Comments Add Comment

स्थायी कमिटीको अंकगणित : पूर्वएमाले भिड्दा प्रचण्डलाई बहुमत !

२४ मंसिर, काठमाडौं । केही दिनअघि बुटवलमा अध्यक्ष प्रचण्ड र महासचिव बिष्णु पौडेल सहभागी कार्यक्रममा निम्तो नपाएको भन्दै दाङ पुगेका नेकपा स्थायी कमिटी सदस्य घनश्याम भुसालले भनेका थिए- अल्पमतमा पर्ने भएपछि स्थायी कमिटी बैठक बोलाइएन ।

भुसालको यो संकेतले नेकपाभित्र केही प्रश्न जन्माएको छ । के दुबै अध्यक्षहरु मिल्दा पनि स्थायी कमिटीमा ओली-प्रचण्ड अल्पमतमा पर्न लागेका हुन् ? के अब तलैसम्म एकीकरण भई नसक्दै नेकपाको उच्च तहमा गणितीय समीकरणको खेल शुरु भएको हो ?

शनिबारमात्रै माधव, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठसमेत चार शीर्ष नेताले सचिवालय बैठक अघोषितरुपमा बहिस्कार गर्नु र आइतवारै केन्द्रीय कार्यालय धुम्बाराहीमा स्थायी कमिटी सदस्यहरुको ‘बैठक’ बोलाउन खोज्नुले नेकपामा अंकगणितीय चलखेल शुरु भएको सहजै अनुमान लगाउन सकिन्छ ।

चार नेताको अनुपस्थितिमै शनिबार बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले स्थायी कमिटीको बैठक मंसिर २९ गतेका लागि आह्वान गरेको छ । अब नेकपाका सबै नेताको ध्यान स्थायी कमिटीमा आफू कसरी हाबी हुने भन्नेतिर केन्द्रित भएको छ ।

यदि नेकपा स्थायी कमिटीमा तीन नेताका अलग-अलग गुट कायम रहने हो भने सबैभन्दा बलियो प्रचण्ड हुनेछन् । प्रचण्डसँग आफ्नो पूर्वगुटका कम्तीमा १७ जना स्थायी कमिटी सदस्यहरु छन् ।

लामो समयदेखि बैठक नबसेका कारण स्थायी कमिटीका अधिकांश सदस्य पनि मूल नेतृत्वसँग असन्तुष्ट छन् । आगामी यो बैठक सरकारका काम कारवाही र पार्टी नेतृत्वको कार्यशैलीमा केन्द्रित  हुने निश्चित छ ।

स्थायी कमिटीको अंकगणित

कुल ४५ सदस्यीय स्थायी कमिटीमा तत्कालीन एमालेबाट प्रतिनिधित्व गर्ने २६ मध्ये ओलीको पक्षमा खुलेर लागेका १२ नेता छन् । पूर्वएमालेका २६ मध्ये माधव नेपालको पक्षमा १२ जना छन् ।

तत्कालीन एमालेबाट प्रतिनिधित्व गर्ने स्थायी कमिटी सदस्यहरुको संख्या ओली र नेपालसँग लगभग उस्तै छ ।

पूर्वएमालेभित्र केपी ओलीसँग ईश्वर पोखरेल, बिष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ, किरण गुरुङ, सत्यनारायण मण्डल, छविलाल विश्वकर्मा र बिष्णु रिमाल छन् ।

त्यस्तै माधव नेपालको पक्षमा झलनाथ खनाल र वामदेव गौतमलाई समेत जोड्दा ओलीकै हाराहारीमा यो समूहको शक्ति देखिन्छ । नेपाल, खनाल र गौतम पक्षमा भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, रघुजी पन्त, बेदुराम भुसाल, घनश्याम भुसाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे र भीम आचार्य छन् ।

यद्यपि प्रदेश १ का इञ्चार्जसमेत रहेका स्थायी कमिटी सदस्य भीम आचार्यले पनि आफू पछिल्लो समय तटस्थ रहेको बताएका छन् । उनले आफूलाई कुनै गुटमा नराख्न आग्रह गर्दै भने- ‘म ठीकलाई ठीक र बेठीकलाई बेठीक भन्ने लाइनमा आइपुगेको छु । अहिले म कुनै गुटमा छैन, त्यही लेख्नुस् ।’

माधव नेपालको प्यानलबाट नवौं महाधिवेशनमा जितेका गोकर्ण विष्ट पछिल्लो समय कतै खुल्न चाहेका छैनन् । उनी महाधिवेशनबाट जितेदेखि नै नेपाल पक्षका भेला तथा बैठकमा सहभागी छैनन् । पछिल्लोपटक उनको निकटता ईश्वर पोखरेल र बिष्णु पौडेलसँग देखिएको छ ।

त्यसैगरी विगतमा केपी ओलीलाई सघाएका स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले अहिले आफू तटस्थ रहेको घोषणा गरेका छन् । अनलाइनखबरसँग कुरा गर्दै न्यौपानेले आफू पछिल्लो समय पार्टीभित्रको गणितबारे बेखबर रहेको भन्दै बेथितिका कुराहरु स्थायी कमिटीमा राख्ने बताए ।

पार्टीमा थिति बसाउने सन्दर्भमा तपाईको साथ माधव नेपाललाई हो ? भन्ने प्रश्नमा उनले भने- ‘माधव नेपालले के थिति बसाउने भन्नुभएको हो, मलाई थाहा छैन, तर अस्ति क्रिश्चियन समिट गर्नेबेलामा त उहाँ र केपी ओली मिलेकै देखियो ।’

पूर्वएमाले भिड्दा प्रचण्डलाई बहुमत

यदि नेकपा स्थायी कमिटीमा तीन नेताका अलग-अलग गुट कायम रहने हो भने सबैभन्दा बलियो प्रचण्ड हुनेछन् । प्रचण्डसँग आफ्नो पूर्वगुटका कम्तीमा १७ जना स्थायी कमिटी सदस्यहरु छन् ।

स्थायी कमिटीमा पूर्वमाओवादीबाट १९ नेता छन् । नारायणकाजी श्रेष्ठ र गिरिराजमणि पोखरेललाई नजोड्ने हो भने पनि प्रचण्डको पक्षमा पूर्वमाओवादीका १७ जना देखिन्छन् ।

पूर्वमाओवादीभित्र प्रचण्डसँग वर्षमान पुन, शक्ति बस्नेत, जनार्दन शर्मा, हरिबोल गजुरेल, चक्रपाणि खनाल, लीलामणि पोखरेल, मणि थापा, मातृका यादव, गणेश साह, लेखराज भट्ट, देवेन्द्र पौडेल र टोपबहादुर रायमाझी छन् ।

९ सदस्यीय सचिवालयमा चारजना नेता एकातिर हुँदा अध्यक्षद्वय ओली र प्रचण्डको झिनो बहुमत कायम छ । ओली र प्रचण्ड एक हुँदासम्म नेकपाका सबै कमिटीमा संस्थापन पक्ष नै बलियो हुने निश्चित छ ।

त्यस्तै वैद्यसमूहबाट फर्केका रामबहादुर थापा बादल, देव गुरुङ र पम्फा भुसाल पनि प्रचण्डसँगै छन् ।

माधव-झलनाथ-वामदेव गुटमा नारायणकाजीसमेत मिल्दा कम्तिमा १४ नेता हुनेछन् भने ओली पक्षमा १२ जना मात्रै प्रष्ट खुलेका छन् । तटस्थ रहेका नेताले साथ दिँदा पनि ओली र नेपाल पक्षको संख्या बराबरी हुन सक्छ । यो अवस्था कायम रहेमा स्थायी कमिटीमा ओलीको भन्दा प्रचण्डको बहुमत पुग्ने सम्भावना देखिन्छ ।

पूर्वएमालेमा केपी ओली र माधव नेपाल पक्ष प्रष्टरुपमा विभाजित भइसक्दा पनि पूर्वमाओवादी नेताहरुमा एक प्रकारको शून्यताजस्तै देखिएको छ । यही शून्यताको वीचमा शनिबार र आइतबार पूर्वमाओवादी समूहका केही स्थायी कमिटी सदस्यहरुले अध्यक्ष प्रचण्डलाई भेटेर ‘अब हाम्रो लाइन के हुने हो’ ? भन्ने प्रश्न गरेका छन् ।

प्रचण्डलाई भेटेर फर्किएका एक स्थायी कमिटी सदस्यका अनुसार अहिले प्रचण्ड केपी ओलीविरुद्ध माधव नेपाल प्रयोग गर्ने पक्षमा छैनन् । ओलीको कार्यशैलीसँग सहमत नहुँदा नहुँदै पनि प्रचण्डले अहिले ओलीसँगै मिलेर काम गर्ने हो भनेर आफूलाई भेट्न पुगेका नेताहरुलाई फर्काएका छन् ।

प्रचण्डको भनाइ उधृत गर्दै ती नेताले भने- ‘ओलीका कार्यशैलीसँग म पनि पूरै सहमत छैन तर पनि म र ओली मिलेर जानुको विकल्प छैन । ओली र म फरक तरिकाबाट जाने बित्तिकै अहिलेसम्मको सबै प्रक्रिया भताभुङ्ग हुन्छ र अन्ततः यसले पार्टी र आन्दोलनलाई क्षति पुग्छ । त्यसैले अहिले हामी मिलेरै जाने हो ।’

स्रोतका अनुसार पूर्वमाओवादीका अधिकांश स्थायी कमिटी सदस्यहरुले प्रचण्डको लाइन पर्खिएका छन् । नारायणकाजी श्रेष्ठ भने माधव नेपालसँग मिल्न जाने सम्भावना प्रचण्ड निकट नेताहरुले देखेका छन् ।

नेकपाको एकीकरण हुँदै गर्दा केपी ओलीले प्रचण्डलाई साथ लिएर पार्टीमा शक्तिश्ााली बन्ने सोचेका थिए । त्यसैगरी झलनाथ, माधव र वामदेवले पनि एकीकृत पार्टीमा प्रचण्डले आफूलाई साथ दिन्छन् र ओली पक्षलाई कमजोर पार्न सकिन्छ भन्ने ठानेका थिए । तर, अहिलेसम्म प्रचण्डको मन झलनाथ-वामदेव समूहतिर भए पनि शरीर चाहिँ केपी ओलीतिरै ढल्किएको अवस्था छ ।

र, पूर्वएमालेहरु आपसमा भिड्दै जाँदा आफू बलियो हुने अंकगणीतीय सुविधामा प्रचण्ड पुगेका छन् ।

माधव-झलनाथ-वामदेव शक्ति आर्जन गर्ने प्रयासमा

पूर्वएमालेको नवौं महाधिवेशनबाट स्थापित भएका दुई गुटहरु एकीकृत नेकपामा पनि प्रष्ट रुपमै चिरा परेका छन् । नवौं महाधिवेशनमा ओलीसँग झिनो मतले पराजित माधव नेपाल पछिल्लो समीकरणमा ओलीभन्दा बलियो बन्न खोजेका छन् ।

झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठको साथ कायमै राखेको खण्डमा नेकपामा माधव नेपाल निर्णायक शक्ति हुनेछन् ।

९ सदस्यीय सचिवालयमा चारजना नेता एकातिर हुँदा अध्यक्षद्वय ओली र प्रचण्डको झिनो बहुमत कायम छ । ओली र प्रचण्ड एक हुँदासम्म नेकपाका सबै कमिटीमा संस्थापन पक्ष नै बलियो हुने निश्चित छ । किनकी प्रचण्डसँग लगभग सिंगो पूर्वमाओवादी एक ढिक्का हुँदा ओलीसँग आफ्नो पूर्ववत शक्ति कायमै छ । वामदेवको साथ छुटे पनि ओली पूर्वएमाले पंक्तिमा बलियो पोजिसनमै छन् ।

आफ्नो तेस्रो बरियता खोसिएपछि ओलीसँग भन्दा माधव नेपालसँग बढी आक्रोशित बनेका खनालको सहानुभूति प्रचण्डतिर जाने अनुमान गरिएको थियो । उनले अनलाइनखबरको अन्तर्वार्तामा खुलेरै भनेका थिए- अब हाम्रा नेता प्रचण्ड हुन् ।

तर, पछिल्ला घटनाक्रममा ओलीविरुद्ध माधव र झलनाथ सँगै देखिएका छन् । काठमाडौं-७ बाट चुनाव लड्ने प्रयास असफल बनाइएपछि वामदेव पनि ओलीबाट लगभग अलग भइसकेका छन् । यद्यपि बामदेवले ओलीलाई छाड्दा स्थायी कमिटीको गणितमा तात्विक फेर बदल हुनेछैन । किनकि, किरण गुरुङले समेत ओलीको साथ छाडिहालेका छैनन् । तत्कालीन एमालेको स्थायी कमिटीमा किरण गुरुङ बामदेव निकट मानिन्थे ।

पार्टी एकतापछि कुनै पनि विषयमा पार्टीमा छलफल र बहस हुन छाडेको भन्दै अधिकांश नेताहरु अध्यक्षद्वयसँग असन्तुष्ट छन् । ओली र प्रचण्ड दुबैमाथि यस्तो आरोप आउने गरे पनि माधव नेपाल, झलनाथ, बामदेव र नारायणकाजी बाहेक अन्य नेताहरुको पक्षधरता खुलेको छैन ।

कतिपय बेलामा ईश्वर पोखरेलले पनि ओलीसँग असन्तुष्टि जनाउने गरेका छन् । तर, उनी अहिलेको गणितमा ओली- प्रचण्डकै साथमा छन् । त्यस्तै बादल पनि ओली-प्रचण्डकै साथमा उभिएका छन् । यद्यपि प्रचण्डले साथ नदिने हो भने नेकपा स्थायी कमिटीमा प्रधानमन्त्री केपी ओली कमजोर हुन सक्छन् ।

उता प्रचण्डलाई साथमा लिएर ओलीसँग अन्तरसंघर्ष गर्न सकिने सोचाइमा रहेका झलनाथ- माधव र वामदेव गौतमहरु अहिले प्रचण्डको पक्षमा रहेका पूर्वमाओवादीका अन्य नेतालाई आफ्नो कित्तातिर तान्ने प्रयासमा जुटेका छन् ।

हाल स्थायी कमिटीमा रहेका पूर्वमाओवादीका सबै नेताले प्रचण्डलाई नै सघाउँछन् भन्ने ग्यारेन्टी गर्ने अवस्था नरहेको पूर्वएमालेका असन्तुष्ट नेताहरुको अनुमान छ । विगतमा प्रचण्डकै निकटमा रहेका कतिपय नेताहरु प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति असन्तुष्ट रहँदै आएकाले ओली-प्रचण्ड गठबन्धनमा यसले असर पार्न सक्ने दाबी उनीहरुको छ ।

तर, पूर्वमाओवादीबाट स्थायी कमिटी सदस्य बनेका हरिबोल गजुरेल आगामी स्थायी कमिटीको बैठकमा कुनै पनि कित्ताकाट र भोटिङ नहुने बताउँछन् । महाधिवेशनसम्म सहमतिकै आधारमा अघि बढ्ने समझदारीका आधारमा पार्टी एकता भएको र सरकारले पनि केही कमीकमजोरीका बावदुत राम्रै काम गरिरहेकाले स्थायी कमिटी बैठकमा बहुमत-अल्पमत नहुने गजुरेलको तर्क छ ।

‘नयाँ गुट बनाउने प्रयासहरु भइरहेका छन्, तर यसको कुनै अर्थ छैन, गजुरेलले अनलाइनखबरसँग भने, ‘महाधिवेशनअघिसम्म पार्टी सहमतिकै आधारमा चल्छ, कुनै भोटिङ सोटिङ वा कित्ताकाट हुँदैन ।’

ओली र प्रचण्ड मिल्दा भारी बहुमत

प्रचण्डनिकट स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले अहिले पूर्वमाओवादी र पूर्वएमालेभित्र विगतका गुटको विभाजन देखाउने बेला नभएको बताए । उनले आफूहरु ओली र प्रचण्डकै नेतृत्वलाई बलियो बनाउँदै त्यसमा माधव नेपाल लगायतका बरिष्ठ नेताहरुलाई पनि मिलाएर लैजानुपर्छ भन्ने पक्षमा रहेको प्रतिक्रिया दिए ।

नेकपामा, विशेष गरी पूर्वएमाले समूहमा देखिएको अन्तरविरोधको अर्को रोचक पहेली के छ भने झलनाथ-माधव-वामदेव अहिले एकै ठाउँमा त देखिएका छन्, तर उनीहरुको मुद्दा पनि आपसमा मिल्दैन ।

ओली र प्रचण्डले अहिले जसरी सल्लाहमै भागबण्डा गरेर पार्टी सञ्चालन गरिरहेका छन्, यो स्थिति कायमै रहँदा गणितमा पनि ओली-प्रचण्ड नै सबै कमिटीमा बहुमतमा हुने छन् ।

आउने महाधिवेशनमा आफ्नो प्रतिस्पर्धा माधव नेपालसँग हुने आँकलनका कारण पनि प्रचण्डले ओलीलाई चिढ्याउने तत्काल सम्भावना देखिँदैन ।
यद्यपि प्रचण्डले केपी ओलीको कार्यशैलीबारे आफू निकटस्थहरुसँग गुनासो गर्दै आएका छन् । तर, प्रचण्ड नेकपाभित्रको अन्तरसंघर्षमा मध्यमार्गी धारमा छन् ।

गिजोलिएका मुद्दाहरु

नेकपाभित्रको अंकगणितको कुरा गरिरहँदा नेताहरुको टाउकोमा मात्रै नभएर राजनीतिक-वैचारिक मुद्दामा पनि ध्यान दिनुपर्ने देखिन्छ । वैचारिक-राजनीतिक हिसाबले हेर्दा पार्टीभित्रका मुद्दाहरु गिजोलिएको अवस्थामा छन् ।

जस्तो- एशिया प्यासिफिक समिटको विषयमा केपी ओली र माधव नेपाल एकै ठाउँमा थिए भने नारायणकाजीले आपत्ति जनाएका थिए । अहिले सचिवालय बैठक बहिस्कार गर्ने बेलामा चाहिँ माधव नेपाल र नारायणकाजी एकै ठाउँमा आइपुगेका छन् ।

आगामी स्थायी कमिटी बैठकमा समिटबारे छलफल हुँदा माधव नेपाल र नारायणकाजी एक ठाउँमा हुनेछन् या ओली र माधव एक ठाउँमा हुन्छन् ? यो निकै रोचक हुनेछ । अहिले माधवसँग मिलेका झलनाथ खनाल पनि एसिया प्यासिफिक समिटका विषयमा विपक्षमा थिए ।

वामदेव गौतमलाई काठमाडौं ७ बाट चुनाव लगाउने प्रश्नमा नारायणकाजी सहमत थिएनन् । यसमा प्रचण्ड र वामदेव एक ठाउँमा थिए । सचिवालय वैठक सँगै बहिस्कार गरेका नारायणकाजीले यसलाई ‘समय आन्दोलन’ बताएका छन् । उनी बामदेव, माधवबारे उनीहरुले नै जान्ने बताउँछन् ।

केपी ओली सरकारको कार्यशैलीका विषयमा हुने बहसमा विगतमा माधव नेपालले केपी ओलीलाई दह्रो साथ दिएकै हुन् । माधव नेपाल र ओली आपसमा मिले भन्ने चर्चा पनि व्यापकरुपमा चलेकै हो । पछि उनले देशै डुब्न लाग्यो भनेर संसदमा अभिव्यक्ति दिए । अहिले फेरि माधव नेपालले सरकारको कामप्रति असन्तुष्टि जनाउने हो भने यसमा प्रचण्डले के गर्लान् ?

यो मामिलामा अहिले प्रचण्ड र माधव नेपाल उस्तै-उस्तै जमीनमा उभिएका छन् । उनीहरु ओलीको कार्यशैलीप्रति भित्रीरुपमा असन्तुष्ट छन् । तर, एकजना ओलीको नजिक छन्, अर्को टाढा । यसो हुनुको एउटा कारण के हो भने ओलीले प्रचण्डलाई च्याप्ने र माधव नेपाललाई ङयाँक्ने नीति लिएका छन् ।

नेकपामा, विशेष गरी पूर्वएमाले समूहमा देखिएको अन्तरविरोधको अर्को रोचक पहेली के छ भने झलनाथ-माधव-वामदेव अहिले एकै ठाउँमा त देखिएका छन्, तर उनीहरुको मुद्दा पनि आपसमा मिल्दैन । तीनै नेताहरुको जोड र कोण फरक छ ।

बरियतालाई लिएर माधव र झलनाथमै मनमुटाव छ । उता वामदेव सत्ताको कुरा गर्छन्, झलनाथ ‘समाजवाद’ को कुरा गर्छन् ।

माधव नेपालचाहिँ व्यवहारिक हिसाबमा पार्टी र सत्ताको नियुक्ति इत्यादिमा आफ्नो गुटको बचाउमा बढी केन्दि्रत देखिन्छन् । यही नीति अनुसार उनले ओलीसँग मिलेर मन्त्रिमण्डलमा आफ्नो हिस्सा सुरक्षित गरेका थिए ।

त्यसैगरी स्थायी कमिटीमा पनि तत्कालीन एमालेबाट चारजना थपिँदा माधव नेपालले बदुराम भुसाल र रघुजी पन्तलाई घुसाउन सफल भए । त्यतिबेला घनश्याम भुसालले संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्न चाहेका थिए, माधव नेपालले ओलीसँग एउटै गाडीमा चढेर ओलीलाई साथ दिए । यही कारण हिजो माधवलाई सघाएका घनश्याम भुसालहरु अहिले उनीसँग रिसाएको अवस्था छ ।

यो अवस्थामा नेकपाको स्थायी कमिटी बैठकमा विभिन्न मुद्दामा पूर्वगुटहरु एकापसमै गिजोलिने सम्भावना बलियो देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment