Comments Add Comment

सांसदको आशंकाः मदन भण्डारी राजमार्ग तराईमा पानी सुकाउने ग्रान्ड डिजाइन त होइन ?

२० मंसिर, काठमाडौं । सांसद रमेशप्रसाद यादवलाई चुरे क्षेत्रबाट ‘मदनभण्डारी राजमार्ग’ बनाउन लागिएकोमा पटक्कै चित्त बुझेको छैन । यो योजना चुरे क्षेत्रको संवेदनशीलतालाई आघात पुग्ने गरी ल्याइएको उनको बुझाइ छ ।

चुरेको मुटुबाट किन राजमार्ग बनाउनुपरेको हो भन्ने प्रश्न सांसद रामप्रित पासवानको पनि छ । रमेशप्रसाद र रामपि्रत मात्र होइन, तराई मधेसका जिल्लाबाट प्रतिनिधित्व गर्ने अधिकांश सभासद यो राजमार्ग निर्माणलाई लिएर सशंकित छन् ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा भित्री मधेसका जिल्लाहरुलाई जोड्न ‘मदनभण्डारी राजमार्ग’ बनाउने घोषणा गरेको थियो । बजेटमार्फत ४ अर्ब ५० करोड रुपैयाँ छुटि्टएर केही खण्डमा धमाधम काम पनि भइरहेको छ ।

तर, मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुले यसलाई मधेसको पानीको सतक सुकाउने आयोजनाको संज्ञा दिएका छन् ।

‘चुरे क्षेत्र नै खोस्रेर सडक बनाउनुपर्ने के छ ?’ बिहीबार राष्ट्रिय सरोकार समितिको बैठकमा सांसद रामपि्रत पासवानले भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई प्रश्न गरे ।

उनले प्रश्न गरिरहँदा मन्त्री महासेठ भने अर्को बैठकमा जानुपर्ने कारण देखाउँदै सुटुक्कै बाहिरिए ।

मन्त्री गएपनि यातायात सचिवसमक्ष पासवानले गुनासो राखे । ‘महेन्द्र राजमार्ग सँगसँगै जंगल काटेर रेलमार्ग किन बनाउनुपर्ने ? अली दक्षिणबाट लगेको भए वन पनि मासिँदैनथ्यो मधेसको पानीको स्रोत पनि नसुक्ने ग्यारेन्टी हुन्थ्यो’ उनले भने ‘मदनभण्डारी राजमार्ग बनाउँदा तराईमा पर्ने असरबारे अध्ययन भएको छ ?

चुरे क्षेत्र कटान गरेर बन्ने राजमार्गले तराई मधेसका जनताको हित नगर्ने उनको बुझाइ छ ।

सांसद धना खतिवडाले पनि मदन भण्डारी राजमार्गको आवश्यकता र औचित्यमाथि प्रश्न उठाइन् । सांसद रमेशप्रसाद यादवले मधेसमा पानीको स्रोत सुकाउने ‘ग्रान्ड डिजाइन’मा मदन भण्डारी राजमार्ग बनाउन थालिएको आशंका व्यक्त गरे ।

‘चुरे र त्यसको जंगल नै तराईको पानीको श्रोत हो । काठमाडौंमा त मेलम्ची आउँला तर, चुरे मासेपछि तराईमा कहाँबाट ल्याउने मेलम्ची ?’ उनले भने,’ तराई-मधेसलाई मरुभूमीकरण गर्न ग्रान्ड डिजाइन छ कि के हो ?’

राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका नाममा अर्बौं रकम खर्च गर्ने सरकारले मदनभण्डारी राजमार्ग बनाएर विरोधाभाषपूर्ण काम गरिरहेको आरोप उनले लगाए । तराईको जंगल फाँडेर रेलमार्ग बनाउने कुरा पनि तराईको हितमा नरहेको उनको जिकीर छ । हुलाकी राजमार्गको उत्तरबाट रेलमार्ग लगिएको भए वन मास्नु नपर्ने उनको तर्क छ । ‘जंगलमै किन पस्नुपर्ने,’ उनले प्रश्न गरे ।

‘चुरे र जंगल समाप्त भएपछि भारतको जस्तो चापाकल गाड्दा पनि पानी नआउने स्थिति नआओस्’ उनले भने, बाटो बनाऔं तर, चुरे, तराई र जंगलाई पनि माया गरौं ।’

झापाको बाहुनडाँगीबाट सुरु हुने मदभण्डारी राजमार्गको मध्यखण्डमा यसवर्ष कालोपत्रे सुरु भएको छ । एमालेका तत्कालीन महासचिव मदन भण्डारीको नाममा बनाउन लागिएको यो राजमार्गले झापालाई पश्चिमको डडेलधुरासम्म जोड्छ ।

यो राजमार्ग झापाको पाटापुरबाट सुरु हुनेछ र सुनसरीको धरान, चतरा, उदयरपुरको गाईघाट, कटारी, सिन्धुलीको सिन्धुलीमाडी, मकवानपुरको हेटौंडा, नवलपरासीको गैंडाकोट, पाल्पाको रामपुरबाट गुल्मीको रिडी पुग्नेछ । त्यस्तै गुल्मीको तम्घास, शिमलटारी, प्युठानको बागदुला, देवीस्थान, दाङको घोराही, तुलसीपुर, पुरनधारा, सुर्खेतको बोटेचौर, बड्डीचौर, डोटीको सिमचौर, वीपीनगर, कैलालीको सहजपुर, बुडर, जोगबुढा हुँदै रुपालसम्म पुग्नेछ ।

यसमध्ये यो वर्ष धरान, चतरा, उदयरपुरको गाईघाट, कटारी, सिन्धुलीको सिन्धुलीमाडी, मकवानपुरको हेटौंडा खण्डमा कालोपत्रे सुरु भएको छ । यो खण्ड यसअघिदेखि नै छुट्टै आयोजनाका रुपमा विभागले निर्माण गरिरहेको थियो । दाङबाट सुर्खेतसम्मको खण्डको पनि कालोपत्रे छिट्टै सम्पन्न गर्ने योजना छ ।

झण्डै १२ सय किलोमिटरको यो राजमार्ग दुई लेनमा बनाइने छ ।  ३०० किमीको यो खण्ड निर्माण सकिन लागेपनि राजमार्गमा जोडिने अन्य खण्डको भने सम्भाब्यता अध्ययन भएर विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनेको छैन ।

पूर्वतर्फ झापाको पाटापुरदेखि धरान खण्डको डीपीआर तयार गर्नुपर्नेछ । हेटौंडादेखि गैंडाकोटसम्म पूर्व-पश्चिम राजमार्ग प्रयोग गरिनेछ । गैंडाकोटबाट पाल्पाको रामपुर हुँदै गुल्मी पुग्नेछ । यो खण्ड पनि कालोपत्रे हुँदैछ । पाल्पाको राम्दीबाट गुल्मी हुँदै प्युठानसम्म डीपीआर बनाउनुपर्नेछ । आवश्यक खण्डहरुमा डीपीआर बनाउन यसै वर्षबाट काम सुरु गर्ने योजना छ ।

मदन भण्डारी राजमार्गका विभिन्न खण्डमा अहिले पनि गाडी चलिरहेका छन् । उक्त खण्डहरुलाई राजमार्गका रुपमा दुई लेनमा विस्तार गर्दै जोड्दै लैजानुपर्ने हुन्छ ।

दाङबाट सुर्खेतको बोटेचौरसम्म अहिले कालोपत्रे भइरहेको छ । बोटेचौरदेखि डडेलधुरा सम्मको सडकको काम भने केही चुनौतीपूर्ण छ । केही खण्डमा नयाँ ट्रयाक नै खोल्नुपर्नेछ । केही खण्डमा भने सडक स्तरीकरण गर्दा नै हुन्छ ।

तर, राजमार्गलाई राष्ट्रिय गौरबको घोषणा नगर्दै यसको विरोध सुरु भएको छ । विशेष गरी चुरे विनास भएर यसले तराईमा हानी गर्ने तर्क गर्दै तराईका नेताहरुले यसको निर्माण नगर्न सरकारमाथि दबाव बढाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment