्टमा निर्यातको लक्ष्य राखेर काम गर्दैछ ।

ठूला आयोजनाको विश्वासनेपालका ठूलो संरचना निर्माणमा भारतीय सिमेन्टको दबदवा तोड्न सफल रह्यो यो सिमेन्ट । वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रदेखि शिक्षण अस्पताल महाराजगञ्जका नयाँ भवनहरु यसैबाट बनेका हुन् । अहिले निर्माणधीन अपर तामाकोशी परियोजनामा पनि हेटौंडा सिमेन्टको उपयोग भएको छ ।

सरकारी संरचनामात्रै हैन, विभिन्न निजी अर्पाटमेन्ट, जिनेश कम्प्लेक्स, विद्यालय, अस्पताल, मल तथा तारे होटलहरु बनाउन पनि हेटौंडा सिमेन्ट प्रयोग भएको छ । तत्कालीन ऊर्जामन्त्री राधा ज्ञावालीले उद्योगलाई ‘अपर तामाकोसीलाई एकमुष्ट रुपमा यति परिमाण सिमेन्ट दिनू’ भनेर लेखेको पत्र अझै उद्योगमा सुरक्षित छ । यो परिमाण उद्योगको क्षमताभन्दा बाहिरको थियो । यो विश्वास गुणस्तरकै कारण हात परेको उद्योग बताउँछ ।

प्रशासन विभाग प्रमुख कोइरालाका अनुसार हेटौंडा सिमेन्टको माग हेटौंडामा मात्रै हैन, काठमाडौं र पोखरा लगायतका शहरमा अत्यधिक छ । तर, माग अनुसार उत्पादन दिन उद्योग असक्षम छ । मागको ओइरो छ, तर सिमेन्टको उत्पादन सीमित छ ।

छत तथा पिल्लर ढलानको काममा मात्रै भएपनि हेटौंडा सिमेन्ट उपयोग गर्न पाइयोस् भन्ने ग्राह अत्यधिक छन्, उद्योगका । तर, जनअपेक्षा पूरा गर्न उद्योगलाई सजिलो छैन ।

ज्युँको त्युँ छ क्षमता

उद्योगको दैनिक उत्पादन क्षमता ७ सय ५० मेट्रिक टन हो । वर्षमा २७ लाख बोरा उत्पादन गर्ने क्षमता भए पनि अहिले मुस्किलले २१ लाख बोरा उत्पादन गरिरहेको छ ।

उद्योगले आफ्नो पूर्ण क्षमतामा उपयोग गर्न सकेको छैन । कोइराला उद्योग विभिन्न समस्याको जालोभित्र जेलिएको बताउँछन् ।

ऊर्जा संकटबाट बाहिर निस्कँदा केही सास फेर्न पाएको उद्योग यही अवस्थामा रहिरहन चाहँदैन । आफूभन्दा पछि आएका उद्योगले आफ्नै नाम प्रयोग गरेर ठूलो क्षमतामा बजार विस्तार गरिरहँदा हेटौंडा सिमेन्टको अवस्था थप जर्जर बन्दैछ । उद्योग उत्पादन क्षमता विस्तार नगरे संकटमा फस्ने अवस्था पुगिसकेको छ ।

पुरानो प्रविधि, झन्झटिलो प्रक्रियाविसं २०४२ सालमा जोडिएका धेरै मेसिन काम नलाग्ने भइसके । चलिरहेका मेसिन पनि बिग्रिरहने समसया छ । त्यतिबेला प्रयोग भएका मेसिनका ब्राण्डहरुले उत्पादन बन्द गरिसके । जसका कारण मर्मत गर्दा पाट्र्स पाउन कठीन छ । मेसिनहरु फेर्नु र अपग्रेड गर्नुपर्ने अवस्थामा पुगेका छन् ।

उद्योगका अनुसार सबैभन्दा बढी समस्या उद्योगलाई सार्वजनिक खरिद ऐनका कारण छ । ‘हामी यो मेसिन बिग्रन्छ होला भनेर पहल्यिै पार्टस् खरिद गर्न सक्दैनौं, कुनै दिन अचानक मेसिन बिग्न्छ अनि हाम्रो उत्पादन एकैपटक बन्द हुन्छ,’ कोइराला भन्छन्, ‘त्यसपछि हामी खरिद प्रक्रिया थाल्छौं । यो प्रक्रिया पुरा गर्दा ३ महिनासम्म उत्पादन प्रभावित हुन्छ । हामी हरु समयमा पूर्ण क्षमतामा चले पनि कहिलेकाँही आउने प्राविधिक समस्या समाधानमा प्रक्रियामा अल्झिनुपर्छ ।’

उद्योगको बासी प्रविधि नै सबैभन्दा ठूलो चुनौति रहेको बताउँछन् उद्योगका प्राविधिकहरु । उद्योगको क्षमता विस्तार गरेर दैनिक २ हजार टनभन्दा माथि बनाए मात्रै प्रतिस्पर्धी ढंगबाट बजार विस्तार गर्न सकिने उद्योगको निश्कर्ष छ

त्यतिमात्रै हैन, सार्वजनिक खरिद नियमावलीले भन्छ, ‘सबैभन्दा सस्तो समान किन्नू । तर, आजभोलि चिनियाँ कमसल सामान आपूर्ति गर्ने कम्पनीले गुणस्तरहीन सामाग्री दिएर हैरान छ ।

‘सस्तो समानको टेण्डर स्वीकृत गर्नुपर्छ,’ उनले भने,‘सस्तो समान किनेर ल्यायो, एक–दुई दिन चलाउँदा नै बिग्रेर हैरान भइन्छ ।’ अब उद्योगका लागि खरिद नियमावली केही व्यवहारिक तवरले संशोधन गर्नुपर्ने माग हेटौंडा सिमन्टको छ । त्यसो भएमा मात्रै सरकारी उद्योगले निजी उद्योगलाई टक्कर दिन सक्ने तर्क उद्योगका अधिकारीहरुको छ ।

हजार वर्षलाई पुग्ने खानी

हेटौंडा सिमेन्टसँग अहिले चारवटा चुनढुंगा खानी छन् । धादिङको जोगिमारा खानीको सबैभन्दा स्तरी चुनढुंगा हो । यसका ५० प्रतिशत ढुंगा सिमेन्ट बनाउन योग्य हुन्छन् । यस्तै मकवानपुरमै ओखरे, मजुवा, र भैँसे गरी ३ वटा खानी पनि छन् । उद्योगका लागि चाहिने रातोमाटो उद्योग परिसरकै डाँडाबाट खनिन्छ ।

यी खानीलाई हजार वर्षभन्दा बढी खनिरहे पनि त्यहाँको चुनढुंगा सकिँदैन भन्ने अध्ययन रिपोर्ट पनि उद्योगसँग सुरक्षित छ । खानीको क्षमता उच्च भएपनि उद्योगको क्षमता स्थापना भएदेखि जहाँको त्यहीँ छ ।

खानी क्षेत्रमा स्थानीय जनताको अवरोध पनि कम्पनीले बेहोरिरहनुपर्छ । विभिन्न माग गर्दै ढुंगा ओसर्न स्थानीयबासीले गर्ने अवरोधले पनि उत्पादनमा असर गर्छ ।

चुनौतिबीच सम्भावना पनिकेही समयअघिसम्म उद्योगको चिम्नीबाट निस्कने धुलोको समस्या पनि उस्तै थियो । तर, अहिले ‘रिभर्स’ गर्ने प्रविधि राखेर धुलो नियन्त्रण गरिएको छ । त्यसरी रिभर्स गरेर जम्मा गरिएको धुलोलाई फेरि उपयोग गरेर उद्योगले नाफा कमाइरहेको छ ।

यो प्रविधि नलगाउँदासम्म हेटौंडा क्षेत्रलाई सिमन्ट उदोगले प्रदुषित बनाएको थियो, स्थानीयको बिरोधका कारण पटक–पटक उद्योग बन्द हुने अवस्था दोहोरिएको थियो । बल्ल यो समस्या उद्योगले पार लगाएको छ र उडेर जाने धुलो नै संकलन गरेर सिमेन्ट उत्पादन भइरहेको छ ।

तर, पनि उद्योगको बासी प्रविधि नै सबैभन्दा ठूलो चुनौति रहेको बताउँछन् उद्योगका प्राविधिकहरु । उद्योगको क्षमता विस्तार गरेर दैनिक २ हजार टनभन्दा माथि बनाए मात्रै प्रतिस्पर्धी ढंगबाट बजार विस्तार गर्न सकिने उद्योगको निश्कर्ष छ ।

तर, आर्थिक समृद्धिको एजेण्डा बोकेर हिँडे पनि वर्तमान सरकारले खिइँदै गरेको हेटौंडा सिमेन्टलाई करोडौं खर्चिएर उत्पादनमा अब्बल बनाउला भन्नेमा कसैको विश्वास देखिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment