Comments Add Comment

हिमालयन शेर्पालाई पराजित गर्दै आर्मी लिगको दोस्रो स्थानमा

१६ मंसिर, काठमाडौं । नेपाल आर्मी क्लब हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै शहीद स्मारक ए डिभिजन लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा आर्मीले हिमालयन शेर्पालाई २–१ ले पराजित गरेको हो । आर्मीको जितमा दुबै गोल कप्तान भरत खवासले गरेका थिए । यता, हिमालयन शेर्पाको लागि भने उल्रिस सिइवेले गोल गरेका थिए ।

खेलको ३२ औं मिनेटमा भरतले हेडर गोल गर्दै आर्मीलाई १–० गोलको अग्रता दिलाएका थिए । आर्मीले दोस्रो हाफमा एक गोल ग¥यो भने एक गोल खान पुग्यो ।

खेलको ८४ औं मिनेटमा कप्तान भरतले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई २–० को अग्रता दिलाए । तर खेलको ८६ औं मिनेटमा उल्रिसले सान्त्वना गोल गरे ।

जितसँगै आर्मी लिगको दोस्रो स्थानमा उक्लिएको छ । अपराजित यात्रालाई कायमै राखेको आर्मीले पाँच खेलबाट १३ अंक बनाएको हो । आर्मीले चार खेलमा जित र एक खेलमा बराबरी खेलेको हो । यता हिमालयन शेर्पा भने लिगमा पहिलो पटक पराजित भएको छ । यसअघि खेलको चार खेलसम्म शेर्पा अपराजित रहेको थियो । उसको १० अंक रहेको छ ।

जाउलाखेलको पहिलो जित

ए डिभिजन लिगअन्तर्गत आइतबार नै भएको खेलमा जाउलाखेल युथ क्लबले ब्रिगेड ब्वाइज क्लबलाई १–० गोलअन्तरले पराजित गरेको छ । योसँगै जाउलाखेल युथ क्लबले पाँचौ खेलमा आएर पहिलो जित निकालेको छ । यसअघि भएको चार खेलमध्ये ३ खेलमा पराजित र एक खेलमा बराबरीमा खेल टुंग्याएका थिए ।

हलचोकस्थित एपीएपको खेल मैदानमा भएको खेलमा जाउलाखेलको जितमा अरुज सिंह नायक बने । उनले खेलको ८८ औं मिनेटमा गोल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment