२३ मंसिर, काठमाडौं । थ्रीस्टार क्लबले शहीद स्मारक ए डिभिजन लिग फुटबलमा जाउलाखेल युथ क्लबलाई हराउँदै शीर्ष स्थानमा रहेको मनाङ मस्र्याङ्दी क्लबसँगको अंक बराबरी बनाएको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा थ्रीस्टार क्लबले जाउलाखेललाई २-० ले पराजित गर्दै लिग लिडर मनाङको १८ अंकसँग बराबरी बनाएको हो । थ्रीस्टारलाई महत्वपूर्ण जित दिलाउन दुबै गोल रञ्जित धिमालले गरे ।
पहिलो हाफसम्म थ्रीस्टार क्लबलाई रोकेको जाउलाखेलले दोस्रो हाफमा लगातार दुई गोल खान पुग्यो । थ्रीस्टारको जितमा नायक सावित भएका रञ्जितले खेलको ५२ औं मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरेका थिए ।
जाउलाखेलका कुलदीप कार्कीले आफ्नो डिबक्सभित्र हृयान्ड गरेपछि थ्रीस्टारले पेनाल्टी पाएको थियो । ६९ औं मिनेटमा थ्रीस्टारका मिड्फिल्डर सुनिल बललाई फल गरेपछि कुलदीप कार्कीले रेडकार्ड खादै मैदानबाट बाहिरिएका थिए ।
फ्रीकिक प्रहार गर्न आएका रञ्जितले यो पटक पनि उत्कृष्ट गोल गर्दै थ्रीस्टारलाई २-० गोलको जित दिलाएका हुन् ।
सात खेलबाट ६ खेलमा जित र एक खेलमा हार ब्यहोेरेको थ्रीस्टारले १८ अंक बनाउँदै दोस्रो स्थानमा उक्लिएको हो । एक खेल कम खेलेको मनाङको शतप्रतिशत नतिजासहित लिगको शीर्ष स्थानमा रहेको छ । पराजित जाउलाखेल भने चार अंकसहित १२ औं स्थानमा छ ।
च्यासलद्वारा फ्रेण्डस् पराजित
हलचोकस्थित एपीएफको खेल मैदानमा आइतबार नै भएको अर्को खेलमा च्यासल युथ क्लबले फ्रेन्डस् क्लबलाई ३-१ ले पराजित गरेको छ ।
च्यासलको जितमा कप्तान देवेन्द्र तामाङ, हेमन्त थापामगर र शान्तबहादुर तामाङले गोल गरे । फ्रेन्ड्सका लागि भने विकास लामाले गोल गरेका थिए ।
खेलको ११ औं मिनेटमा नै शान्तबहादुरले गोल गर्दै च्यासललाई सुरुवाती अग्रता दिलाएका थिए । तर १९ औं मिनेटमा विकास लामाले गोल गर्दै प|mेन्ड्स क्लबलाई १-१ गोलको बराबरीमा पुर्याएका थिए ।
पहिलो हाफमा दुबै टिमले १-१ गोलको बराबरी खेलेका थिए । तर ५४ औं मिनेटमा कप्तान देबेन्द्रले पेनाल्टीबाट गोल गर्दै च्यासललाई २-१ गोलको अग्रता दिलाए । ६८ औं मिनेटमा हेमन्त थापामगरले गोल गर्दै टिमलाई ३-१ को जित दिलाएका हुन् ।
प्रतिक्रिया 4