Comments Add Comment

च्याम्पियन्स लिग : टोटनह्यामले बार्सिलोनालाई हराउला ?

२५ मंसिर, काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा मंगलबार राति समूह चरणको अन्तिम खेलमा स्पेनिस क्लब बार्सिलोन र इंग्लिस क्लब टोटनह्यामबीच खेल हुँदै छ ।

अघिल्लो चरणमा पुगिसकेकाले घरेलु मैदानमा बार्सिलोना दबावविहीन छ भने टोटनह्याम अघिल्लो चरणमा पुग्न संघर्षमा छ । समूह बी अन्तर्गत नै राति हुने इन्टर मिलान र पीएसभी इन्दोभेनको खेलमा टोटनह्यामको भाग्य टिकेको छ । इन्टर मिलान र टोटनह्याम दुवैको ५ खेलमा ७ अंक छ ।

यसैले नेपाली समयअनुसार मंगलबार राति पौने २ बजे हुने खेलको गहनता र केन्द्रीयता टोटनह्याममा नै देखिएको छ ।

के छ टिमको अवस्था ?

बार्सिलोनाका प्रशिक्षक एर्नेस्टो भालभर्देले आफूहरु जित्नपर्ने दबावमा नरहे पनि च्याम्पियन्स लिगको खेल भएकाले महत्वका साथ मैदान उत्रने बताएका छन् । उनले केही नयाँ खेलाडीलाई अवसर दिन खोजे पनि बार्सिलोनाको मैदानमा टोटनह्यामलाई सहज हुने छैन ।

बार्सिलोनाको अन्तिम १८ मा लुइस स्वारेजलाई राखे पनि उनमा घुँडाको समस्या रहेकाले मुनिरलाई खेलाउने सम्भावना रहेको छ । साथै मिडफिल्डमा कार्लेस एलेनाले पनि अवसर पाउन सक्छन् ।

टोटनह्यामका फुल ब्याक सर्जी अरिएर र किएरन ट्रिपियर चोटका कारण बार्सिलोनाविरुद्धको खेलमा हुने छैनन् ।

टोटनह्यामका प्रशिक्षक मोउरिसियो पोचेटिनोले आफूहरु राम्रो खेल खेल्ने मनस्थितिमा रहेको र दबाव महसुस नगरेको बताएका छन् । ‘इन्टर मिलानलाई कुनै डर छैन । हामीले पनि आफ्नै खेललाई ध्यान दिनुपर्छ । हामी जित्ने सोच बनाएर खेल्नेछौँ’ उनले भने ।

केही तथ्य र तथ्यांक

टोटनह्यामसँगको पछिल्लो तीन खेलमा बार्सिलोना अपराजित रहेको छ । साथै बार्सिलोनाले इंग्लिस क्लबसँगको पछिल्लो १२ खेलमा एक खेल मात्रै हारेको छ । जुन दुई वर्षअघि म्यानचेस्टर सिटीसँग हारेको थियो ।

सन् १९७७ पछि घरेलु मैदानमा इंग्लिस क्लबसँग खेलेका ३० खेलमा बार्सिलोना एक खेलमा (२००७ मा लिभरपुलसँग) मात्र पराजित भएको छ ।

साथै च्याम्पियन्स लिग अन्तर्गत घरेलु मैदानमा खेलेको पछिल्लो २८ खेलमा बार्सिलोना हारेको छैन । जसमा ८७ गोल गरेको छ भने १३ गोल खाएको छ । त्यसमा पनि कुनै पनि खेलमा एक गोलभन्दा बढी खाएको छैन ।

इंग्लिस क्लबविरुद्ध च्याम्पियन्स लिग खेलमा सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान बार्सिलोनाकै लियोनल मेस्सीको नाममा छ । उनले २२ गोल गरेका छन् । उनीपछि धेरै गोल गर्ने क्रिष्टियानो रोनाल्डोको १२ गोल रहेको छ ।

च्याम्पियन्स लिगमा समूह चरणको अन्तिम खेलमा टोटनह्याम अहिलेसम्म पराजित भएको छैन । दुई खेल जितेको छ भने एक खेल बराबरी गरेको छ ।

यसपटक च्याम्पियन्स लिगमा टोटनह्यामले अवे मैदानमा जित निकाल्न सकेको छैन । एक खेल बराबरी गरेको छ भने एक खेल हारेको छ ।

टोटनह्यामका ह्यारी केनले च्याम्पियन्स लिगको ७ अवे खेलमा ७ गोल नै गरेका छन् । यसैले बार्सिलोनाविरुद्ध पनि उनको भूमिका प्रमुख रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment