११ मंसिर, काठमाडौं । मनाङ मर्स्याङ्दी क्लबले शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा मंगलबार भएको खेलमा विभागीय टिम एपीएफ क्लबलाई २–१ ले पराजित गर्दै मनाङले चौथो खेलसम्म लगातार जीत हासिल गरेको हो ।
एपीएफलाई पराजित गर्ने क्रममा मनाङका लागि अञ्जन विष्ट र अडेलाजा सोमिडीले समान एक–एक गोल गरे । त्यस्तै, एपीएफका लागि कप्तान नविन लामाले गोल फर्काएका थिए ।
खेलको १९ औं मिनेटमा सोमिडीले गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए । २७ औं मिनेटमा पेनाल्टीबाट नवीन लामाले गोल गर्दै एपीएफलाई १–१ गोलको बराबरीमा पुर्याएका थिए । तर पहिलो हाफको अन्तिम समयमा एपीएफका खेलाडीले डिबक्सभित्र ह्याण्ड गरेपछि मनाङले पेनाल्टी पाएको थियो ।
पेनाल्टीलाई सदुपयोग गर्दै मनाङका अञ्जन विष्टले टिमलाई २–१ गोलको अग्रताको स्थितिमा पुर्याए । दोस्रो हाफमा दुबै पक्षबाट कुनै गोल हुन सकेन । मनाङको चार खेलबाट १२ अंक भएको छ । पराजित एपीएफको भने चार खेलबाट दुई खेलमा पराजित, एक खेलमा जित र एक खेलमा बराबरी खेल्दै ४ अंक रहेको छ ।
लिगको दोस्रो स्थानमा भने आर्मी रहेको छ । आर्मीको ४ खेलबाट १० अंक रहेको छ । त्यस्तै, लिगको तेस्रो स्थानमा भने थ्रीस्टार क्लब रहेको छ ।
प्रतिक्रिया 4