Comments Add Comment

भरतपुर महानगरः रेनु-प्रचण्ड राजनीति

गतवर्ष भएको स्थानीय तहको निर्वाचनमा देशका ७५३ स्थानीय तहमध्ये सबैभन्दा चर्चित बन्यो भरतपुर महानगर । देशभित्रबाट मात्रै होइन, विदेशबाट समेत भरतपुरका विषयमा निकै चासोका साथ हेरिएको थियो । भरतपुर यसकारण चर्चित बन्यो, पहिलो भरतपुर महानगरपालिकाको मेयर पदमा कांग्रेसको समेत सर्मथनमा प्रचण्डपुत्री रेनु दाहाल उम्मेदवार बन्नु ।

प्रचण्डको राजनीतिक उत्तराधिकारी पनि रेनु दाहाल नै हुन् भन्ने सर्वसाधारणसम्मको बुझाइका कारण पनि देशविदेशमा भरतपुर महानगर चर्चाको शिखरमा रह्यो । अर्को, मतगणनाका क्रममा मतपत्र च्यातिएपछिको अवस्था । नेपाली कांग्रेससँगको गठजोडबाट भएको निर्वाचन, मतगणनाकै क्रममा मतपत्र च्यातिएपछिको अवस्था, सोपश्चात तत्कालीन एमालेद्वारा पदभार ग्रहण नै बहिस्कार, कार्यपालिकामा कांग्रेसको समेत मत खाँदै एमाले बहुमतमा पुग्नुर र पुनः केहीदिनभित्रै एमाले माओवादी मिलेपछिको अप्रत्यासित मिल्दो संयन्त्र । यी सबै घटनाक्रम राजनीतिक थिए ।

राजनीतिको खेल केन्द्रमा हेरिरहेका चितवनवासीले यी घटनाक्रमलाई नजिकबाट आँखै अगाडि नियाले । यी घटना सायद भरतपुरका जनताको मानसपटलमा अब धुमिल हुन थाले होलान् ।

निर्वाचनको समयमा मेयरका उमेद्वार रेनु दाहालले भरतपुर आफ्नो घर भएको र पुनः एकपटक घर फर्किएको बताइन् । भरतपुर महानगरमा रेनुको उम्मेदवारी मंसिर हुने केन्द्रीय संंघको निर्वाचनमा प्रचण्डको उम्मेदवारीको पूर्वतयारीका रुपमा हेरिएको थियो । स्थानीय तहको निर्वाचनले रेनु दाहाललाई मात्रै फाइदा गरेन, संघीय निर्वाचनमा प्रचण्डलाई पनि भारी मतले बिजयको पगरी गुथाइदियो ।

जनप्रतिनिधिविहीन अवस्था, बिकासको तीव्र जनताको चाहना, स्थिर केन्दि्रय सरकार कल्पना गरिरहेका आम नेपाली जनताजस्तै चितवनका जनताको अपेक्षा उही नै थियो । स्थानीय निर्वाचन पश्चात भएको संघीय संसद र प्रदेशको निर्वाचनमा पनि देशैभर बाम लहर सिर्जना भयो । नारा थियो- स्थिर सरकार र आर्थिक समृद्धि ।

निर्वाचनपछिको डेढ वर्षको राजनीतिक स्थिति

केन्द्रीयरुपमा बाम गठवन्धन र केपी शर्मा ओली सरकारका पक्ष विपक्षमा बहस जारी नै छ । यद्यपि जनचाहनाअनुरुप सरकारले काम गर्न सकेन भन्ने गुनासो बग्रेल्ती मैदानमै छरपस्ट भइरहेको छ । पक्षका भन्दा विपक्षका आवाज बलिया देखिन्छन् । सरकारको ढुकुटी रित्तिएको समयमा बनेको बाम सरकार र यसका गतिविधिले पक्कै पनि तलसम्मै असर गरेको छ ।

संघीय प्रणाली, नीतिहरु, बिभिन्न तहहरुको खटनपटन र पुरानै तरिकाको सरकारी कर्मच्ाारीको शैंली र परिपाटीलाई पनि पृष्ठभूमिमा राखेर सरकारको समिक्षा हुनु न्यायोचित होला ।  सरकार र सम्वद्ध व्यक्तिहरु सरकार सञ्चालनको पहिलो बर्ष भएकाले सबै विषय एकैपटक गर्न असम्भव भएको प्रष्ट्याइरहेका छन् ।

राम्रा र आशालाग्दा पक्ष पनि प्रशस्तै छन् । अघिल्ला वर्षहरुमा भन्दा राजश्व संकलन तीव्र गतिमा भएको छ । विभिन्न विकासका योजनाहरु अगाडि बढिरहेका छन् । संघीय प्रणालीमा आवश्यक नीति तयार भइरहेका छन् । बिगि्रहाल्यो भन्ने केही छैन । तर पनि जुनखालको जनताको अपेक्षा हो, हृवात्तै परिवर्तन देखिने गरी नहुँदा दुईतिहाइमा पनि किन ढिलाइ भन्ने प्रश्न आउनु स्वाभाविक हो ।

भरतपुरको राजनीति

राष्ट्रिय राजनीतिको असर प्रदेश हुँदै स्थानीय तहमा पनि देखिनु स्वाभाविक हो । मेयर रेनु दाहालका लागि भरतपुरमा कोही प्रतिपक्ष छैनन् । तर, नेपाली कांग्रेसको केन्द्रीय राजनीति र रणनीतिले भरतपुरलाई पनि केही अप्ठेरो पक्कै पारेको देखिन्छ ।

मेयर रेनु दाहालले आफू केन्द्रमा बसेर सबैलाई सामञ्जस्य गर्न र केही आँटिला र अडिला कठोर निर्णयहरु गर्न जरुरी देखिन्छ

भरतपुर महाननगरको कुर्सीमा पदस्थापन गर्दैगर्दा कांग्रेसको चारतारे झण्डा अगाडि-अगाडि फरफराइरहेको तत्कालीन सन्दर्भ र डेढ वर्षपछिको माहोल भिन्नै छ । यतिबेला कम्युनिस्ट एकता भइसकेको सन्दर्भमा आफ्नै हँसिया हथौडा र सूर्य चिन्हलाई एकै स्थानमा राख्नुपरेको छ भने कांग्रेसको चारतारेको मतको अवमूल्यन पटक्कै गर्न नमिल्ने स्थिति छ । यो परिवेशलाई सामञ्जस्य गर्न सके भरतपुरको बिकासका लागि साँच्चै कोशेढुङ्गा सावित हुने अवस्था पनि छ ।

नेपाली कांग्रेसबाट जबर्जस्त सिर्जना गरिएका केही अडानहरुका कारण भरतपुर महानगरपालिकी मेयर रेनु दाहाल अप्ठ्यारोमा छिन् ।  विकासमा बाधक बन्न हुन्न र त्यसो गरिए आफै जनताबाट छाँयामा परिन्छ भन्ने काग्रेसका अधिकांश नेताको बुझाई र भनाई छ, तर व्यवहारमा त्यो प्रकट भएको छैन ।

मेयर रेनु दाहालले भनेजस्तै भरतपुरमा प्रतिपक्ष हुँदैनथ्यो भने अहिलेको सिटी हल र रंगशालाको विषयमा लफडा र तिकडमहरु आउने थिएनन् । कांग्रेसले आफूलाई साझेदार भन्दा पनि प्रतिपक्ष बनाउने प्रयास गरेको अनुभूति यी पूर्वाधार निर्माणमा भैरहेको अवरोधले देखाउँछ ।

प्रतिपक्ष बन्दा राजनीतिक मुद्दा र बार्गेनिङमा फाइदा होला, तर भरतपुरको विकासका लागि बाधक नै हुनेछ ।  धेरैजसो वडाअध्यक्षहरु व्यक्तिगतरुपमा मेयरप्रति नरम नै भएकाले मेयरको पाइला चलाइमा कांग्रेसले त्यति विध्न भाँजो हाल्न सक्ने देखिन्न ।

अर्कोतर्फ पूर्वमाओवादी र पूर्वएमालेवीच पनि पूर्णरुपमा एकता नभई सक्दा भरतपुरको विकासलाई पनि असर गरिरहेको देखिन्छ । नेकपाका केही नेता-कार्यकर्ता रेनुले के गर्छिन् हेर्नुछ भन्ने पक्षमा छन् । एकथरी प्रचण्ड र रेनुका कारण अब हाम्रो पालो आउँदैन, किन हामीले सहयोग गर्नुपर्‍यो भन्ने पनि छन् ।

यो राजनीतिक परिस्थितिमा मेयर रेनु दाहालले आफू केन्द्रमा बसेर सबैलाई सामञ्जस्य गर्न र केही आँटिला र अडिला कठोर निर्णयहरु गर्न जरुरी देखिन्छ ।

विकासको अवस्था र मेयर

गएको १४ महिनामा मात्रै भरतपुर भित्रका ९५ किलोमिटर भन्दा बढी सडक कालोपत्रे भएर बिकासको आशा जगाएको छ । अन्य ६५ किलोमिटर सडक व्यवस्थित पनि भएका छन् । जसमा जनसहभागिता निकै उत्साहप्रद देखियो ।

जहाँ पायो, त्यहीँ पार्किङ गर्ने बानी परेका हामी अहिले एउटा निश्चित स्थानमा त जाने बानीको विकास गर्दैछौं । तीनपाङ्ग्रे सवारीका साधनको रुट व्यवस्थापन भएपछि स्वयम् भरतपुरवासीले महसुस गरिरहेका छन् कि यसअघि सडक कस्तो थियो ?

भरतपुर नगरको फोहोरको दीर्घकालीन व्यवस्थापनका लागि फोहोरबाट उर्जा उत्पादनका लागि कोरियाली कम्पनीसंग अनुदानमै सम्झौता भइसकेको छ । बजार व्यवस्थापनकै क्रममा तरकारी तथा फलफुलको थोक बजार क्षेत्रपुरमा सारिएको छ । यो निजी स्तरबाट गरिएको हो, जुन खालको सहयोग समन्वय भरतपुर महानगर र स्वयम् वडाअध्यक्षहरुले गरे, त्यसको परिणाम निकै छोटो समयमा व्यवस्थित हुँदै गरेको बजार चितवनवासीले देख्न पाए ।

अत्यन्तै चर्चामा रहेको अटोल्याण्ड पनि पक्कै निर्माण हुने देखिएको छ । भरतपुर महानगरले जग्गा दिने वडा नं ३ मा निर्माण गर्ने भनि जग्गाको समेत निर्णय गरिसकेको छ भने अन्य प्रक्रिया अगाडि बढेको छ । यो पनि भरतपुरका लागि गौरवकै योजना हुनेछ ।

यीबाहेक भरतपुर अस्पतालमा महिला तथा बृद्धहरुलाई ओपीडी टिकट नि:शुल्क गर्नु पनि महत्वपूर्ण पक्ष हो । सरकारी जग्गाको खोजी गरी संरक्षण गर्ने अभियान थाल्नु, आवश्यक कानुन निर्माण गर्नु, दूध उत्पादक किसानलाई लिटरमा २५ पैसा अनुदान दिइनु, करमा सबैको सहभागिता गराउन उद्योग वाणिज्य संघ र उद्योग संघलाई सस्थागत रुपमै साथमा लिनु र व्यावसायीहरुकै सहभागितामा निर्णय गर्नुलाई पनि उपलब्धि नै मान्न सकिन्छ । त्यसैगरी महिला, समस्यामा परेका बालबालिका र वृद्धवृद्धासँग मेयर लगायतका कार्यक्रम र निर्णयहरुले महानगरलाई सामाजिक र संस्थागत विकासमा टेवा पुर्‍याउने  नै देखिन्छ ।

मेयरको प्रभाव राजनीति, बिकास र विदेशमा कस्तो छ भन्ने केही संकेत देखिइसकेका छन् । मेयर रेनु दाहालको चीन  र श्रीलंका भ्रमणका क्रममा मेयरलाई गरिएको सम्मान र लिइएको चासोले भरतपुरप्रतिको चासोलाई झल्काउँछ ।

रोजीरोटीका लागि भन्दै सडकमा व्यापार गर्न आउनेहरु पुनः सल्बलाउन थालेका छन् । यसले नगरको शान बढ्दैन । त्यसले भिडभाडदेखि फोहोर उत्पादन मात्रै गरिरहेको हुन्छ । दुर्घटनाको कारक पनि बन्न सक्छ । यही तथ्यलाई मध्यनजर गर्दै  भरतपुरको सडकका मान्छे हिँड्ने स्थानमा कम्तिमा पसल नराख्न सबै राजनीतिक दलहरु एकजुट हुनुपर्छ ।देशभर शहरहरु अव्यवस्थित भए भनिरहेको समयमा रेनु दाहाल आफै कस्सिएर चितवनको भरतपुर, नारायणगढको मुख्य बजार व्यवस्थित गर्न शुरु गरिएको अभियानलाई मूर्त रुप दिन जरुरी छ ।

भरतपुरको आफ्नै बजेटका अलावा विभिन्न मन्त्रालयसँगको समन्वयमा पनि विकासका कामहरु शुरु भइरहेका छन् । केहीदिन अगाडि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को नेतृत्वमा भौतिक योजना तथा यातायात मन्त्री आफैं उपस्थित भएर पूर्वाधार विकासका योजना सार्वजनिक गर्नुलाई पनि आफैंमा महत्वपूर्ण मान्न सकिन्छ । देवघाटमा शवदाह गृह निर्माण शुरु भएको छ ।

सिटी हलका लागि भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकै जमीन अत्यन्त उपयुक्त र सान्दर्भिक पनि छ ।कुनै राजनीतिक आग्रह, पूर्वाग्रह नराखी तत्काल यही स्थानमै कांग्रेसकै नेतत्वमा निर्णय गर्नु उपयुक्त र उत्तम विकल्प हो । नाम के राख्ने भन्ने किचलो हो  र नेताकै नाम जोड्नुपर्ने हो भने कांग्रेस कम्युनिष्ट दुवैका ऐतिहासिक नेताका नामबाट राख्दा पनि फरक पर्दैन

लायन्स चोकस्थित पुरानो फलफूल तथा तरकारी बजारमा बहुतले बहुउपयोगी कम्प्लेक्सको डिजाइन प्रक्रिया जारी छ । पुल्चोकदेखि गोन्द्राङसम्मको सडक ६ लेनको बनाउन प्रक्रिया शुरु भइसकेको भरतपुर महानगरले जनाएको छ । चक्रपथ शिलान्यास भइसकेको छ ।

जनता उत्साही छन् । तर, यसलाई मूर्तरुप दिन स्थानीयदेखि केन्द्रसम्म मिलाउनुपर्ने विषयहरु तत्कालन मिलाउन जरुरी देखिन्छ । भरतपुरको बिकासका लागि राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय क्षेत्रका विज्ञहरुसँग छलफल र अन्तरक्रियाहरु भइरहेका छन्, जसले महानगरको बृहद गुरुयोजना बनाउन  र व्यवस्थित शहर बनाउन पक्कै पनि भूमिका खेल्ने देखिन्छ ।

भरतपुरका जनताले मेयरसँग पूल पुलेसा, सडक चौडा गर्ने, पोलमा बत्ती हाल्ने, नियमित सरसफाई गर्ने, रुख रोप्ने, कार्यालय सञ्चालन गर्ने, दुईचार करोडका योजना निर्माण गर्ने काम मात्रैको अपेक्षा गरेका होइनौं भनिरहेका छन् । यी केही नियमित र केही अलि फरक हुन् । तर, गर्नैपर्छ ।

भरतपुरलाई केन्द्रमा राखेर सिङ्गो चितवनको विकास र चितवनलाई टेकेर समग्र देशको अर्थ राजनीतिलाई असर गर्ने खालका विकास र रणनैतिक कामहरुका लागि पनि हो भरतपुर महानगरको मेयरको भूमिका । पक्कै पनि चितवनकै बिकासका लागि  र स्वयम् मेयर रेनु दाहाल आफ्ना लागि पनि गतिलो अवसर हो यो । रेनु दाहालका अगाडि अवसर र चुनौतीहरु तेर्सिएका छन् । उनको आफ्नो राजनीतिक इतिहास र वर्तमान त छँदैछ, यसमा उनका पिताको निकै ठूलो योगदान पनि छ ।

लुकाएर लुक्दैन र लुकाउनु पर्ने पनि छैन उनी प्रचण्डकी छोरी हुनु पनि भरतपुरका लागि अर्को महत्वपूर्ण पक्ष हो । स्वभावैले उनी प्रचण्डकी राजनीतिक उत्तराधिकारी पनि हुन् ।

अल्झन र अबको बाटो

अब भरतपुरलाई कसरी दीर्घकालीन रणनीतिको विकासमा लैजान सकिन्छ भन्ने सोच आउनु नै जिम्मेवार जनप्रतिनिधि र राजनीतिक दलको दिगोपना हो । यतिबेला मेयर रेनु दाहालले ५० करोड हातमा लिएर सिटी हल बनाउने ठाउँ खोज्दै भौंतारिनु परेको छ ।  तर, कांग्रेस मुठ्ठी फुकाउन नदिने अभियानमै लागिपरेको देखिन्छ । यो भरतपुरका लागि मात्रै होइन, मध्यनेपालकै जनताका लागि दुर्भाग्य हुनेछ ।

सिटी हलका लागि भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकै जमीन अत्यन्त उपयुक्त र सान्दर्भिक पनि छ । विघौं विगाहा जमीन अस्पताल, मन्दिर, चर्च, क्लब, निजी संघसंस्थाले चर्चिरहेको समयमा नगर प्रमुखले जग्गा पाइनँ, गर्न दिएनन् भन्ने बिषय बोल्दै हिँड्नुपर्ने अवस्था नगरवासीकै लागि दुर्भाग्य मात्रै हो । राजनीतिक दलका लागि अभिशाप हो ।

कुनै राजनीतिक आग्रह, पूर्वाग्रह नराखी तत्काल यही स्थानमै कांग्रेसकै नेतत्वमा निर्णय गर्नु उपयुक्त र उत्तम विकल्प हो । नाम के राख्ने भन्ने किचलो हो  र नेताकै नाम जोड्नुपर्ने हो भने कांग्रेस कम्युनिष्ट दुवैका ऐतिहासिक नेताका नामबाट राख्दा पनि फरक पर्दैन ।

त्यस्तै, अन्तराष्ट्रिय स्तरको क्रिकेट रङ्गशाला । यो पनि भरतपुरवासीको सपनाको योजना हो । मेयर रेनु दाहालका अनुसार त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको जग्गाको विषयमा त्रिपक्षीय सम्झौता भइसकेको छ ।

हालको कृषि तथा वन विज्ञान विश्वविद्यालय समेत रहेको छेउको जमीन अति उत्तम र विकल्परहित हुनेछ । यसमा प्रमुख प्रतिपक्ष कांग्रेस नै माथि उक्लिएर निर्णय गर्दा कांग्रेसको मात्रै होइन, आम चितवनवासीको भलो हुनेछ । भोलि कांग्रेसले चुनावी मुद्दा पनि बनाउन पाउँछ ।

अर्को विषय छ रिङ रोडको । चुनावी अभियानका क्रममा दिनहुँ भाषणमा सुनिने चक्रपथ शिलान्यास भइसकेको छ । तर, केही प्राविधिक समस्या पनि छन् । यसको निराकरणका लागि सबै राजनीतिक पार्टीहरु एकजुट हुन जरुरी छ ।

महानगरको ट्राफिक व्यवस्थापनका लागि अब छिट्टै आकाशे पूलहरु निर्माण गर्नुपर्ने हुन्छ । पुल्चोकदेखि गोन्द्राङसम्मको सडक फराकिलो बनाउने अभियान शुरु भइसकेको छ ।

अत्यन्तै चर्चामा रहेको अटोल्याण्डका लागि भरतपुरले जग्गा समेत तोकिसकेको सन्दर्भमा यो परियोजना सम्पन्न गर्न सबै पक्ष लाग्नु जरुरी छ । पार्क, उद्यान लगायतका मनोरन्जन स्थलहरु वडापिच्छे बनाउने अभियान शुरु भएको छ, यसलाई अझ फराकिलो बनाई एक वडा एक पर्यटकीय स्थलको विकास प्राथमिकतामा राखेर काम गर्दा सबै नगरवासीलाई फाइदा हुन्छ ।

त्यसैगरी चितवन पर्यटकीय पहिचानसहितको जिल्ला हो । पर्यटन, धार्मिक, स्वास्थ्य, शिक्षा, कृषि आदि एक से एक विकास गर्नुपर्ने, सहयोग र प्रवर्द्धन गर्नुपर्ने विषय चितवन र अझ त्यसमा पनि भरतपुर केन्दि्रत छन् ।

यहाँका नारायणी, राप्ती अन्तराष्ट्रिय स्तरको पर्यटन बजारमा बिक्न सक्दछन् । यी दुई नदीमा २४ सै घण्टा पर्यटक झुम्ने वातावरण बन्न सक्छ ।  निकुन्जको काखमा, ऐतिहासिक र धार्मिक थलोहरुको समिपमा रहेका यस्ता स्थानहरुमा चौवीसैघण्टा पर्यटक अड्याउने संरचनाहरुको बिकास गर्न अव कुनै राजनीतिक वा ज्योतिषिय साइत हेरिरहनु पर्दैन ।

विकासका लागि मिल्नुको विकल्प छँदै छैन । भरतपुरका लागि यो सुनौलो अवसर गुम्यो भने पक्ष, प्रतिपक्ष दुवैका लागि घातक हुने पक्का छ

चीनले एकजोडि बाघवाट सयौं पुर्‍याइरहेको सन्दर्भमा हामीसँग भएको विश्वकै ध्यान तान्न सफल एकसिंगे गैंडा लोप हुने हो कि भन्ने आशंका पैदा हुन थालेको छ । यसको संरक्षणसँगै पर्यटन वृद्धिका विषय अब नाराका रुपमा भित्तामा मात्रै लेखिनुहुन्न ।

पश्चिम चितवनको कुनै एक भेगलाई प्रमुख पर्यटकीय गन्तव्य बनाई त्यहाँ जंगली जनावरको कृत्रिम पूर्वाधार र वहुतले टावरको निर्माण गरी चितवन आउने सवै पर्यटक कुनै पनि हालतमै जानै पर्ने रुट निर्धारण गर्न ढिला गर्नु हुँदैन । चितवनको समग्र पर्यटनलाई पोखरा, लुम्बिनी र मुक्तिनाथसँग जोड्ने रणनीति बनाई सोहीअनुसार कार्यक्रम तुरुन्त गर्न सकिन्छ ।

सरकारले घोषणा गरेको पर्यटन वर्ष ०२० मा भरतपुरमा मात्रै ३ लाख पर्यटक भित्रर्‍याउने रणनीतिमा तत्काल लाग्न जरुरी छ । भरतपुर मेघौली गरी दुईवटा विमानस्थल आफ्नै नगरमा रहेको भाग्यमानी महानगरको हो भरतपुर ।

विमानस्थलको विकास र विस्तार गरी रातीमा पनि सञ्चालनका लागि ढीलो गरिनु कदापी हुँदैन । भरतपुर विमानस्थल स्तोरन्नती र विस्तारका लागि नेपाली सेनाको व्यारेक अन्यत्रै सार्ने निर्णय तत्काल गराउन आवश्यक छ । यसमा कुनै पनि दलले राजनीति गर्नु जरुरी छैन ।

कविलासदेखि गोलाघाटसम्मको प्राकृतिक र भौगोलिक बिविधताले भरिएको भरतपुरभित्रै अनाजजन्य उत्पादनका अलावा तरकारी, केरा, सुन्तला, कुखुरा, दुग्धजन्य कृषि व्यवसाय, बाख्रापालन, पाडापालन, पुष्पखेती, माछा, वंगुर आदि पनि वर्षोदेखि भइरहेका छन् । यी कृषि उपज वस्तुको प्रवर्द्धनका लागि मौसम र समय हेरेर सानाठूला प्रवद्धनात्मक मेलाहरुको आयोजना गर्न सकिनेसम्भावना छन् ।

अर्कोतर्फ, केन्द्रीय र प्रदेश सरकारसँगको समन्वयमा एकीकृत खेती प्रणाली अपनाई अनुदानको व्यवस्था गर्नु आजको आवश्यकता हो । अर्को विषय औद्योगीकरण हो । भरतपुरले नीतिमै ल्याएको ठूला होटल खोल्नेलाई सहुलियतसँगै सानाठूला उद्यमीलाई कसरी प्रवर्द्धन गर्न सकिन्छ भन्नेतर्फ ध्यान जाओस् ।

अब भरतपुर महानगरले यसअघि गरेका प्रतिवद्धता र निर्णय लागु गर्न ढीला गर्नुहुदैन । यी विषयमा भरतपुरकी मेयर रेनु दाहालले बिकासमा कोहीसँग पनि सम्झौता नगरुन् भन्ने जनचाहना छ । काग्रेसको साथ लिएर मेयर बनेकी दाहालले कांग्रेस पनि नचिढियोस् भन्ने चाहना राख्नु स्वाभाविक हो । तर, राजनीतिक परिवेश फेरिएकैले कांग्रेसले प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको विषयलाई नजरअन्दाज गर्न पनि हुँदैन ।

विकासका लागि मिल्नुको विकल्प छँदै छैन । भरतपुरका लागि यो सुनौलो अवसर गुम्यो भने पक्ष, प्रतिपक्ष दुवैका लागि घातक हुने पक्का छ । अब पनि राजनीतिक दलले राजनीतिक स्वार्थपूर्तिका लागि मात्रै जनताको मतको उपयोग वा अपमान गर्न खोजे भने पुनः जनताले देखाइदिनेछन् ।

भोट हाल्ने वास्तविक जनताले अब कुनै राजनीतिक वाद हेर्न छाडिसकेका छन् । लामो समयको अन्योलमा, राजनीतिक तिकडम र बिकासको खाडल हेरेर जनता वाक्क भएका छन् । स्थिर सरकार र समृद्धिको नारा घन्केको सुनेरै कम्युनिस्टहरुलाई भोट पोखिएको हो । यो चार वर्षमा कम्युनिष्टहरुले गर्न सकेनन् भने उनीहरुलाई पनि कुनै बहाना बनाउने अवसर जनताले दिने छैनन् ।

काङग्रेस रचनात्मक प्रतिपक्ष बनेर विकासको सारथी नबनी मात्रै खोंचे थाप्नै र अड्काउने काममात्रै गर्‍यो भने उसले पनि पुनः उठ्ने कल्पना नगरे हुन्छ । जनता जनार्दन हुन्, भेडा होइनन् ।

(लेखक स्थानीय पत्रकार हुन्  ।)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment