+
+
Shares

दुर्गामाण्डौं स्वास्थ्यचौकीमा आए डाक्टर

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर २६ गते १६:२९

२६ मंसिर, डोटी । केआई सिंह गाउँपालिका–४ का ८० बर्षीय ईन्द्रसिंह खड्का लौरो टेक्दै दुर्गामाण्डौं स्वास्थ्य चौकी पुगे ।

उच्च रक्तचापको समस्या रहेका खड्काले दुर्गामाण्डौं स्वास्थ्य चौकीमा डाक्टर आएको सुनेपछि जाँच गराउन आएका हुन् । डाक्टरले उनको छाती र रक्तचाप जाँच गर्दै खानपिनमा ध्यान दिन सल्लाह दिए ।

सोही ठाउँका ७६ बर्षीय शेरबहादुर खड्का पनि स्वास्थ्य जाँच गराउन दुर्गामाण्डौं स्वास्थ्य चौकी पुगे । केही दिनदेखि टाउको दुख्नुका साथै खोकीको समस्या झेलिरहेका उनी पनि डाक्टर आएको सुनेपछि लौरोको सहाराले स्वास्थ्य चौकी आएका थिए । उनलाई पनि डाक्टरले जाँच गरे र चिसोबाट बच्न सल्लाह दिए ।

इन्द्र र शेरबहादुर जस्तै अचेल बाक्लै संख्यामा स्थानीयबासीहरु स्वास्थ्य जाँच गराउन दुर्गामाण्डौं स्वास्थ्य चौकीमा पुग्ने गरेका छन् । के आई सिंह गाउँपालिकाले आधारभूत स्वास्थ्य सेवा गाउँमै उपलब्ध गराउने उद्देश्यका साथ गाउँपालिकाबाट सेवा सुविधा पाउने गरी एमबीबीएस डाक्टर भर्ना गरेपछि दुर्गामाण्डौं स्वास्थ्य चौकीको चहल पहल वढेको हो ।

विगतमा स्वास्थ्य सहायक (एचए) को दरवन्दी रहेपनि बढी जसो सहायक स्वास्थ्य कार्यकर्ता (एडव्ल्युएच) ले स्वास्थ्य चौकी चलाउँदै आएकामा गाउँमै डाक्टर आएपछि स्थानीय हर्षित भएका छन् ।

गाउँसभाको निर्णय अनुसार गाउँकार्यपालिकाले थालेको चिकित्सक छनौट प्रक्रिया पूरा गरी डा. राजु गुरुङ नियुक्त भएका छन् । उनले नियमित रुपमा बिरामी जाँच गर्न सुरु गरेपछि दुर्गामाण्डौं स्वास्थ्य चौकीमा स्वास्थ्य जचाउन आउनेको संख्यामा बृद्धि भएको छ ।

जनताले सरल तरिकाले स्वास्थ्य उपचार पाउन भन्नका लागि गाउँपालिकाले दुर्गामाण्डौं स्वास्थ्य चौकीमा डाक्टर नियुक्त गरिएको गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाही बताउँछन् । ‘यसअघि ल्याब सेवा सुरु भइसकेको छ’ अध्यक्ष शाहीले भने ‘यथाशीघ्र एक्सरे मेसिन र अन्य उपकरण थपी स्वास्थ्य समस्या हटाउँदै लगिनेछ ।’

उनले दुर्गामाण्डौं स्वास्थ्य चौकीलाई १५ शैय्याको अस्पताल बनाउन पहल गर्ने योजना रहेको सुनाए । आफुले निर्वाचनको समयमा जनताको बिचमा गरेका बाचाहरु आफ्नो कार्यकालमा पूरा गर्न प्रतिवद्ध रहेको समेत शाहीले दोहोर्‍याए ।

विगतमा अनमी तथा अहेवसमेत नभएर उपचारका लागि घण्टौं हिँडेर सदरमुकाम धाउन बाध्य के आई सिंह गाउँवासीले डाक्टर आएपछि यस्तो समस्या भोग्नुनपर्ने वडा नम्बर ४ का वडाध्यक्ष जयबहादुर धामी बताउँछन् । उनी भन्छन् ‘डाक्टर ल्याउने काम त भयो र उहाँ (डाक्टर) लाई गाउँमै टिकाउन अन्य जनशक्ति र पूर्वाधार तयार गर्न बाँकी नै छ, यसमा ध्यान दिनुपर्छ ।’

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सरकारी छात्रवृत्तिमा एमबीबीएस अध्ययन गरेका डा गुरुङले यसअघि दुई वर्ष अछामको चौरमाण्डु स्वास्थ्य केन्द्रमा काम गरेका थिए । उनले यस क्षेत्रका स्थानीयबासीहरुको स्वास्थ्य सेवामा सहज पहुँचका लागि आफु सधैं सक्रिय भएर काम गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?