Comments Add Comment

ईपीएल क्रिकेट : चितवनको पहिलो जित, विराटनगर पराजित

२८ मंसिर, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगितामा चितवनले पहिलो जित हात पारेको छ ।

चितवन टाइगर्सले विराटनगर वारियर्सलाई पाँच रनले पराजित गरेको हो । त्रिवि क्रिकेट मैदानमा चितवन टाइगर्सले दिएको १९७ रनको चुनौती विराटनगर वारियर्सले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १९१ रन मात्रै बनाउन सक्यो ।

विराटनगरका लागि बाबर हायतले उत्कृष्ट प्रदर्शन गर्दै ९० रन बनाए । तर आफ्नो टिमलाई जित दिलाउन भने सकेनन् । ४२ बलको सामना गरेका बाबरले आठ छक्का र पाँच चौका प्रहार गरेका थिए ।

त्यस्तै, विराटनगरका लागि आसिफ शेखले ३० र कप्तान पारस खड्काले १९ रनको योगदान दिए । अविजित रहेका करण केसीले खेल जिताउने केही प्रयास गरेका थिए । तर अन्तिम समयमा उनी चुके । उनले १८ बलमा अविजित २४ रन बनाए ।

बलिङतर्फ चितवनका ललित भण्डारीले चार विकेट लिए । उनले चार ओभर बलिङ गर्दै २४ रन मात्रै खर्चेर चार विकेट लिन सफल भए ।

जितसँगै चितवन टाइगर्स लिगको तेस्रो स्थानमा उक्लिएको छ भने प्ले अफ पुग्ने उसको अंक गणितीय समीकरण मात्रै बाँकी रहेको छ । चितवनले यसअघिका तीन खेलमा लगातार हार ब्यहोरेको थियो ।  अब अन्तिम खेल चितवनले पोखरासँग खेल्न बाँकी छ ।

यता, पराजित विराटनगरको भने यो दोस्रो हार हो । चार खेलबाट दुई खेलमा जित र एक खेलमा हार ब्यहोरेको विराटनगरको चार अंक रहेको छ । हारपछि पनि विराटनगरको प्ले अफ पुग्ने सम्भावना बलियो रहेको छ ।

भैरहवा ग्लाडिएटर्स र ललितपुर प्याट्रिएट्स भने प्लेअफमा पुगिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment