Comments Add Comment

तिलोत्तमामा प्लाष्टिक निषेध अभियान प्रभावकारी

२७ मंसिर, बुटवल । एक वर्षभित्र नगरलाई प्लाष्टिकमुक्त बनाउने घोषणा गरेको तिलोत्तमा नगरपालिकामा प्लाष्टिकजन्य वस्तुको निषेध अभियान प्रभावकारी बन्दै गएको छ ।

नगरपालिकाले गएको वैशाख १ गते नयाँ वर्षका अवसर पारेर वातावरण संरक्षण ऐन २०५३ को दफा ७ (३) अनुसार ग्रीन तिलोत्तमा, क्लिन तिलोत्तमा नारा सहित प्लाष्टिकमुक्त नगर बनाउने घोषणा गरेको थियो ।

नगरभित्र प्लाष्टिकका झोला, प्लेट र कपको बिक्री वितरण नगर्न नगराउन र विकल्पमा कपडा वा फाइबरका झोलाको प्रयोगलाई नगरपालिकाले प्रवर्द्धन गरेको छ । अहिले नगरपालिका कार्यालय, सबै वडा कार्यालय, विद्यालय, क्याम्पस, अस्पताल जस्ता सार्वजनिक स्थलहरुमा प्लाष्टिजन्य सामानको प्रयोग हुन छाडेको छ ।

प्लाष्टिक निषेध गर्न नगर कार्यपालिकाले निर्देशिका र कार्यविधिसमेत जारी गरेको छ । यो अभियानलाई सफल बनाउन नगरपालिकाले व्यवसायीका प्रतिनिधिमूलक संस्थाहरु तिलोत्तमा व्यापार संघ र तिलोत्तमा उद्योग वाणिज्य संघसंग सहकार्य गरेको छ ।

यी संस्थामार्फत व्यवसायिक प्रतिष्ठान, पसल, हाटबजार, ब्यापार मेला आदिमा प्लाष्टिक झोला,प्लेट र कपको बिक्री, वितरण र प्रयोगलाई बन्द गरिएको छ । विकल्पमा फाइबर र कपडाका झोलाको बिक्री र प्रयोगलाई प्रवर्द्धन गरिएको छ ।

नगरभित्रका सहकारी संस्था, युवा क्लब, आमा समूहहरुले पनि यो अभियानलाई सकारात्मक मानेर साथ दिएका छन् । नगरभित्रका ठूला सहकारीहरुले पनि प्लाष्टिकको साटो फाइबर झोलाको अनिवार्य प्रयोग गर्न आफ्ना सदस्यहरुलाई प्रेरित गरिरहेका नगरकै ठूलो जनउत्थान वचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष ज्ञानु पौड्याल बताउँछिन् ।

पहिलोचरणमा नगरपालिकाले एक छुट्टै समिति बनाएर नगरबासीमा प्लाष्टिकका झोला, प्लेट र कपको प्रयोग मानवीय स्वास्थ्य, वातावरण र नगरको सौन्दर्यका लागि पनि हानिकारक छ भन्ने जनचेतना जगाउन सबै वडामा अभिमुखीकरण कार्यक्रम गरिसकेको छ ।

अभिमुखीकरणपछि नगरभित्रका सबै हाटबजारहरुमा ३० हजार फाइबर झोला निःशुल्क वितरणसमेत गरिसकेको छ नगरपालिकाले । ‘७ महिनासम्म आइपुग्दा प्लाष्टिकमुक्त अभियान ५० प्रतिशत कार्यान्वयनमा आएको अनुमान गरेका छौं—नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले भने ।

नगरपालिकाले अब छिट्टै अनुगमन अभियान शुरु गरी अटेर गर्ने व्यापारीलाई निर्देशिकाअनुसार कारवाही शुरु गर्ने र आउँदो साउनसम्म नगरलाई पूर्ण प्लाष्टिक झोलामुक्त बनाउने प्रवक्ता श्रीले बताए । प्लाष्टिक निषेधित अभियान सञ्चालन गरिएसँगै तिलोत्तमामा फाइवरका झोलाको प्रयोग बढिरहेको प्लाष्टिक झोला निषेधित अभियानका संयोजक केशवराज न्यौपानेले बताए ।

नगरपालिकाको यो अभियानसँगै फाइबर झोला बनाउने उद्योगहरु नगरमा थपिन थालेका छन् । प्लास्टिक झोलाको बढ्दो प्रयोगले वातावरण, पानीको स्रोत, जमिन, वायु प्रदुषण, चौपाया तथा खेतीमा हानि पुग्ने हुँदा प्लाष्टिकमुक्त अभियान शुरु गरिएको नगरप्रमुख बासुदेव घिमिरेले बताए ।

ग्रीन तिलोत्तमा, क्लिन तिलोत्तमा नारा अन्तर्गत नगरलाई स्वच्छ र हरियालीयुक्त बनाउन नगरपालिकाले हरेक १५ दिनमा समुदायमा आधारिक वृहत सरसफाइ अभियान, जन्म दिनमा वृक्षारोपण गरौं अभियान र कुहिने तथा नकुहिने फोहर वर्गीकरण गरेर संकलन गर्ने अभियान समेत सञ्चालन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment