Comments Add Comment

लभ-रोमान्सः तपाईहरुको प्रेम सम्बन्ध टुट्ने त होइन ?

वैंशालु माया पिरतीमा सधै मिठास मात्र आउँदैन । बेलाबखत नसोचेको मोड पनि आइदिन्छ । अनायसै प्रेमी/प्रेमिकाको मन बद्लिन सक्छ । यस्तो अवस्थामा के गर्ने ?

विकल्प अनेक हुनसक्छन् । किनभने वैंशालु प्रेमको रुपरंग एकनास हुँदैन । कोही क्षणिक मोजमस्तीका लागि प्रेम गर्छन् । कोही देखासेखीमा प्रेम गर्छन् । कोही दिगो प्रेम गर्छन् । कति प्रेमिल जोडीलाई लाग्छ, ‘प्रेम भनेको उमेरमा गरिने रमाइलो हो ।’ कति मायालु जोडी ठान्छन्, ‘प्रेम भनेको अमर हुनुपर्छ ।’

जे-जसरी गाँसिएको प्रेम सम्बन्ध भएपनि त्यसलाई थप रसिलो र कसिलो बनाउका लागि दुवैमा विश्वास, समझदारी चाहिन्छ । जहाँ विश्वास हुन्न, त्यहाँ आशंका पैदा हुन्छ । जुन सम्बन्धमा आशंका पैदा हुन्छ, त्यो सम्बन्ध कुनै बखत दुई चिरा पर्न सक्छ ।

हरेक प्रेमसम्बन्धमा प्रेमको साथसाथै भरोसा पनि हुन आवश्यक छ । आफ्नो पार्टनरको भरोसा लाग्दैन भने उक्त सम्बन्धलाई लामो समयसम्म टिकाउन सकिदैन । प्रेमी वा प्रेमिकाको व्यवहार जब परिवर्तन हुन्छ, तब त्यसमा केही कारण हुनसक्छ ।

कारण जे पनि हुनसक्छ, उसले अर्कै पाटनरप्रति रुची जगाएको हुनसक्छ । आफुप्रति अविश्वास गरेको हुनसक्छ । आफ्नो मायामा कमी भएको हुनसक्छ ।

केही यस्ता व्यवहार छन् जसले आफ्नो प्रेमी/प्रेमिका आफुबाट टाढिन चाहेको संकेत गर्छन् । यस्तो भइरहेको छ भने बुझ्नुपर्छ कि अब हाम्रो सम्बन्धमा खटपट आउनेवाला छ ।

कैयौंपटक एक सानो गल्तीको कारणले सम्बन्ध खराब हुन सक्छ । तपाईंको स-साना गल्तीको कारण कैयौंपटक तपाईंको पार्टनरलाई कुनै अरु पार्टनरको आवश्यकता महसुस हुन थाल्छ ।

यदि आफ्ना प्रेमी/प्रेमिका टाढा भइरहेकी छिन् जस्तो लाग्छ भने बेलैमा उनलाई बुझ्ने प्रयास गरेर आफ्नो सम्बन्धमा सुधार ल्याउने तर्फ कदम चाल्नुपर्ने हुन्छ ।

१. पासवर्ड परिवर्तन गरिदिनु

यदि प्रेमी/प्रेमिकाले आफ्नो फोनको पासवर्ड बारम्बार परिवर्तन गरिरहन्छन् भने सतर्क हुनुपर्ने बेला आएको छ । बुझ्नुपर्छ कि उनले केही लुकाइरहेका छन्/छिन् । तपाईलाई आफ्नो जीवनबाट टाढा बनाउन चाहन्छन् ।

 

२. सामाजिक रुपले सकि्रय नहुनु

प्रेमी/प्रेमिकाले पहिले फेसबुक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालमा तपाईंको साथमा आफ्नो फोटो राख्ने गर्थे । तर, अहिले अचानक यस्तो गर्न बन्द गरेकी छिन् भने हुन सक्छ उनी तपाईसँग रिसाएका छन् ।

यसबाट अब उनलाई तपाईंमा पहिलेजस्तो रुची छैन र उनी तपाईंलाई मन पराउँदैनन् भन्ने बुझ्न सकिन्छ ।

३. घुम्न जाने योजना परिवर्तन गर्नु

पहिले तपाईंहरु सप्ताहन्तमा कतै घुम्न, फिल्म हेर्न वा कुनै रेष्टुरेन्टमा जानुहुन्थ्यो तर अहिले प्रेमी/प्रेमिका तपाईंसँग घुम्न जाने प्लान बनाउन छाड्छन् भने कुरा गम्भिर हुनसक्छ ।

उनले तपाईसँग कतै जानलाई बहाना बनाउन थाल्छन् वा तपाईंको साथीहरुसँग पनि भेट्न छाड्छन् भने यसको मतलब हो उनले तपाईंलाई बेवास्ता गरिरहेका छन् । उनी अब तपाईसँग कतै पनि जान चाहन्नन् । अझै यस्तो पनि हुन सक्छ कि उक्त समयमा उनी अरु नै कसैलाई भेट्न जाने प्लान गरिरहेका छन् ।

४. अरुसँग तुलना गर्नु

यदि प्रेमी/प्रेमिकाले तपाईको तारिफ गर्न छोडिदिएका छन् र अरु नै पुरुषसँग तपाईको तुलना गर्न थाल्छन् भने यसको मतलब हो अब उनी तपाईसँग टाढा गइरहेका छन् ।

उनलाई तपाईको केही पनि मन पर्दैन र हरेक कुरामा कमजोरी मात्रै खोज्न थाल्छन् भने यसले उनी कुनै अरु नै पार्टनरतर्फ आकषिर्त भइरहेको संकेत दिन्छ ।

५. धेरै झुट बोल्ने

कुनै पनि प्रेम सम्बन्धमा झुट बोलिनु गलत कुरा हो । एकअर्कासँग दुवै पार्टनरले सबै कुरा नलुकाइकन भन्नुपर्छ । यदि तपाईलाई प्रेमी/प्रेमिकाले आफुसँग हरेक कुरामा झुट बोलिरहेकी छन् भन्ने लाग्न थालेको छ भने तपाई सतर्क हुनुपर्छ । र, यो कुरा बुझ्नु पर्छ कि अब उनी तपाईंसँग प्रेम गर्दैनन् ।

यदि तपाईलाई आफ्नो प्रेमिकाको व्यवहारमा परिवर्तन भएको महसुस भइरहेको छ भने तपाई सतर्क हुनुपर्ने आवश्यकता छ र आफ्नो सम्बन्धलाई बचाउनका लागि कोसिस गर्नुपर्ने आवश्यकता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment