Comments Add Comment

मेस्सीलाई रोनाल्डोको चुनौती : प्रतिस्पर्धा गर्न सिरी ए आऊ

२४ मंसिर, काठमाडौं । जारी सिजनको सुरुमा स्पेनिस क्लब रियल मड्रिडबाट इटालियन क्लब युभेन्टस लागेका क्रिष्टियानो रोनाल्डोले उनको प्रतिस्पर्धीको रुपमा हेरिने लियोनल मेस्सीलाई पनि ‘सिरी ए’ मा आउन चुनौती दिएका छन् ।

इटालियन दैनिक पत्रिका ला गाजेटा डेलो स्पोर्टससँगको अन्तर्वार्तामा रोनाल्डोले स्पेनिस क्लब बार्सिलोना छाडेर इटाली आउन मेस्सीलाई चुनौती दिएका हुन् ।

‘मलाई लाग्छ मेस्सी मलाई मिस गरिरहेका छन् । मैले इंग्ल्याण्ड, स्पेन, इटाली, पोर्चुगलबाट खेलिसकेको छु । उनी भने जहिले स्पेनमा मात्रै छन् । उनलाई अझै मेरो खाँचो छ’ रोनाल्डोले भनेका छन्, ‘मेरो लागि जीवन नै चुनौती हो र मलाई चुनौती लिन रमाइलो पनि लाग्छ ।’

‘उनी इटाली आए म खुशी हुनेछु । उनी मजस्तै चुनौतीहरु लिन सक्ने हुनुपर्छ । तर, उनी त्यही धेरै खुशी छन्, म त्यसको सम्मान पनि गर्छु । उनी राम्रा खेलाडी हुन् ।’
‘हुन त फुटबल मेस्सी र मेरो प्रतिस्पर्धा पनि होइन । म आफ्नो काम गर्न खुशी मान्छु र जहाँ गए पनि मेहनत गरेर खेल्छु । त्यसले नै हरेक क्लबमा सफल भएको छु । मुख्य कुरा मलाई अरुसँग तुलना गरेको राम्रो लाग्दैन’ उनले भनेका छन् ।

‘हुन त अंकहरु हेरेर फुटबलबारे धेरै कुरा बुझिँदैन । तपाइँहरु अंक नै हेर्नुहुन्छ भने पनि बुझ्नुहुनेछ । हरेक समय मैले आफैलाई चुनौती दिएर खेलिरहेको हुन्छु । त्यसले नै अहिलेसम्म पनि महत्वपूर्ण खेलाडीका रुपमा छु ।’

रोनाल्डोले गएको वर्षको आफ्नो उपलब्धीलाई वेवास्ता गरिएको भन्दै दुःख लागेको पनि बताए । आउँदो वर्ष बालोन डिओर जित्नेमा आफू विश्वस्त रहेको उनको भनाइ छ ।
‘म हरेक वर्ष बालोन डिओर जित्ने क्षमता राख्छु । त्यसका लागि मेहनत पनि गरिरहेको छु’ उनले भने ।

२००७ मा काकाले बालोन डिओर जितेपछि लगातार १० पटक मेस्सी र रोनाल्डोले बालोन डिओर जितेका थिए । यसपटक लुका मोडरिकले बालोन डिओर जितेर उनीहरुको दबदबा तोडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment