+
+
Shares

शब्दविना रचिएकी स्मारिका

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर २० गते १४:३३

२० मंसिर, काठमाडौं । केही समय पहिला गायिका सितु खरेलले एउटा सपना देखिन्– छोरी स्मारिका आफूसँग लाडिँदै गफ गरिरहेको । छोरीको मुखबाट निस्किएको शब्दहरुले उनलाई असिम खुशीमा डुबाइरहेका थिए । तर आँखा खुलेसँगै सीमाभन्दा परको खुशीमा ब्रेक लाग्यो । उनी हठात उठेर दौडिदै स्मारिकालाई हेर्न पुगिन् । छोरी उसैगरी मुस्कुराइरहेकी थिइन्, जसरी अघिल्ला दिन हाँस्थिन् ।

उनी छोरीले ‘ममी भोक लाग्यो’ भनेको सुन्न र आफ्नै हातले भात खाइरहेको देख्न चाहन्थिन् । तर, ३० वर्षकी स्मारिका सदा झैं हलचल नगरी ओछ्यानमा लडिरहेकी थिइन् । सितुले आफैँलाई सम्झाइन्–त्यो सपना हो, यो विपना हो । कहिलेकाँही सपनाहरु चाहना बोकेर आउँछन् र विपनाको लागि पीडा थपेर भाग्छन् । सितुले छोरीलाई लिएर दुई–तीन पटक यस्ता सपना देखिन् तर, उनलाई राम्ररी थाहा छ– विपनामा त्यस्तो सम्भव हुनेवाला छैन ।

वरिष्ठ पत्रकार सुमन खरेललाई स्मारिका छोरी नभएर भगवानजस्तो लाग्छ । यस्तो भगवान जो अति सुन्दर छ, जो केही बोल्दैन, कतै चल्दैन, केही माग्दैन, केवल हाँसी रहन्छ, आशिर्वाद दिइरहन्छ । छोरीबारे कसैसँग अलि गहिरोसँग कुरा गर्न थाल्दा उनको आँखा रसाइहाल्छ । उनले आँखा रसिलो पार्दै भने, ‘शरीरले साथ दिएसम्म हामी यो भगवानलाई माया र स्नेहले पूजा गरेर राख्नेछौं ।’

अब सुमन र सितुको अगाडि दुईवटा बाटा थिए । पिरोलिएर बस्ने कि जीवनलाई सजिलो र सुखी बनाउनतर्फ लाग्ने ? उनीहरु दोस्रो विकल्पमा लागे ।

‘रेट् सिन्ड्रोम’को मार

३१ वर्ष अघिको कुरा, सुमन जागिरमा व्यस्त थिए, सितु गर्भवती । उनीहरु पहिलो सन्तान पाउँदै थिए । एक दिन, दुई दिन गर्दागर्दै प्रसूतिको लागि अस्पताल बस्ने समय आयो । सितुले जन्माइन् । दम्पत्तीमा खुशीको सीमा रहेन । दुवैको चाहना थियो– पहिलो सन्तान छोरी होउन् । उनीहरुले छोरीको नाम राखे– स्मारिका ।

तीन वर्षपछि स्मारिकाको भाइ जन्मियो । स्मारिकाले पाइला सार्न अलि ढिलो गरिन् । मानसिक विकास हुन अलि बढी समय लाग्यो । यद्यपि, उनले बोल्न केही शब्द जानेकी थिइन् पनि । सुमन र सितुले उनलाई स्कुल भर्ना गरिदिए । तर, उमेरअनुसार व्यवहार परिवर्तन नभएकोमा चिन्ता थियो परिवारलाई । परिवारकै चाहना अनुसार, खरेल दम्पत्तीले पूजापाठ पनि गरे । अस्पतालहरुमा पनि देखाए । त्यसक्रममा कतिपय डाक्टरले भने, ‘धेरै पुल्पुल्याएर पो यस्तो भएको हो कि, बिचार गर्नू ।’

सुमन जागिरमा व्यस्त भएको बेला सितुले स्मारिकालाई भारतको दिल्ली पनि पुर्‍याइन् । त्यहाँका डाक्टरले केही समस्या देखेनन् । डाक्टरहरुका यस्ता कुराले सितु र सुमनलाई ढुक्क पार्थ्यो । उनीहरुलाई विस्तारै सब ठीकठाक हुन्छ भन्ने लागेको थियो ।

छोरी पाँच वर्षमा लाग्दा सुमनको जीवनमा नयाँ मोड अयो । बीबीसी नेपाली सेवाको लागि छनौट भएर उनी लण्डन गए । त्यसको ६ महिनापछि परिवारलाई पनि लगे । त्यसपछि स्मारिकाको गम्भीर स्वास्थ्य परीक्षण भयो । नतिजा दुई वर्षमा आयो तर, यसरी आयो कि बाबुआमाको जीवनमा ९ रेक्टरस्केलको भूकम्प बनेर आयो । ‘लण्डनको विश्वप्रसिद्ध ग्रेट अर्मन्ड स्ट्रिट चिल्ड्रन्स हस्पिटलमा जाँच गराएका थियौं । सबै ठीकठाक जस्तो लाग्थ्यो । तर, हामीले सोचेभन्दा सयौं माइल परको नतिजा आयो’, सुमनले गला र आँखाको कमजोरी नियन्त्रण गर्दै भने ।

बेलाबेला हाँसेकी स्मारिकालाई अंगालोमा बेरेर आँशु झार्छन् सुमन । र, मनमनै भन्छन्, ‘धन्न भाग्यले बेलायतसम्म तान्यो नानु । तिम्रै भाग्यले तानेको हो ।’

उनका अनुसार, स्मारिकामा ‘रेट् सिन्ड्रोम’ रहेछ । एक्स क्रोमोजोममा खरावीको कारण यस्तो हुने रहेछ । १०–१५ हजार छोरीमध्ये एक जनामा समस्या आउँदो रहेछ । त्यतिबेला सुमन र सितुलाई डाक्टरहरुले भनेका थिए, ‘अब उसले अलिअलि औंला मात्र चलाउन सक्छ । जिन्दगीभर आफैँ खान सक्दैन । हिँड्न र बोल्न सक्दैन । जीवनभर तपाईंहरुमाथि आश्रितहुनुपर्नेछ । जति राम्रो हेरचाह गर्न सक्यो त्यति आयु बढ्छ ।’

सितुको आँखा कोशी बनेर उर्लियो । सुमन शिलामूर्तिझैं सर्वाङ्ग चिसो र जड बनेका थिए । डाक्टरहरुले उनीहरुलाई बलियो बनाउन अनेक परामर्श दिए । ‘त्यहाँबाट उहाँ अफिस र म घरतिर लागें’, सितु सम्झन्छिन्, ‘कतिबेला रेलस्टेशनमा पुगेँ, कसरी घर गएँ केही थाहा पाइनँ ।’

अब सुमन र सितुको अगाडि दुईवटा बाटा थिए । पिरोलिएर बस्ने कि जीवनलाई सजिलो र सुखी बनाउनतर्फ लाग्ने ? उनीहरु दोस्रो विकल्पमा लागे । ‘नानु यस्तो हुनुमा कसैको दोष थिएन’ सुमन भन्छन्, ‘उनलाई हामीले बरदानको रुपमा लियौं ।’

धन्न बेलायतले तान्यो

हरेक बाबुआमा आफ्नो सन्तानलाई हरेक कुराले पूर्ण देख्न चाहन्छ । तर, स्मारिकाले सिकेका कुरा पनि बिर्संदै जानेवाला थिइन् । त्यसैले खरेल दम्पत्तीलाई सम्हालिन त्यति सजिलो थिएन । ‘उनलाई खुवाउन, सुताउन निकै गाह्रो थियो’, सितु भन्छिन्, ‘शुरुमा त हामी आफैलाई सम्हाल्न पनि गाह्रो भयो । त्यसपछिका दिनहरुमा भने स्मारिकाले कुनै दुःख दिएकी छैनन्, ज्ञानी भएकी छिन् ।’

एकपटक त उनले हिँड्न पनि बिर्सिन थालिसकेकी थिइन् । तर, सितुले खुब मेहनत गरेर हिँड्न बिर्सन दिइनन् । हाँस्न चाहिँ कहिल्यै बिर्सिनन् स्मारिका । बेलाबेला उनै हाँसेकी स्मारिकालाई अंगालोमा बेरेर आँशु झार्छन् सुमन । र, मनमनै भन्छन्, ‘धन्न भाग्यले बेलायतसम्म तान्यो नानु । तिम्रै भाग्यले तानेको हो ।’

बेलायतमा सरकारले अपांगता भएकाहरुलाई विशेष महत्व दिन्छ । बसाइ या सुविधामा असहज भए काउन्सिल (स्थानीय निकाय) आएर सहज बनाइदिन्छ । बेलायतमा ह्विलचेयर नपुग्ने कुनै ठाउँ छैन । जहाँ पनि अपांगतामैत्री शौचालय हुन्छन् । अपांगता भएकालाई एउटा कार्ड दिइएको हुन्छ । त्यो कार्डवालाले जहाँ पनि पार्किङ सुविधा पाउँछन् । धनी होस् वा गरिव, १८ वर्ष पुगेका अपांगता भएका व्यक्तिहरुका लागि डे–सेन्टरको व्यवस्था छ । डे–सेन्टरहरुमा शारीरिक–मानसिक क्षमताअनुसार क्रियाकलाप गराइन्छ ।

बेलायतको यस्तो सुविधामा रहेकी स्मारिकालाई सितु र उनका सहयोगीले आठ बजेसम्म डे–सेन्टरको लागि तयार पार्छन् । बेलुकी फर्काउँदा उनी निकै थाकेकी हुन्छिन् । आमाले खुवाएपछि उनी लुटुक्क निदाउँछिन् ।

नेपालमा हैरानी मात्र

विदेशमा रहँदा त्यसै पनि नेपाल फर्कुँ फर्कुँ लाग्छ । सितु र सुमनले पनि सन् १९९९ मा नेपाल फर्कने निधो गरे । आएर तीन वर्ष बसे पनि । तर सितु भन्छिन्, ‘त्यो तीन वर्ष सम्झदा अहिले पनि कहाली लाग्छ ।’

त्यतिबेला २० वर्षकी स्मारिकालाई बोकेर नेपाल आए उनीहरु । तर, स्मारिकालाई राख्नै अप्ठ्यारो हुन थाल्यो । सितु र सुमन छोरीको लागि स्कुल खोज्न भौंतारिए तर, कतै पाएनन् ।

त्यही बेला स्मारिका विरामी परिन् । अस्पतालको तीन तलामाथि सुमनले बोकेर लग्नुपर्‍यो । उपचारमा त्यस्तै गाह्रो । ‘त्यतिबेलाको कुरा नसम्झौँ’, आँखा ओसिलो पार्दै सितु भन्छिन्, ‘मरेर बाँचेकी हो मेरी नानु ।’

त्यतिसम्म त पचाएकै थिए उनीहरु । कोही घरमा आउँथे र प्याच्च बोल्थे, ‘खै लाटी ?’

उनीहरुको कल्पनाभन्दा परको छुद्रता थियो त्यो । ‘घरमा कोही नआइदिओस् र छोरीलाई लिएर कहीँ जानै नपरोस् भनेजस्तो लाग्थ्यो’, अमिलो अनुहार पार्दै सितु भन्छिन्, ‘त्यसरी नानुलाई लिएर नेपाल बस्ने आँट हरायो ।’

अनि ‘स्मारिका’ एल्बम छोरीकै हातबाट सार्वजनिक गरेर उनीहरू लण्डनतिर लागे र २०१५ देखि सुमन नेपालमै छन् ।

६ महिनाकी शिशु

सन् २०१४ मा सितुले अपांगता भएकाहरुका सहयोगको लागि लण्डनमै सोलो कन्सर्ट गरिन् । स्मारिका दर्शकदिर्घाको अगाडि भाइसँग थिइन् । सितुले सुमनकै रचना गाउन थालिन्–

शब्दविना रचिएकी
संगीतविना सजिएकी
सधैं रमाई बस यो मनमा तिमी
मेरी स्मारिका…।

मूर्ती तिमी, तिमीभित्र बोली खोज्न किन प्रयास गर्छु म ?
वर्षा तिमी, तिमीभित्र राप भेट्न किन प्रयास गर्छु म ?
बरु रुझाई राख, तर समाई राख
मेरी शितल साथी स्मारिका… ।

अहिले छोरा सुमिरन २८ वर्षका भइसके । सितु स्मारिकालाई भाइको जिम्मामा छाडेर केही समयको लागि नेपाल आएकी छन् । दिदीप्रति भाइको गहिरो लगाव छ । उनी दिदीलाई सम्हाल्न जहिल्यै दत्तचित्त रहन्छन् । स्मारिकालाई भने सुमिरन भाइ हो भन्ने पनि थाहा छैन । उनको अवस्था ६ महिनाकी शिशुको जस्तो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?