Comments Add Comment

अपारदर्शी मिस वर्ल्ड, श्रृंखलामाथि ‘अन्याय’ !

२३ मंसिर, काठमाडौं । मेक्सिकोकी सुन्दरी भानेसा पोन्स डे लियोनलाई ताज पहिर्‍याउँँदै चीनमा मिस वर्ल्ड २०१८ प्रतियोगिता शनिबार पटाक्षेप भयो । नेपालकी सुन्दरी श्रृंखला खतिवडा प्रतियोगितामा दुई महत्वपूर्ण अवार्ड जित्दै टप १२ सम्म पुगिन् ।

यसपालिको मिस वर्ल्डले नेपालमा जबरजस्त चर्चा र बहस जन्माइरहेको छ । सम्भवतः पहिलोपटक नेपाललाई उपाधिको दावेदारका रुपमा लिएका थिए, अन्तरराष्ट्रिय सौन्दर्य विज्ञहरुले । नेपालमा श्रृंखलाको फ्यान फलोइङ अभूतपूर्व देखियो । उनलाई मिस वर्ल्डका रुपमा हेर्न नेपालीहरु आतुर थिए । उनका फ्यानहरुले टप १२ मा चित्त बुझाउन सकिरहेका छैनन् ।

तर, मिस वर्ल्ड एउटा यस्तो प्रतिस्पर्धा हो, जसको कहिल्यै पूर्वानुमान गर्न सकिन्न । पूर्व मिस नेपाल माल्भिका सुब्बाको भनाइमा प्रायः अनुमान नगरिएकाले उपाधि जित्ने गरेका छन् ।

‘श्रृंखला मिस वर्ल्डको ताज पहिरिन योग्य थिइन्, तर सबै कुरा उनका हातमा हुँदैनन्,’ उनी भन्छिन् ।

यद्यपि, मिस वर्ल्डको उपाधिपछिको महत्वपूर्ण मानिने ‘ब्यूटी विथ पर्पस अवार्ड’ जित्न श्रृंखला सफल भइन् । साथै भोटिङमा आधारित मल्टिमिडिया अवार्ड पनि । यस हिसाबले यसपटक मिस वर्ल्डमा नेपालले अहिलेसम्मको ठूलो सफलता पाएको मान्न सकिन्छ ।

‘ब्यूटी विथ पर्पस अवार्ड’ भने सन् २०१३ मा ईशानी श्रेष्ठले पनि जितेकी थिइन् । उनी टप १० मा पनि पुगेकी थिइन् । त्यतिबेला यो अवार्ड जितेपछि ईशानीलाई सोझै टप १० मा पुर्‍याइएको थियो भने यसपालि श्रृंखलालाई टप ३० मा सीमित राखिएको थियो ।

मिस वर्ल्डको फम्र्याट हरेक वर्ष परिवर्तन भइराख्छ । यसपालि सुन्दरीहरुलाई उनीहरुले प्रतिनिधित्व गर्ने महादेशका आधारमा विभाजन गरिएको थियो । टप ३० बाट टप १२ मा पुग्ने क्रममा श्रृंखलाले एसियाका १२ सुन्दरीहरुसँग ३ वटा स्थानका लागि भिड्नुपर्‍यो । यसमा उनी सफल भइन् । आफ्नो महादेशका बलिया भारत र चीनलाई समेत पछि पार्दै उनले टप १२ मा स्थान बनाइन् ।

टप ३० का सुन्दरीहरुको सानो परिचयात्मक जस्तो भिडियो प्रस्तुत गरिएको थियो । त्यसपछि सोझै टप १२ को घोषणा गरियो । एसियाबाट श्रृंखलासँगै अन्य २ सुन्दरी टप १२ मा पुगे ।

टप १२ का प्रतिस्पर्धीहरुलाई निर्णायकहरुले प्रश्न सोध्ने अपेक्षा थियो । तर, त्यस्तो केही भएन । उद्घोषकले उनीहरुसँग छोटो कुरा गरिन् । र, एकाएक टप ५ घोषणा भयो । एसियाबाट एकजना मात्र छानिने भए । श्रृंखलालाई पछि पार्दै थाइल्यान्डकी सुन्दरी टप ५ मा परिन् । टेलिभिजन र इन्टरनेटमा मिस वर्ल्ड लाइभ हेर्न झुम्मिएका नेपालीले श्रृंखला के आधारमा आउट भइन् भन्ने बुझ्न सकेनन् ।

माल्भिका भन्छिन्ः अन्याय भयो

पूर्व मिस नेपाल माल्भिका सुब्बा मिस वर्ल्डमा श्रृंखलामाथि अन्याय भएको बताउँछिन् ।

उनी भन्छिन्, ‘टप १२ मा कुनै प्रश्नोत्तर भएको थिएन । सम्भवतः ट्रयाक रेकर्डका आधारमा टप ५ छनोट गरिएको हुनुपर्छ । यसरी हेर्दा श्रृंखला टप ५ को पहिलो हकदार थिइन्, किनकि उनले ‘ब्यूटी विथ द प्रपोज’ जस्तो महत्वपूर्ण अवार्ड र ‘मल्टिमिडिया अवार्ड’ पनि जितेकी थिइन् । प्रतियोगितापूर्व दुई अवार्ड जित्ने उनी मात्रै थिइन् । उनको फ्यान फलोइङ सबैभन्दा बढि थियो । सौन्दर्य र बौद्धिकतामा पनि अगाडि थिइन् । तर, के कारणलाई उनलाई फ्याँकियो, मैले पनि बुझ्न सकिनँ ।’

श्रृंखला कम्तिमा टप ५ मा पुग्ने पहिलेदेखि नै आफूले अपेक्षा राखेकाले टप १२ मा चित्त बुझाउन नसकेको उनले बताइन् ।

‘दुई वटा अवार्ड जितिसकेपछि मैले सोचेकी थिएँ कि उनी सहजै टप ५ मा पुग्नेछिन् र त्यहाँ आउने प्रश्नको सहज उत्तर दिइन् भने मिस वर्ल्ड नै जित्न सक्छिन् । तर, उनले प्रश्नको सामना गर्ने मौका नै पाइनन्,’ माल्भिकाले भनिन् ।

‘मिस वर्ल्डलाई सौन्दर्यको मात्र नभएर बौद्धिकताको पनि प्रतिस्पर्धा मानिन्छ । तर, हिजोको प्रतियोगिता हेर्दा बौद्धिकताको कुनै मापन भएको देखिएन । अन्तिम ५ मा परेका सुन्दरीहरुलाई पूर्वमिस वर्ल्डहरुले बेग्लाबेग्लै प्रश्न सोधेका थिए । ती प्रश्नहरु कत्ति पनि नौला र दमदार थिएनन् ।

जस्तै उपाधि जित्ने मेक्सिकोकी सुन्दरीलाई सोधिएको थियो, ‘‍(मिस वर्ल्ड हुनुभयो भने) तपाईं अरुलाई सहयोग गर्न कसरी आफ्नो प्रभाव उपयोग गर्नुहुन्छ ?’

यो कुनै बौद्धिकस्तर नापिने प्रश्न थिएन । न त मेक्सिकोकी सुन्दरी भानेसा पोन्सले दिएको जवाफ नै असाधारण थियो । उनले जवाफ दिएकी थिइन्, ‘मैले विगत ३ वर्षदेखि जसरी काम गरिरहेकी छु त्यसैगरी गर्नेछु । म आफूलाई उदाहरणका रुपमा पेश गर्नेछु । हामी सबै संसारमा राम्रो कुराको उदाहरण बन्न सक्छौं । हामी सबैले केयर गर्नुपर्छ, हामी सबैले माया गर्नुपर्छ, हामी सबै दयालु हुनुपर्छ । यो कुनै गाह्रो काम पनि होइन र कुनै खर्च लाग्दैन । तपाईं अगाडि बढ्नुस, किनकी तपाईंको सहयोगको धेरैलाई खाँचो छ । अरुलाई सकेको सहयोग गरौं ।’

भानेसाको यो जवाफ सटिक नभएर ‘घोकन्ते’ थियो । तर, अन्त्यमा उनले नै ताज जितिन् ।

पूर्वमिस नेपाल मलिना जोशी भन्छिन्, ‘पहिले मैले मिस वर्ल्डको बारेमा जस्तो धारणा बनाएकी थिएँ, आफैले भाग लिएपछि त्यस्तो पाइनँ । त्यहाँ हरेक वर्ष फम्र्याट चेन्ज भइराख्दो रहेछ । आफूले तयारी गरेअनुसार प्रस्तुत हुन पनि नपाइने ।’

कोटा प्रणाली कति उचित ?

गत वर्षदेखि मिस वर्ल्डलाई पनि कोटा प्रणालीमा लगिएको छ । यस अनुसार टप पाँचमा पर्नेहरु फरक-फरक महादेशका हुन्छन् । यदि एउटै महादेशका दुई-तीन सुन्दरी ‘काबिल’ छन् भने पनि उनीहरुमध्ये एकजना मात्र माथि पुग्छन् ।

कुनै महादेशका सबै कमजोर छन् भने उनीहरुबाट पनि एकजना उक्लिन्छन् । यसले प्रतियोगिताको स्तर पक्कै पनि घटाउँछ ।

यस्तो कोटाको कारण पनि श्रृंखलालाई घाटा लागेको माल्भिका बताउँछन् ।

उनले भनिन्, ‘पछिल्लो समयमा मिस वर्ल्डमा एसियाली सुन्दरीहरु अगाडि छन् । त्यसैले पनि श्रृंखला टफ गु्रपमा परिन् । यद्यपि, उनी अरुभन्दा कम थिइनन् ।’

मलिना भन्छिन्ः निर्णय पहिल्यै भएको हुन सक्छ

मिस वर्ल्डमा समेत भाग लिएकी पूर्वमिस नेपाल मलिना भन्छिन् मिस वर्ल्ड सँधै यस्तै अपारदर्शी हुने गरेको बताउँछन् ।

उनले भनिन्, ‘मैले पनि बुझ्न सकिनँ कि श्रृंखला के आधारमा आउट भइन् ।’

उनी मिस वर्ल्डमा विजेताको चयन पहिल्यै भित्रीरुपमा भइसकेको हुनसक्ने आशंका व्यक्त गर्छिन् ।

मलिना भन्छिन्, ‘यो आशंका धेरैले गर्छन् कि मिस वर्ल्ड  कसलाई बनाउने भनेर मुख्य इभेन्टभन्दा पहिले नै तय भइसकेको हुन्छ । आखिरमा एउटा प्रश्नको जवाफ सुनेर मात्रै जजमेन्ट पक्कै गरिदैन जस्तो लाग्छ मलाई पनि ।’

यद्यपि, मेक्सिकोकी सुन्दरी मिस वर्ल्डको हकदार नै भएको उनको तर्क छ ।

मलिनाले भनिन्, ‘अरु डराएका थिए तर उनी सुरुदेखि नै आत्मविश्वासी देखिएकी थिइन् ।’

देशभित्रकै कुरा

मिस वर्ल्ड र श्रृंखला खतिवडाको चर्चा सुरु भएपछि नेपालमा विभिन्न कोणबाट बहस भइरहेका छन् । एकथरीबाट निर्मला हत्याकाण्डलाई यो प्रतियोगितासित जोड्दै श्रृंखलाको तेजोवध गर्ने कोशिष भइरहेको छ ।

निर्मला हत्याकान्ड र मिस वर्ल्ड प्रतियोगिता अलगअलग प्रसंग र विषय हुन् भन्ने कुनै बुझाइरहनु पर्ने कुरा होइन । तर, कतिपय बौद्धिक जमातबाटै यस्ता कुरा आउनु लज्जास्पद हो । यदि नेपालले मिस वर्ल्ड जित्यो भने त्यसले पक्कै पनि नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग नै गर्ने छ ।

पूर्वमिस नेपाल माल्भिका भन्छिन्, ‘अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताको आफ्नो महत्व हुन्छ, देशभित्र हुने आपराधिक घटनाहरुको अनुसन्धान आफ्नो ठाउँमा हुन्छ । दुबैलाई दाँज्नै मिल्दैन । मिस वर्ल्डमा भाग लिँदा निर्मलाले न्याय नपाउने होइन ।’

त्यसकै नेकपाका विभिन्न ओहदामा रहेका नेताहरुबाट श्रृंखलालाई भोट मागिएको विषयलाई पनि कतिले प्रश्न उठाए । जबकि यो व्यक्तिगत स्तरमा गरिएको अपिल थियो । पदीय हैसियतमा गरिएको होइन । त्यसो त पार्टीका नेताहरुले भोट अपील गर्दा भोट घट्छ कि बढ्छ भन्ने प्रश्न आफ्नो ठाउँमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment