Comments Add Comment

विश्व च्याम्पियनलाई हराएको एक सेट

घरको प्यासेजमा या त्यस्तै कुनै खुला ठाउँमा चप्पलको नेट बनाएर टेबलटेनिस खेल्नुभएको छ ? असाध्यै रमाइलो हुन्छ ।

मैले पनि यसरी नै टेबलटेनिस खेल्न थालेको हुँ । छोटो समयमै राष्ट्रिय च्याम्पियन बनेँ । अन्तर्राष्ट्रिय रुपमै नाम कमाएँ । तर, सुरुआत त चप्पलको नेट नै हो ।

सानो बेलामा दाइ र म घरको प्यासेजमा चप्पल मिलाएर नेट जस्तो बनाएर राख्थ्यौँ र खेल्थ्यौँ । राम्ररी ब्याट समात्न सिकेको भने विद्यालयमा हो ।

विद्यालयमा सिकाउने आफ्नै गुरुआमासँग अहिले एउटै टिममा छु । सँगै खेल्छौँ । उपाधि जित्छौँ । आफ्नो गुरुसँग एउटै टिममा खेल्न पाउनुभन्दा ठूलो गौरव खेल जीवनमा अरु के होला र ?

***

खै किन हो नेपालमा जुनियरहरु मसँग आँट नै गर्दैनन् । मेरो नामसँगै डराएको जस्तो लाग्छ । मेहनत गर्दा आफ्नो खेल राम्रो बनाउन सकिन्छ । प्रतिस्पर्धामा जाँदा डराउनु हुँदैन

हुन त पहिले म स्वीमिङ खेल्थेँ । मेरो दाइ स्वीमिङ खेलाडी भएकाले म पनि उहाँसँगै अभ्यासमा गइरहेको हुन्थेँ । पछि विद्यालयमा टेबलटेनिस खेल्न थालेँ । प्रतिस्पर्धामा भाग लिँदै जाँदा रमाइलो लाग्न थाल्यो ।

टेलबटेनिसमा सुरुदेखि नै जस्तो हौसला पाएँ, स्वीमिङ खेल्दा त्यस्तो केही थिएन । त्यसमा फिटनेसबाहेक केही उपलब्धी थिएन । टेबलटेनिसमा आएपछि जित्न पनि थालेँ । मन पनि त्यसमा नै लाग्दै गयो ।

एकपटक विद्यालयस्तरीय टेबलटेनिस प्रतिस्पर्धा हुँदा स्कूलबाट छानिएँ । त्यो बेला हारे पनि अनुभव राम्रो भयो । स्वीमिङ सिकाउने शंकर गुरुले दाजुभाइ किन एउटै खेलमा लाग्ने त भन्ने सल्लाह दिनुभएपछि मैले टेबलटेनिसमा नै बढी ध्यान दिन थालेको हुँ ।

मेरो रोजाइ सही रहेछ भन्ने पुष्टि पनि हुँदै गएको छ । किनभने, दुई वर्षदेखि स्वीमिङ खेलिरहँदा पनि कुनै सफलता पाएको थिइनँ । तर, लैनचोरमा गएर तीन महिना टेबलटेनिस अभ्यास गरेपछि १० वर्षमुनिको प्रतिस्पर्धामा स्वर्ण पदक नै जितेँ । त्यसले अब टेबलटेनिसमा नै लाग्छु भन्ने हौसला बढ्यो ।

सानो बेलामा पनि बिहान ६ बजेदेखि नै अभ्यासमा जान्थेँ । बाबा क्यासिनोमा क्यासियरको काम गर्नुहुन्छ । उहाँ नाइट ड्युटी गरेर आएपछि मलाई अभ्यास गर्न लैनचौर पुर्‍याइदिनुहुन्थ्यो । बिहान साढे ८ देखि राष्ट्रिय टिमको प्रशिक्षण हुने भएकाले हामी ८ बजेसम्म मात्रै खेल्न पाउथ्यौँ ।

राष्ट्रिय टिमको प्रशिक्षक सुशील पौडेल सरले मैले खेलेको हेर्नुभएको रहेछ । उहाँ मेरो खेलबाट प्रभावित भएर राष्ट्रिय टिमसँग पनि प्रशिक्षण गर्ने मौका दिनुभयो । मेरो बिहानको अभ्यास बेलुका पुग्यो । दिउँसो ४ देखि बेलुका ७ बजेसम्म अभ्यास गर्न पाएपछि मैले धेरै कुरा बुझेँ । ११ वर्षको उमेरमा नै राष्ट्रिय टिमसँग अभ्यास गर्न पाउनु सानो कुरा थिएन ।

२०७३ सालमा पूर्वाञ्चलमा भएको सातौँ राष्ट्रिय खेलकुदमा सिनियरमै प्रतिस्पर्धा गर्न पाएँ । त्यतिबेला मैले १६ वर्षको उमेरमा स्वर्ण पदक जितेर किर्तिमान राखेको थिएँ । सबैभन्दा सानो उमेरमा राष्ट्रिय च्याम्पियन बनेपछि निरन्तर राष्ट्रिय टिममा रहेर खेलिरहेको छु । त्यसकै अर्को वर्ष, २०७४ सालमा राखेपले गरेको ३९ औँ राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा पनि स्वर्ण पदक जितेँ ।

मेरो अन्तर्राष्ट्रिय प्रतिस्पर्धा जुनियरबाट नै सुरु भएको थियो । सन् २०१३ मा भारतको नयाँ दिल्लीमा साउथ एसियन क्याडेट एण्ड जुनियर टेबलटेनिस च्याम्पियनसिपमा खेलेको थिएँ । जुनियरमा त्यहाँसम्म पुग्नु पनि मेरो लागि असाध्यै चुनौतीपूर्ण थियो । छनोट प्रतियोगितामा फाइनलमा पुग्न सके दिल्ली खेल्न जान पाइन्थ्यो । तर, छनोटमा सेमिफाइनलमा बुटवलको खेलाडीसँग झन्नै हारिसकेको थिएँ । पछि परिसकेको खेलमा कमब्याक गरेर जितेको हुँ । फाइनलमा भने कृष्ण थापा मगर दाइसँग थियो । छनोट भइसकेकाले फाइनलमा प्रेसर भएन । खेल हारे पनि आरामले खेलेँ ।

त्यसपछि २०१४ मा साउथ एसियन क्याडेट एण्ड जुनियर टेबलटेनिस खेल्न पाकिस्तान गएँ । २०१६ मा चिल्ड्रेन अफ एसिया इन्टरनेशनल स्पोर्टसमा भाग लिन रसिया पुगेँ । त्यसपछि पनि विभिन्न प्रतियोगितामा भारत, माल्दिभ्सविरुद्ध खेलेँ । सिनियर टिमबाट बंगलादेश, इन्डोनेसियामा खेल्न गएँ । पछिल्लो पटक इन्डोनेसियामा १८ औँ एसियाली खेलकुदको लागि गएको हुँ । एसियाली खेलकुदको अनुभव त अरुभन्दा छुट्टै नै छ ।

***

विदेशमा खेलकुदको जुन वातावरण छ, त्यसको १० प्रतिशत पनि नेपालमा छैन । विदेशमा त खेल्न भनेर हलमा छिर्ने बेला नै ओहो ! जस्तो लागिहाल्छ । ठूलो हलमा उज्यालो प्रकाश, क्यामराहरु, राम्रो बोर्ड सबै देखेर पहिल्यै नर्भस भइन्छ । आफूले जानेको खेल पनि देखाउन सकिदैँन ।

पहिलोपटक विदेश खेल्न जाँदादेखि अहिलेसम्म त्यो महसुश गरिरहेको छु । वर्षमा एक, दुई पटक हो बाहिर खेल हुने पनि । त्यही पनि जुनियरमा धेरै भइरहेको हुन्छ । सिनियरमा त खासै हुँदैन । त्यसैले हामीले बाहिरको धेरै अनुभव लिन पनि पाएका छैनौँ ।

जुनियरमा हुँदा सन् २०१३ मा आफैसँग खेलेको खेलाडीसँग अहिले पनि भेट भइरहेको हुन्छ । उनीहरुको र आफ्नो खेल हेर्दा उनीहरु कहाँ पुगिसके आफू त्यहीँ छु जस्तो लाग्छ । पहिले उही स्तरमा रहेका उनीहरु उत्कृष्ट भइसक्दा पनि आफू पुरानै स्तरमा रहनु पर्दा दुःख लाग्छ ।

आफैले सिक्न मिल्ने कुराहरु प्रविधिको विकासले गर्दा सजिलो भएको छ । युट्युबहरु हेरेर पनि सिकिरहेको हुन्छु । तर त्यसबाट धेरै फाइदा लिन सकिँदैन । प्रशिक्षकले सम्झाएपछि मात्रै बुझिन्छ । आˆनो खेल आफैले सुधार्न गल्तीहरु नै थाहा हुँदैन । प्रशिक्षकले हेरेर तिमीले यस्तो गरेका छौ, यस्तो अवस्थामा यस्तो गर भनिदिँदा सजिलो हुन्छ । नेपालमा भने त्यस्तो प्रचलन नै छैन ।

अभ्यास गर्ने बेला ब्याट अन्तर्राष्ट्रिय स्तरकै प्रयोग हुने भए पनि बलहरु त्यस्तो छैन । बोर्ड पनि बाहिर हुने जस्तो छैन । हाम्रोमा स्लो बोर्ड छ, बाहिर फास्ट बोर्ड हुन्छ । त्यसैले बाहिर ट्याकल गर्नै अप्ठेरो हुन्छ ।

टेबलटेनिसमा खेल्ने तरिकाको आधारमा भन्दा खेलाडीहरु सेक हृयाण्ड र पेन होल्ड दुईथरि हुन्छन् । अहिले पेन होल्ड त हराउँदै गइसक्यो । सेक हृयाण्डमा दुईतिरबाट नै सट हान्न मिल्छ भने पेन होल्डमा एकतर्फमात्रै सट हुन्छ ।

मेरो तरिका सेक हृयाण्ड नै हो । चीनमा एउटा खेलाडी पेन होल्डमा खेलेर पनि राम्रो गरिरहेका छन् । नेपालमा पनि अहिले महिलातर्फ नम्बर एक नविता श्रेष्ठ पेन होल्डमा नै खेल्नुहुन्छ । उहाँ मेरो पहिलो गुरु पनि हो । मलाई राम्ररी ब्याट समात्न उहाँले नै सिकाउनुभएको हो ।

खै किन हो नेपालमा जुनियरहरु मसँग आँट नै गर्दैनन् । मेरो नामसँगै डराएको जस्तो लाग्छ । मेहनत गर्दा आफ्नो खेल राम्रो बनाउन सकिन्छ । प्रतिस्पर्धामा जाँदा डराउनु हुँदैन ।

हुन त जुनियर खेलाडीहरुसँग खेलबारे धेरै कुराकानी पनि हुँदैन । आफ्नो टिप्सहरु अरुलाई सुनाउनु हुँदैन भन्ने हाम्रो खेलमा मान्यता जस्तै छ । अझ आˆनो कमजोरीहरु त भन्नै हुँदैन ।

म उनीहरुले खेलेको बेला नमिलेको कुराहरु भने भनिदिने गरेको छु । मेरो आफ्नो टेक्निकहरु त कोचलाई पनि भन्दिन । मेरो पहिलो प्रशिक्षक नविता म्यामलाई भने त्यो कुराहरु थाहा हुन्छ । स्कूलदेखि नै उहाँले सिकाउनु भएकाले र अहिले सँगै खेल्ने पनि भएकाले टेक्निकहरु सबै सेयर गरिरहेको हुन्छु । मिक्स डबल्समा अहिले हामी जोडी बनेर पनि खेल्छौँ । दुवै जना नेपाल पुलिस क्लवमा छौँ ।

नविता म्यामसँग सँगै खेल्न पाउनु मेरो खेल जीवनको ठूलो खुशी हो । त्यसमा गौरव महसुश पनि हुन्छ । पहिले मलाई सिकाउने बेला पनि उहाँले भन्नुहुन्थ्यो, ‘ल स्यान्टु हामी सँगै नम्बर वान हुनुपर्छ ।’

सातौँ राष्ट्रिय खेलकुदमा उहाँको बोली यथार्थमा परिणत हुँदा असाध्यै खुशी लागेको थियो ।

***

नेपालमा टेबलटेनिसको अवस्थालाई हेर्दा अहिले व्यवस्थापन अलि राम्रो हुँदै गएको हो कि जस्तो लाग्छ । राष्ट्रिय टिमलाई ध्यान दिन थालिएको देखिन्छ । अभ्यास नियमित नै गरिरहेका छौँ । प्रतियोगिताहरु आउँदा विशेष क्याम्प हुन्छ ।

अभ्यासको बेला बिहान साढे ८ देखि ९ बजेसम्म शारीरिक व्यायामहरु हुन्छ । त्यसपछि खेल्न थाल्छौँ । साढे ११ सम्म खेल्छौँ । शनिबारबाहेक हरेक दिन अभ्यास गर्छौं ।

खेल्दै गएपछि कसरी हान्दा के हुन्छ भन्ने कुरा बुझ्दै गइन्छ । बाहिर जानका लागि भने हामीलाई अझै नयाँ कुराको आवश्यकता छ । बाहिरका खेलाडीसँग मैत्रीपूर्ण खेलहरु हुन सकेको छैन ।

मेरो लागि सबैभन्दा अविस्मरणीय प्रतियोगिता सातौँ राष्ट्रिय खेलकुद नै हो । हुवावे गेममा स्वर्ण पदक जित्दा पनि धेरै रमाइलो लागेको थियो । त्यो अरु प्रतियोगिताभन्दा भिन्न पनि थियो ।

गएको हप्ता सकिएको १० औँ पूर्णमान बज्राचार्य स्मृति खुला टेबलटेनिसमा पनि स्वर्ण जितेँ । फाइनलमा अमर दाइसँगको खेल अप्ठ्यारो पनि भएको थियो । मनमा हार्छु कि जस्तो लागेको थियो । सकेसम्म खेलअघि मनमा त्यस्तो केही आउन त दिन्नँ, त्यही पनि खेल्दै जाँदा सोच त आइहाल्छ नै ।

खेल्नुअघि त हेडफोन कानमा लगाएर गीत सुनिरहेको हुन्छु । धेरै त रक गीत नै सुन्छु । सेन्टीमेन्टल गीत सुन्दा त कहाँ-कहाँ पुर्‍याइदिन्छ, त्यसैले सुन्न मन लाग्दैन । एलेज वाल्कर, मार्समेलोको गीतहरु बढी सुन्छु । यसले फोकस बनाइराख्न सहयोग गर्छ । मन अरु कुरामा जाँदैन ।

जुनियर प्रतियोगिताहरु आर्मी टिमबाट खेलेको थिएँ । सिनियर स्तरमा भने सातौँ राष्ट्रिय खेलकुददेखि नै नेपाल पुलिसबाट खेलिरहेको छु । त्यो बेलादेखि नै करार सम्झौता गरेर पुलिसमा आबद्ध भएँ ।

मानिसहरु सोध्छन्, खेलेर हुन्छ ? टेबलटेनिसमा मात्रै लागेर कसरी बाँच्न सकिन्छ ? नेपालमा भर्खर-भर्खर फुटबल र क्रिकेट खेलाडीको लागि राम्रो हुँदै गएको होला । अन्य खेलको अवस्था त नाजुक नै छ । सबै जना सन्दीप लामिछाने पनि त हुन सक्दैनन् । अरुतिर खासै केही देख्दिनँ ।

बाबाले पढाइलाई पनि सँगै लैजानुपर्छ भनेर सानोबेलादेखि भन्दा खेलेर कमाइहाल्छु नि जस्तो लाग्थ्यो । तर, त्यस्तो नहुने रहेछ भन्ने बुझ्दै गएँ । पढ्नु त पर्ने नै रहेछ । त्यसैले पढाइलाई पनि सँगै लगिरहेको छु ।

स्कूल नोबेल एकेडेमीमा, प्लस टु प्राइम कलेजमा पढेँ । अहिले बीआईटी सफ्टोरिका कलेजमा पढिरहेको छु । आईटीमा केही गर्ने सोच छ ।

टेबलटेनिसको विगत र वर्तमान सबै झल्किने गरी एउटा वेबसाइट बनाउने सोच पनि छ । त्यसमा सबै तथ्यांकहरु आओस्, खेलाडीहरुको सबै सूचना उपलब्ध होस् भन्ने लागेको छ ।

अहिले पहिलो प्राथमिकता खेल, दोस्रो पढाइ छ । पछि भने पहिलो पढाइ दोस्रो खेल बनाउने सोच हो ।

***

चीनका खेलाडीहरु हेर्दा हामी दंग पर्छौं । गएको एसियाली खेलकुदकै बेला मिक्स डबल्समा नविता म्याम र मैले चीनको खेलाडीलाई एक सेट हरायौं । त्यो हाम्रो लागि अविस्मरणीय क्षण थियो

पल्सर स्पोर्टस अवार्ड २०७४ मा पिपुल्स च्वाइस अवार्ड जित्दा खेलाडी भएकोमा गर्व महसुश भएको थियो । क्रिकेटका सन्दीप लामिछाने, फुटबलका किरण चेम्जोङ, भलिबलका मानबहादुर श्रेष्ठ र गल्फकी प्रतिमा शेर्पा मनोनयनमा थिए । सबैलाई पछि पारेर मैले अवार्ड जित्छु भन्ने अलिकति पनि थिएन ।

आफ्नो नाम आउँदा नै अचम्ममा परेँ । धेरै नै खुशी लाग्यो । मेहनतको फल मिल्यो भन्ने लाग्यो । मानिसहरुले टेबलटेनिसलाई पनि विचार गरिरहेका रहेछन् जस्तो महसुश त्यही बेला भयो ।

टेबलटेनिस नेपालमा धेरैतिर नै छ । शहरी क्षेत्रमा त अझ धेरै नै खेलिन्छ । तीनकुनेमा मेरो घरछेउमा पनि एउटा सिमेन्टको बोर्ड खै कसले बनाएको रहेछ । मानिसहरु त्यहाँ खेलिरहेका हुन्छन् । उनीहरुले खेलेको हेरिरहन्छु ।

कहिलेकाहीँ उनीहरु खेलेको भिडियो खिचेर सामाजिक सञ्जालमा पनि हालिदिन्छु । कुनै दिन त्यहाँ खेलिदिउँ कि जस्तो पनि लाग्छ । अहिलेसम्म त्यसरी खेलेको त छैन तर खेलौँ खेलौं लाग्छ ।

खेलाडी भएपछि समाजबाट पाइने सम्मान नै सबैभन्दा राम्रो पाटो हो । कलेजमा सुरु-सुरुमा म राष्ट्रिय खेलाडी हुँ भन्ने कसैलाई पनि थाहा थिएन । अहिले प्रतियोगिताहरु जितेर सञ्चार माध्यममा नाम आउन थालेपछि सम्मान पाइने रहेछ भन्ने महसुस भएको छ । मानिसहरुले चिनेपछि गर्ने व्यवहार नै भिन्दै हुन्छ । त्यो खेलाडी भएकाले नै मिलेको हो ।

***

चीनका खेलाडीहरु हेर्दा हामी दंग पर्छौं । गएको एसियाली खेलकुदकै बेला मिक्स डबल्समा नविता म्याम र मैले चीनको खेलाडीलाई एक सेट हरायौं । त्यो हाम्रो लागि अविस्मरणीय क्षण थियो । पहिलो सेट ११-६ र दोस्रो सेट ११-१ ले हारेका हामीले तेस्रो सेट १३-११ ले जितेका थियौँ । तर, चौथो सेटमा ११-७ ले पराजित भयौँ ।

विश्व च्याम्पियनसँग एक सेट जित्नु पनि हाम्रो लागि ठूलो गौरवको कुरा थियो । उनीहरु भने तनावमा थिए । उनीहरुको कोचले उनीहरुलाई गाली गरिरहेका थिए । त्यो देखेर हामीलाई भने झनै हौसला मिलिरहेको थियो । कोरिया, जापानको खेलाडीहरुले पनि हाम्रो समर्थनमा हुटिङ गरेका थिए । लाग्यो, खेल जित्न पाएको भए त कस्तो हुन्थ्यो होला !

प्रतिस्पर्धी आˆनै स्तरको हुँदा मनदेखि नै जित्छु भनेर मेहनत गरिन्छ । एसियाली खेलकुदमा नै चीनसँग खेल्नुअघि हामीले मंगोलियालाई १३-११, ११-७ र ११-९ ले हराएका थियौँ ।

तर, जब चीन, जापानका खेलाडीको कुरा हुन्छ, आत्मबल पहिल्यै कमजोर भइहाल्छ । उनीहरुविरुद्ध पनि शतप्रतिशत नै मेहनत त गरिन्छ । त्यसमा जित्ने भन्दा सिक्ने कुरा धेरै हुन्छ । त्यहाँ सिकेर पछि अरु खेलमा प्रयोग गर्न सकिन्छ भन्ने लाग्छ ।

हुन त काठमाडौंबाट बाहिर जिल्लामा खेल्न जाँदा नै नर्भस फिल हुन्छ भने विदेशमा त झनै हुने भइ नै हाल्यो ।

***

अब मलाई लगातार पाँच पटक राष्ट्रिय च्याम्पियन हुने मन छ । दुई पटक जितेँ । अब तीन पटक जित्न बाँकी छ । मेडलहरु पाएर लाग्ने खुशीभन्दा आफूले गरेको काममा सफलता मिलेको छ भन्ने खुशी ठूलो हो ।

पहिलोपटक क्यास नै उपहार जितेको बेलाको सम्झना पनि रमाइलो छ । त्यो जुनियर प्रतिस्पर्धा खेल्दा कीर्तिपुरमा हो । पहिलो भएर १० हजार रुपैयाँ जितेको थिएँ ।

बाबाले स्वर्ण पदक जितिस् भने मोबाइल किन्दिन्छु भन्नुभएको थियो । तर, जितेपछि किन्दिनु भएन । त्यो बेला सानै भएकाले होला, असाध्यै रोएँ पनि । एक खेलाडी जो जितेर रोइरहेको थियो । त्यो पनि मोबाइल किन्न नपाएर । पछि एसएलसी दिएपछि बाबाले नै मोबाइल किनिदिनु भयो ।

***

खेलाडी भएपछि डाइटमा विचार गर्नुपर्छ, समयतालिका अनुसार काम गर्नुपर्छ भन्ने गरिन्छ तर, मेरो त्यस्तो केही छैन ।

यो खाने यो नखाने भनेर डाइटमा विचार त गर्नुपर्ने हो, अहिलेसम्म त्यस्तो केही गरेको छैन । हामी नेपाली दालभात नै मीठो मान्छौँ । भात नखाई पेट भरिन्न । समय तालिका मिलाएर खाने त बानी नै छैन । भोक लागेपछि खाइ हाल्छु । खानेकुरामा कुखुराको मासु धेरै नै मीठो लाग्छ । फलफूलहरु पनि खान्छु ।

खेल्ने बेला होस् या अरु बेला, आˆनो काममा एकाग्र हुन्छु । खेल्ने बेला दर्शकले के भनिरहेका छन्, गाली गरिरहेका छन् कि समर्थन गरिरहेका छन् भन्ने वास्ता नै हुँदैन । विपक्षीले के सोचेर खेलिरहेको छ भन्नेमा मुख्य ध्यान हुन्छ । टेबलटेनिस खेल नै यति तीव्र हुन्छ कि थोरै मात्र फोकस आउट भयो भने अंक गुमिहाल्छ ।

अहिले भर्खर १८ वर्ष को त भएँ । पारिवारिक जिम्मेवारीको बोझ छैन । आफूले काम गरेर परिवार पाल्नुपर्ने भएपछि अलि अप्ठ्यारोहरु आउँदै जालान् । त्यसलाई सामना गर्न सक्छु भन्ने नै छ ।

मलाई सानोमा स्वीमिङ सिकाउने शंकर गुरु अहिले भेट हुँदा भन्नुहुन्छ, ‘स्यान्टु टेबलटेनिसमा लागेर राम्रो गर्‍यौ ।’

त्यस्तो सुन्न पाएपछि म बेखुशी रहनुपर्नेे कारण त के नै हुन्छ र !

प्रस्तुति- ऋग्वेद शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment