Comments Add Comment

कतारले खोल्न लागेको भिसा सेन्टर नेपाललाई ‘अमान्य’

१८ मंसिर, काठमाडौं । मलेसिया जस्तै कतार जाने कामदारबाट पनि स्वास्थ्य परीक्षण र भिसा प्रक्रियाका नाममा सिन्डिकेट खडा गरेर रकम असुल्न खोजिएको भन्दै नेपाल सरकारले
कतार सरकारको ध्यानाकर्षण गराएको छ ।

श्रम तथा रोजगारमन्त्री गोकर्ण बिष्टले मलेसिया कामदार पठाउने सिन्डिकेट तोडेलगत्तै ‘कतार भिसा सेन्टर’का नाममा सिन्डिकेट खडा गर्न लागिएपछि कूटनीतिक तहबाटै रोक्न खोजेका हुन् । सरकारले बिचौलिया संयन्त्र खडा गर्ने विषयमा अमान्य हुने बताएको छ ।श्रम तथा रोजगार मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत कतार सरकारलाई पत्राचार गरेको स्रोतले जनाएको छ ।

कतारसँग श्रम सम्झौता पुनरावलोकनको प्रक्रिया चलिरहेको र शून्य लागतमा कामदार पठाउने छलफल चलिरहेका बेला भिसा सेन्टरका नाममा कुनै पनि संरचना मान्य नहुने नेपालले जनाएको छ ।

महाराजगञ्जमा कतार भिसा सेन्टर कार्यालय खडा गरी अबदेखि मलेसियाको भीएलएनले जस्तै कतार जाने कामदारको सबै प्रक्रिया सो कार्यालयबाट गर्ने भनिरहेका बेला सरकारले आपत्ति जनाएको हो । हेमजङ गुरुङ, भुषण राणा लगायतका केही व्यवसायीहरु यसमा संलग्न रहेको दाबी मन्त्रालय स्रोतको छ ।

मन्त्री बिष्टले कतारसँग श्रम सम्झौता पुनरावलोकनपछि भिसा लगायतका प्रक्रिया कसरी सहज बनाउने र नेपाली कामदार शून्य लागतमा जाने ग्यारेन्टी कसरी गर्ने भन्ने सहमति हुने बताएका थिए ।

यसैबीच मलेसिया जाने नेपाली कामदारबाट अवैध असुली गरेको आरोपमा सरकारले कारवाही गरेका संयन्त्रका सञ्चालकहरुले राजनीतिक लबिङ तीब्र बनाएका छन् । उनीहरुले आफूहरुले नै मलेसियाको काम पाउनुपर्ने भन्दै नेकपा र कांग्रेसका केही नेताहरुलाई भेटेर लबिङ गरेका छन् ।

मन्त्री बिष्टले भने मलेसियासँगको श्रम सम्झौताअनुसार कामदार पठाउने प्रक्रिया चाँडै शुरु हुने तर विगतको जस्तो सिन्डिकेट मान्य नहुने बताएका छन् । नेपाली कामदारबाट एक पैसा पनि नलिने गरी सहज ढंगले कामदार पठाउने प्रक्रिया शुरु गर्ने गरि मलेसियासँग छलफल भइरहेको मन्त्रालयले जनाएको छ ।

अब स्वास्थ्य परीक्षण लगायतका कुनै पनि प्रक्रियामा सीमित संस्थाको सिन्डिकेट नरहने मन्त्रालयले जनाएको छ । मलेसिया सरकारले भिसा प्रक्रिया लगायतका संयन्त्रबारे छलफल भइरहेकाले केही समय पर्खिन मलेसियास्थित नेपाली दूतावासमार्फत सरकारलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment