Comments Add Comment

कीर्ते आरोपमा जनकपुरका महन्थ पक्राउ

२० मंसिर, जनकपुरधाम । जनकपुरस्थित रत्नसागर मठका महन्थ बैकुण्ठ दासलाई प्रहरीले पक्राउ गरेको छ ।

संस्कृत विश्वविद्यालय अन्तर्गतका हजारी जनक विद्यापीठको जग्गा कीर्ते जालसाजी गरेर बेचेको आरोपमा अदालतले पक्राउ वारेन्ट जारी गरेपछि फरार रहेका उनलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो ।

काठमाडौमा लुकिछीपी गेष्ट हाउसमा बसेको सूचनाको आधारमा महानगरीय प्रहरी अपराध महाशाखाको विशेष टोलीले बुधबार बेलुका पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी दीपेन्द्र शाहीले जानकारी दिए ।

पक्राउ परेका दासलाई काठमाडौंबाट जनकपुर ल्याउने तयारी भइरहेको उनले बताए । सरकारी कागज कीर्ते गरेको अभियोगमा जिल्ला अदालत धनुषाबाट पक्राउ पूर्जी जारी भएलगत्तै फरार रहेका दास काठमाडौंमा लुकिछिपी बस्दै आएका थिए ।

पक्राउ पुर्जी जारी भएको एक सातापछि उनी पक्राउ परेका हुन् । नक्कली लालपुर्जा र गुठी रसिद बनाई हजारीजनक विद्यापीठको २ बिघा १८ कट्ठा जग्गा अशोक शर्मा नामका व्यक्तिलाई बिक्री गरेको र उनीविरुद्द सरकारी कागज कीर्ते गरेको अभियोग लागेको छ ।

केही दिनअघि पक्राउ परेका आफ्ना सहयोगी जनकपुरधाम उप–महानगरपालिका २३ का शर्माको बयानका आधारमा सरकारी छाप दस्तखत कीर्ते गरेर गुठीको जग्गा बिक्री गर्ने कार्यमा महन्थको समेत संलग्नता रहेको खुलेको थियो ।

२ अर्बभन्दा बढी मूल्यको जनकपुरधाम उपमहानगरपालिका ८ को अढाई बिघा गुठीको जमिन कीर्ते जालसाजी गरी वैकुण्ठ दास जग्गाधनी र शर्मालाई मोही बनाइएको थियो । पक्राउ परेका महन्त माथी थप अनुसन्धान हुने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment