Comments Add Comment

निर्मलाको ‘स्वाब’ ले उब्जाएको प्रश्नः ‘डीएनए रिभ्यु’ गर्ने कि स्वेच्छिक आह्वान ?

२८ मंसिर, काठमाडौं । निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणले प्रहरीमाथि विश्वासको संकट सिर्जना गरेको छ । प्रहरी अनुसन्धानमाथि सर्वसाधारणले भर गर्न छाडेका छन् ।

अब ‘डीएनए’ लाई नै अन्तिम अस्त्र मान्न थालिएको छ । तर, डीएनएको वैधानिकतामाथि पनि प्रश्न उठेको छ ।

तथापि, अहिलेसम्म प्रहरीसँग अपराधी पत्ता लगाउने आधार एउटै मात्र छ– निर्मलाको ‘भजाइनल स्वाव’ मा भेटिएको डीएनए ।

निर्मला पन्तको भजाइनल ‘स्वाब’ कसरी संकलन भयो ? त्यसमा कुनै चलखेल वा गडबडी भएको छ वा छैन ? अहिलेसम्म भइरहेको डीएनए परीक्षणमा त कुनै खोट छैन ? अनलाइनखबरले यसको भित्री कथा खोतल्ने प्रयास गरेको छ ।

विधि विज्ञान प्रयोगशालाका विज्ञका साथै निर्मला पन्तको ‘भजाइनल स्वाब’ संकलन गर्ने महाकाली अस्पतालका डाक्टरसँग समेत हामीले सोधखोज गर्‍यौं । यसक्रममा हामीले महाकाली अञ्चल अस्पतालका चिकित्सक हरिकुमार श्रेष्ठसँग जिज्ञासा राख्दा उनले भने, ‘प्राविधिकरुपमा कसरी निकालियो भन्ने विषयको जवाफ सम्बन्धित निकायले खोजेको खण्डमा हामी दिन तयार छौं । तर, हालसम्म हामीलाई सोधिएको छैन ।’

अनुसन्धानको अप्ठ्यारो

अहिलेको स्थितिसम्म आइपुग्दा प्रहरी अनुसन्धानमा मूलतः दुईवटा अप्ठ्यारा देखिएका छन् । पहिलो– कञ्चनपुरका स्थानीयबाट प्रहरीले अनुसन्धानमा पर्याप्त सहयोग पाउन सकेको छैन, जुन प्रहरीले प्रारम्भमा गरेको लापबाहीको उपज हो ।

अर्को, प्राविधिक पुष्टिविना सर्वसाधारण कसैलाई पनि अभियुक्त मान्न तयार छैनन् । निर्मलाको शरीरबाट लिइएको ‘भजाइनल स्वाब’ का कारण अब अभियुक्तको साविती बयानमात्रै पर्याप्त प्रमाण हुन सक्दैन । बयानसँगै डीएनए पनि ‘म्याच’ हुनैपर्ने प्राविधिक पक्ष अबको अनुसन्धानमा निर्णायक बन्न पुगेको छ ।

नेपाल प्रहरीको सामाखुशीमा रहेको केन्द्रीय विधि विज्ञान प्रयोगशालाको अहिलेसम्मकै रेकर्डमा एउटै घटनामा सबैभन्दा बढी डीएनए परीक्षण भएको निर्मला पन्त प्रकरणमै हो । प्रहरी अधिकारी स्वयम् भन्छन्, ‘अब हामीसँग अभियुक्त प्रमाणित गर्ने एउटै मात्र विकल्प छ, त्यो हो डीएनए ।’

अहिले मुख्य अभियुक्त ठोकुवा गर्दै प्रहरीले सार्वजनिक गरेको व्यक्तिको डीएनए पनि नमिल्ने आशंका सार्वजनिक भइरहँदा अनुसन्धान अधिकारीहरुले नै समेत निर्मलाको ‘स्वाव’माथि प्रश्न उठाउन थालेका छन् ।

अनुसन्धान अधिकारी मात्रै होइन, स्वयं निर्मला पन्तकी आमा दुर्गादेवी र बुबा यज्ञराज पन्तले पनि यसअघि अनलाइनखबरसँग कुरा गर्दै संकलित स्वाब निर्मलाकै भएको पुष्टि गरिनुपर्ने माग गरेका थिए ।

तर, नेपाल प्रहरी अहिलेसम्म यस विषयमा मौन छ ।

कसरी सङ्कलन भयो ‘स्वाव’ ?

निर्मलाको ‘भजाइनल स्वाव’ बारे प्रश्न उठाइनु कत्तिको जायज छ त ? यो विषय जान्नुअघि ‘भजाइनल स्वाब’ कसरी संकलन भयो भन्ने बुझ्नु जरुरी छ ।

निर्मलाको शव ११ साउनमा घर नजिकै उखुबारीमा भेटियो । केहीबेरमा त्यहाँ सोको (सिन अफ क्राइम) अफिसर आइपुगे । मुद्दा चल्ने प्रहरीको हरेक इकाइमा ‘सोको अफिसर हुन्छन्’ । उनीहरुको काम घटनास्थलमा गएर प्रमाणहरुलाई रीतपूर्वक संकलन गर्नु हो । साथै, घटनास्थल घेर्ने, रेखाङ्कन गरेर घटनास्थललाई सुरक्षित राख्ने लगायतका काम पनि ‘सोको अफिसर’ कै हो ।

तर, यो घटनामा संलग्न अफिसरले आफ्नो जिम्मेवारी पूर्णरुपमा निर्वाह गरेको देखिँदैन । त्यहाँ न त घटनास्थल घेरिएको थियो, न त प्रमाणहरुलाई सुरक्षित राख्ने काम नै भयो ।

हालसम्म गृहमन्त्रालय र प्रहरीले गरेको छानबिनलाई आधार मान्ने हो भने घटनास्थलमा नियतवश प्रमाण नष्ट गरिएको नभई लापरबाही भएको हो । तर, नियतवश नभए पनि प्रमाण त नष्ट भएकै हो, जसबाट उनीहरुले छुट पाउने देखिँदैन ।

घटनास्थलमा निर्मलाको सुरुवाल पर्खाल्दै महिला प्रहरी ।

घटनास्थलबाट प्रमाण संकलन कार्य सकिएपछि मुचुल्का उठाएर पानीमा भएको शवलाई निकालेर महाकाली अञ्चल अस्पतालमा पोष्टमार्टमका लागि पुर्‍याइयो । अनि, पोस्टमार्टमका क्रममा निर्मलाको ‘भजाइनल स्वाब’ निकालियो ।

भजाइनल स्वाब गुप्ताङ्गको भित्री भागबाट निकालिने जैविक पदार्थ हो । त्यही स्वाब निर्मलाको गुप्ताङगबाट निकाल्ने काम गरेको थियो, महाकाली अञ्चल अस्पतालका चिकित्सकको टोलीले ।

गुप्ताङ्गभित्रको तीन भागबाट स्वावको नमूना निकालिएको चिकित्सकहरु बताउँछन्, जहाँ बलात्कारीको वीर्यको अंश भेटियो र त्यसमा भेटिएको डीएनएलाई शंकास्पद व्यक्तिसँग भिडाएर अहिले हेरिँदैछ ।

कसरी निकालियो डीएनए ?

महाकाली अञ्चल अस्पतालका चिकित्सकले निकालेको स्वावलाई खामबन्दी गरेर त्यहीबेला काठमाडौं ल्याउने तयारी गरियो, जतिबेला अभियुक्तलाई चाँडो सार्वजनिक गर्न दबाव दिँदै जिल्लामा आन्दोलन चर्किइसकेको थियो । यातायात ठप्प थियो ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रहरी नायब उपरीक्षक (डीएसपी) अंगुर जिसी (हाल निलम्बित) को टोली कञ्चनपुर पुगेपछि संकलित ‘भजाइनल स्वाब’ लाई तत्काल काठमाडौं पठाउने प्रयास थालियो । त्यसक्रममा प्रहरीकै गाडीमा राखेर ७० किलोमिटर पर रहेको धनगढी विमानस्थल, गेटासम्म ‘स्वाव’लाई पुर्‍याइयो ।

त्यसअघि नै चिकित्सकहरुले स्वावलाई शिलबन्दीसँगै मुचुल्का तयार पारेर प्रहरीलाई जिम्मा दिएका थिए । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले डीएनए परीक्षण गरिदिन अनुरोध गर्दै केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालालाई निवेदन पनि लेखेको थियो, जहाँ लाहाछापको नमूना पनि थियो ।

धनगढीबाट त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै निर्मलाको स्वाबलाई सामाखुशीस्थित प्रहरीको विधि विज्ञान प्रयोगशालामा ल्याइयो । यहाँ आइपुगेपछि अधिकारीहरुले ‘भेरिफाई’ गरे ।

गुप्ताङ्गमा निर्मलाको कपडा राखिदिए पनि मुख्य प्रमाण ‘भजाइनल स्वाब’ भने नष्ट हुन नपाएको प्राविधिकहरुको दाबी छ । किनकि, यो स्वाब बाहिरी भागबाट नभएर गुप्ताङ्गको भित्री पाटोबाट निकालिने हो

प्रमाणीकरणका लागि १० वटा सर्तमध्ये ३ वटा सर्त मुख्य मानिन्छन् । तीनमध्ये कुनै एक पूरा नभएको खण्डमा नमूनालाई फिर्ता पठाइन्छ ।

प्रयोगशालाका १० सर्तमध्ये केही यस्ता छन्– फरवार्डिङ नाट (निवेदन), इभिडेन्स सिल्ड (सबुतको सुरक्षा स्थिति), उपयुक्त लेबलिङ, स्ट्यान्डर्ड स्याम्पल अफ कम्पेरिजन… ।

यदि संकलित नमूनाले ती मापदण्ड पूरा गरेको खण्डमा मात्रै प्रयोगशालाका अधिकारीले त्यो प्रमाण लिन्छन् । नत्र, त्यो प्रमाण नै स्वीकार गरिँदैन ।

निर्मलाको स्वाब प्रयोगशालामा लगिसकेपछि डीएनए परीक्षण कक्षमा स्याम्पललाई लगियो, जहाँ डीएनए परीक्षणका ६ वटा प्रक्रिया पार गर्नुपर्थ्यो ।

नेपाल प्रहरीको डीएनए परीक्षण प्रयोगशालामा १० वटा कोठा छन् । ती मध्ये ६ वटा भिन्दाभिन्दै कोठामा विविध प्रक्रिया पार गरेपछि मात्रै नतिजा आउँछ ।

परीक्षणको प्रारम्भिक काम ‘एक्स्ट्याक्टिङ रुम’मा गरिन्छ । त्यहाँ कोषिकाहरुबाट डीएनए निकाल्ने काम हुन्छ । त्यसपछि ६ विधि पार गरेर मात्रै अन्तिम नतिजा आउँछ । यो प्रक्रियाका लागि ७ देखि १५ दिनसम्म लाग्छ सक्छ । किनकि, डीएनए परीक्षणको प्रक्रिया महंगो पर्छ । र, एकैपटक निश्चित संख्यामा नमूना संकलन गरेर मात्रै परीक्षण गरिन्छ ।

तर, अतिआवश्यक भएको खण्डमा भने २४ घण्टामै पनि नतिजा दिन सकिने प्रयोगशालाका अधिकारीहरु बताउँछन् । यद्यपि, यसमा केही अपवाद छन् । हड्डी र दाँतबाट निकालिएको डीएनएको परीक्षणमा बढी समय लाग्छ ।

किन प्रश्न उठाउने ? किन नउठाउने ?

निर्मला पन्तको शव भेटिएको स्थलमा पानी जमेको थियो । घरबाट डेढ किलोमिटर माथि (महेन्द्रनगर बजारतर्फ) सडक छेवैमा रहेको नहर तरेपछि पुगिने उखुबारी नै निर्मलाको शव भेटिएको ‘क्राइम सिन’ हो ।

यद्यपि, उनको हत्या त्यहीँ भएको हो या अन्यत्रै भन्ने विषय निक्र्यौल भइसकेको छैन । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको अनुसन्धान अधिकारीहरुको टोलीले भने घटनास्थल अन्यत्रै भएको हुन सक्ने आशंका गरेको थियो ।

निर्मलाको शव उखुबारीभित्र पानीमा चुर्लुम्म डुबेको अवस्थामा थियो । अझ घोप्टो परेको अवस्थामा । घटनास्थलमा प्रवेश गरेकी प्रहरी जवान चाँदनी साउदले निर्मलाकै कपडा (जसलाई सबुतको रुपमा सुरक्षित गर्नु पर्ने थियो) त्यही पानीले पखाल्छिन् । र, निर्मलाको गुप्ताङ्ग छोपिदिन्छिन् । जुन गतिविधि सञ्चारकर्मीहरुको क्यामेरामा पनि कैद भयो । र, त्यही भिडियो नै निर्मला प्रकरणको अनुसन्धानमा प्रहरीको कमजोरीमाथि प्रश्न उठाउने सबैभन्दा बलियो आधार बन्यो ।

घटनास्थलमा जमेको फोहोर पानीले स्वाबमा गडबडी भयो कि भन्ने आशंका पनि गरिए । तर, गुप्ताङ्गमा निर्मलाको कपडा राखिदिए पनि मुख्य प्रमाण ‘भजाइनल स्वाब’ भने नष्ट हुन नपाएको प्राविधिकहरुको दाबी छ । किनकि, यो स्वाब बाहिरी भागबाट नभएर गुप्ताङ्गको भित्री पाटोबाट निकालिने हो ।

स्वाब निकाल्ने काम सकारात्मक पाटो भएको मान्छन्, राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्वकार्यकारी निर्देशक जीवनप्रसाद रिजाल । उनले थप प्रष्ट्याउँदै अनलाइनखबरसँग भने, ‘पानी पर्‍यो भन्दैमा यो प्रमाण सिद्धिँदैन । मानौं, माथिल्लो भागको बगायो पनि होला । तर, गुप्ताङ्गको भित्रपट्टिबाट निकालिएको कुरामा अविश्वास गर्नु हुँदैन ।’

विज्ञका अनुसार गुप्ताङको भित्री भागबाट ‘स्वाब’ निकालिने भएकाले त्यो नष्ट हुन पाएन । पोष्टमार्टमका लागि अस्पताल पुर्‍याएपछि चिकित्सकहरुले ‘स्वाब’ का ३ वटा नमूना निकालिदिएका थिए । तर, घटनास्थलमा भेटिन सक्ने गुप्ताङको रौं जस्ता अन्य प्रमाणहरु संकलन गर्न भने घटनास्थलमा रहेका प्रहरीहरु चुके ।

बरु झन् गम्भीर लारबाही त के भयो भने घटनास्थलबाट सबुत उठाएर मुचुल्का गरिसकेको २२ दिनपछि थप प्रमाण उठाएको भेटियो । यसले प्रहरीले कुन हदसम्मको लापरबाही गरेको थियो भन्ने पनि देखाउँछ ।

महाकाली अञ्चल अस्पतालका चिकित्सकहरुले तीनवटा नमूना संकलन गरेर प्रहरीको जिम्मा लगाएका थिए । एउटा 1L, 2M र 3H । यो भनेको एउटा लोअर (तल्लो), अर्को मिडियम (मध्य) र तेस्रो चाहिँ हाइ (भित्री) भागबाट निकालिएको नमूना हो ।

यहाँ चिकित्सकहरुको काम स्वाव निकालेर दिनु मात्रै हो । यसमा बलात्कारीको डीएनए छ/छैन भन्ने विषय पत्ता लगाउने जिम्मेवारी प्रयोगशालाकै हो ।

अहिले उठेको एउटा मुख्य प्रश्न भनेको स्वाव निर्मलाकै हो कि होइन भन्ने छ । तर, यो स्वाव निर्मलाकै हो भन्ने प्रमाणित गर्ने प्रयास प्रहरीले अहिलेसम्म गरेको छैन वा गर्नु आवश्यक ठानेको छैन ।

गम्भीर लारबाही त के भयो भने घटनास्थलबाट सबुत उठाएर मुचुल्का गरिसकेको २२ दिनपछि थप प्रमाण उठाएको भेटियो । यसले प्रहरीले कुन हदसम्मको लापरबाही गरेको थियो भन्ने पनि देखाउँछ

यो जिज्ञासाको समाधान खोज्न पहिले ‘स्वाव’ निकाल्ने चिकित्सकहरुतिरै प्रश्न गर्नुपर्ने हुन्छ । तर, उनीहरुमाथि अहिलेसम्म अनुसन्धान अधिकारीहरुले प्रश्न तेस्र्याएकै छैनन् । न त अस्पतालले आफ्नो आधिकारिक धारणा नै सार्वजनिक गरेको छ ।

हुन त यो विषयको निवारण गर्नु त्यति अफ्ठ्यारो विषय भने होइन । निर्मलाका बुबाआमाको डीएनएलाई संकिलत स्वावमा भएको Y क्रोमोजमसँग भिडाउँदा त्यो डीएनए सक्कली हो/होइन भन्ने पुष्टि हुन्छ । तर, हालसम्म यो विषय प्रमाणित गर्ने प्रयास भएको छैन ।

अर्को महत्वपूर्ण पक्ष त के छ भने निर्मलाको ‘स्वाव’ लाई नेपाल प्रहरीले आफ्नो प्रयोगशालामा मात्रै परीक्षण गराएको छ । अरु शंकास्पदको डीएनए भने विज्ञान तथा प्रविधि मन्त्रालय मातहत रहेको राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पनि पठाइने गरेको छ ।

यसलाई गम्भीर गल्ती भएको मान्छन्, फेरेन्सिक विज्ञ रिजाल । ‘घटना यति धेरै गिजोलिइसकेपछि प्रहरीले अर्को ठाउँमा पनि परीक्षण गरेर शंका निवारण गर्नु पर्थ्यो’, उनले भने, ‘तर, त्यसो भएन ।’

आखिर किन त ? यसबारेमा अनलाइनखबरले खोजी गर्ने क्रममा अनौठो तथ्य फेला पर्‍यो ।

निर्मलाका स्वाबका तीनवटा नमूना चिकित्सकहरुले प्रहरीलाई बुझाएका थिए । ती तीनैवटा नमूना प्रहरीको प्रयोगशालामै परीक्षण गरियो । ‘तीनवटा नमूना थियो भने एउटा वा दुईवटाबाट मात्रै ‘स्वाव’बाट डीएनए निकालिनु पर्थ्यो’, रिजाल भन्छन्, ‘त्यसरी एउटा मात्रै पनि सुरक्षित राखिएको भए अहिलेको जस्तो स्थितिमा एउटा ‘स्वाब’ अर्को ल्याबमा परीक्षण गरेर शंका निवारण गर्न सकिन्थ्यो ।’

यस विषयमा प्रहरीको विधि विज्ञान प्रयोगशालाका अधिकारीहरु बोल्न चाहँदैनन् ।

तर, अर्को तथ्यचाहिँ के पनि हो भने संकलित तीनवटै स्वाबमा बलात्कारीको स्वाब भेटिन्छ नै भन्ने हुँदैन । त्यहाँ डीएनए हुन पनि सक्छ र नहुन पनि सक्छ । यदि प्रहरीको प्रयोगशालाले ३ वटै नमूना किन प्रयोग गर्‍यो भन्ने प्रष्ट्याइदिएको भए यो आशंका पनि दूर हुने थियो ।

डीएनए परीक्षणको विधि

डीएनए परीक्षणका तीनवटा विधि हुन्छन् । Autosomal STR, Y STR र Mito । नेपालमा पहिलो र दोस्रो विधिबाट मात्रै डीएनए परीक्षण हुन्छ । एक सञ्चारमाध्यममा सार्वजनिक भएको निर्मलाको स्वाबको डीएनए रिपोर्ट हेरिसकेपछि स्वतन्त्र प्राविधिकहरुले एउटा प्रश्न उठाए । त्यो हो– प्रहरीले किन Y STR मात्रै परीक्षण गर्‍यो ?

महिलामा Y Chromosome नहुने भएकाले ‘स्वाव’ मा कति प्रकारका Y Chromosome छन्, त्यही आधारमा कतिजना बलात्कारमा संलग्न छन् भन्ने निष्कर्षमा प्रहरी पुग्छ ।

निर्मलाको प्रकरणमा पनि Y STR  विधिबाटै डीएनए निकालिएको छ, जहाँ एउटा मात्रै Y Chromosome को प्रोफाइल देखिएको छ ।

यही आधारमा एकजनाले मात्रै बलात्कार गरेको विवरण यसअघि सार्वजनिक गरियो । तर, विभिन्न फेरेन्सिक विज्ञहरुसँग छलफल गर्ने क्रममा के खुल्यो भने घटनामा एक जना मात्र संलग्न भएको प्रमाण यति मात्रै पर्याप्त होइन ।

किनकि, Y Chromosome बुबाबाट छोरा, छोराबाट नाति, नातिबाट पनाति हुँदै परिवारका अन्य पुरुषहरुसँग पनि मिल्छ । त्यसैले परिवारिक नाता जोडिएका एकभन्दा बढी व्यक्तिहरुबाट घटना भएको हकमा यसले फेल खान्छ ।

धेरै जनासँग डीएनए म्याच हुने हुँदा प्रहरीले अन्य प्रमाणहरु खोजेर पुष्टि गर्नुपर्ने हुन्छ ।

नेपालमै कतिपय यस्ता बलात्कारका घटना सार्वजनिक भएका छन्, जसमा दाजुभाइदेखि बुबाछोरा नै संलग्न भएका छन् ।

यदि Autosomal STR विधिबाट स्वाबको परीक्षण गरिएको भए एउटा व्यक्तिसँग मात्रै त्यो डीएनए म्याच हुन्थ्यो । फरेन्सिक विज्ञहरुले अटोजोमल विधिबाट यो परीक्षण गरिनुपर्ने त्यसबेलै प्रश्न उठाएका थिए ।

तर, प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालाका अधिकारीहरुसँग छलफलपछि Y STR विधि किन अपनाइयो भन्ने स्पष्ट भएको छ । महिलामा X Chromosome र पुरुषमा XY Chromosome हुन्छ ।

‘यदि एकल स्रोतबाट नमूना उठाइएको छ भने Autosomal STR विधिबाट डीएनए निकाल्न सहज हुन्छ’, प्रहरीको प्रयोगशालाका प्रमुख डीएनए विज्ञ प्रहरी उपरीक्षक (एसपी) डा. राजेश सिंहले अनलाइनखबरसँग भने, ‘जस्तैः कण्डम, जहाँ बलात्कारीको मात्रै डीएनए हुन्छ । तर, स्वाबबाट निकालिने डीएनएको Autosomal STR विधिबाट परीक्षण गर्दा मिक्सड रिजल्ट आउँछ । जसका कारण भ्रम उत्पन्न हुने सम्भावना प्रबल हुन्छ । त्यसैले ‘रेप एण्ड मर्डर’ केशमा Y STR विधिबाटै परीक्षण गरिन्छ ।’

महाकाली अस्पतालका डाक्टर के भन्छन् ?

विश्वका अन्य देशहरुको इतिहास हेर्ने हो भने अमेरिकाको एउटा घटनामा ‘भजाइनल स्वाव’ निकाल्ने चिकित्सककै डीएनए पनि नतिजामा आएको छ । निर्मला प्रकरणमा पनि त्यस्तै हुन सक्ने सम्भावना हुन्छ कि हुँदैन त ?

यो जान्ने प्रयास गर्दा निर्मलाको पोष्टमार्टममा संलग्न महाकाली अञ्चल अस्पतालका चिकित्सक हरिकुमार श्रेष्ठसँग सम्पर्क भयो ।

उनले प्राविधिक रुपमा ‘स्वाब’ को नमूना सही निकालिएको दाबी गरे । उनले अनलाइनखबरसँग कुरा गर्दै भने, ‘प्राविधिकरुपमा कसरी निकालियो भन्ने विषयको जवाफ सम्बन्धित निकायले खोजेको खण्डमा हामी दिन तयार छौं । तर, हालसम्म हामीलाई सोधिएको छैन ।’

उनले सञ्चारमाध्यमबाट पनि पहिलोपटक आफूलाई यसबारे सोधिएको बताउँदै भने, ‘एकपटक मानवअधिकार आयोगले चाहिँ केही जिज्ञासा राखेको थियो । हामीले त्यसको जवाफ दिइसकेका छौं ।’

डा. श्रेष्ठले ‘स्वाब’ निकाल्न स्ट्रेलाइज ग्लोबस (ब्याक्टेरिया वा अन्य जीवित सूक्ष्म जीवाणुबाट मुक्त पञ्जा) प्रयोग गरिएको दाबी गरे । ‘स्वाब’ निकाल्नु जति संवेदनशील र महत्वपूर्ण विषय हो, त्यसको उचित संरक्षण पनि उत्तिकै महत्वपूर्ण रहेको उनले बताए ।

त्यसोभए समस्या कहाँ छ त ? फरेन्सिक शास्त्रमा अपराध अनुसन्धानका लागि डीएनए परीक्षण गर्नुपूर्व अपनाउनुपर्ने ५ वटा स्टेप छन् ।

पहिलो हो, डीएनए भएको वस्तुको खोजी । यो काम महाकाली अञ्चल अस्पतालमा भयो ।

दोस्रोमा आउँछ– संकलन । तीनवटा नमूना संकलन गरिएपछि चिकित्सकहरुले प्रहरीको जिम्मा लगाएका छन् । उनीहरुले खामबन्दी गरेर त्यो दिएका छन् ।

चौथो प्रक्रिया हुन्छ– ‘ह्यान्डलिङ’ र ‘प्रिजरर्भेसन’ । अहिले प्रश्न उठिरहेको विषय यो प्रक्रियामा पनि हो । कञ्चनपुरबाट गाडीमा विमानस्थलसम्म ल्याउँदा पो समस्या भयो कि ? त्यहाँबाट विमानस्थलमा हुँदै प्रयोगशालासम्म पुर्‍याउँदा केही भयो कि ? तर, यो प्रक्रियामा पनि समस्या हुने बलियो आधार भेटिँदैन ।

प्रयोगशालाका अधिकारीहरुको दाबीअनुसार कञ्चनपुरबाट शिलबन्दी गरेर पठाइएको छ । त्यहाँ लाहाछाप पनि छ । त्यो अलिकति पनि तलमाथि हुँदा प्रयोगशालाले स्वीकार्दैन । त्यसैले यसमा कुनै समस्या भएन ।

शरीरबाट ‘स्वाब’ निकाल्नु र त्यसबाट पनि डीएनए निकाल्नु एकदमै संवेदशील विषय हो । कुनै सानो गल्तीले पनि गम्भीर त्रुटी हुन सक्छ । त्यसैले फरेन्सिक विज्ञान भन्छ, ‘परीक्षणमा जति थोरै मान्छे संलग्न भए, त्यति राम्रो हो ।’

सामाखुशीस्थित प्रहरीको प्रयोगशालामा रहेको डीएनए परीक्षण कक्षको अवकलोन गर्दा त्यहाँ डीएनए परीक्षणको हरेक प्रक्रियाका लागि छुट्टाछुट्टै कोठा थिए । त्यहाँ जो कोहीलाई प्रवेशको अनुमति पनि छैन । भित्र दुई डीएनए वैज्ञानिक स्ट्रेलाइज ग्लोब, माक्स र सर्जिकल क्याप लगाएर काम गरिरहेका थिए ।

त्यहाँका हरेक कोठाबाट भिन्दाभिन्दै प्रक्रियाको काम हुँदोरहेछ । हरेकमा प्राविधिक उपकरणको प्रयोग गरिन्छ । त्यहाँका अधिकारीहरुसँग कुरा गर्दा उनीहरु आफ्नो काममा त्रुटी हुन सक्ने सम्भावना नरहने दाबी गर्छन् ।

‘यहाँ काम गर्दा मोबाइलसमेत हामीसँग हुँदैन । यो एकदमै संवेदनशील विषय भएकाले हामी सजग छौं’, एक अधिकारीले भने, ‘हरेक नतिजा मेसिनले देखाइदिने भएकाले त्यहाँ तोडमोड गर्दा समेत अन्य कोही प्राविधिक आएर हेर्दा देखिहाल्छ । त्यसैले पनि यसमा शंका गर्ने ठाउँ छैन ।’

यो पनि पढ्नुहोस निर्मलाका हत्याराको खोजीः बाटोमा जसलाई भेट्यो, उहीमाथि शंका !

डीएनए ‘रिभ्यु’ गर्नु आवश्यक

स्वाब र परीक्षण प्रक्रियामाथि प्रश्न उठिसकेको अवस्थामा यसको निवारण गरेर विश्वास आर्जन गर्नु नेपाल प्रहरीको दायित्व हो । पूर्वप्रहरी नायब महानिरीक्षक हेमन्त मल्ल ठकुरी पनि अब डीएनए रिभ्यू गर्नु आवश्यक रहेको बताउँछन् ।

मल्लले अनलाइनखबरसँग भने, ‘डीएनए परीक्षणमा पठाउँदा गडबडी भयो अथवा लेबलिङ राम्ररी भएन कि ? अब यो विषयमा पनि रिभ्यू गर्नुपर्ने आवश्यकता देखिएको छ ।’

निर्मलाको ‘स्वाब’ उनकै हो होइन भन्ने परीक्षण गर्ने विधिमाथि नै चर्चा गरिसकिएको छ । तर, परीक्षणमै उठेको प्रश्नको निवारण कसरी गर्ने त ?

डीएनए जाँच प्राविधिक विषय हो । त्यसैले अब यो विषयको ‘सेफ ल्याण्डिङ’ यदि कसैले गर्न सक्छ भने ती डीएनए विज्ञ नै हुन् ।

डीएनए विज्ञहरुको टोलीले जाँचेमा त्यहाँ केही त्रुटी थियो वा थिएन भन्ने सहजै पत्ता लगाउन सकिने फरेन्सिक विज्ञ रिजाल बताउँछन् । यदि प्रहरीले तीनवटा स्याम्पलमध्ये सबै प्रयोग गरिसकेको खण्डमा पनि आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।

‘कोही पनि विज्ञले प्रहरीको ल्याबमा गएर Raw डाटा र एनालाइसिस हेर्ने हो भने त्यहाँ केही त्रुटी भए पत्ता लगाउन सक्छ’, उनले भने ।

फरेन्सिकका विज्ञहरुका अनुसार एउटा ल्याबमा परीक्षण गरिसकेको स्याम्पललाई फेरि अर्को परीक्षण गरिँदैन । यद्यपि, यो सम्बन्धित ल्याबको प्रोटोकलमा भर पर्ने कुरा हो ।

अर्को महत्वपूर्ण विषय के हो भने जति चाँडो डीएनए परीक्षण भयो, त्यति विश्वासिलो नतिजा आउँछ । त्यसैले पनि नमूना सुरक्षित नै हुँदासमेत अहिले फेरि डीएनए परीक्षण गर्नु त्यति सहज भने छैन ।

अहिलेसम्म नतिजा शून्य

प्रहरीले घटनामा मुख्य अभियुक्तका रुपमा २५ दिनपछि स्थानीय दिलिपसिंह विष्टलाई सार्वजनिक गर्‍यो । तर, स्थानीयले उनी मानसिक रोगी भएको र घटनामा संलग्न हुन नसक्ने दाबी गर्दै आन्दोलन चर्काए । त्यसक्रममा एक जनाले प्रहरीको गोलीबाट ज्यानैसमेत गुमाउनुपर्‍यो ।

नभन्दै २६ भदौमा विष्टलाई छाड्न प्रहरी बाध्य भयो । प्रमाण नपुगेपछि अदालतले साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो । उनको डीएनए र निर्मलाको भजाइनल स्वावबाट निकालिएको डीएनए म्याच भएन । यसले प्रहरीमाथिको शंका झन् बढायो ।

त्यति मात्र होइन, यही १९ मंसिरमा प्रहरीले फेरि तीनजना व्यक्ति घटनामा संलग्न भएको सूचना चुहायो । प्रारम्भमा एक जनाले मात्रै बलात्कार गरेको निष्कर्ष निकालेको प्रहरी यसपटक भने सामूहिक बलात्कार भएको दाबी गरिरहेको थियो ।

लागूऔषध दुर्व्यसनी प्रदीप रावल, विशाल चौधरी र अर्का एक चन्द थरका व्यक्ति घटनामा संलग्न भएको प्रहरीको दाबी थियो । उनीहरुले प्रारम्भमा कसुर स्वीकारिसकेको दाबी गरे पनि पछि अधिकारीहरुसमक्ष इन्कारी बयान दिएको स्रोत बताउँछ ।

यो पनि पढ्नुहोस निर्मला हत्याकाण्डः प्रहरी ५ ठाउँमा चुक्यो, अब के गर्ने ?

प्रहरीहरुले उनीहरुको पनि डीएनए परीक्षण गर्न प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठायो । तर, ‘फास्ट ट्रयाक’बाट डीएनए परीक्षण गर्ने भनेको प्रहरी अहिले नतिजा सार्वजनिक गर्नबाट हच्केको छ ।

रावल र चौधरी घटना भएकै दिन फरक–फरक समयमा कुखुरा चोरीको आरोपमा नियन्त्रणमा भएको प्रहरीले नै बताइसकेको छ भने डीएनए रिपोर्ट पनि पोजिटिभ आउनेमा प्रहरी अधिकारीहरु विश्वस्त छैनन् । बरु हतारमा नाम सार्वजनिक गरिएकोप्रति अनुसन्धान अधिकारीहरु नै रुष्ट छन् ।

अपराधीहरु पक्राउ परिसकेको भन्दै नाम सार्वजनिक गर्न प्रहरी मात्रै हतारिएन, यसबीचमा रक्षामन्त्री ईश्वर पोखरेलले समेत निर्मला पन्तका हत्याराहरु पक्राउ परिसकेको भन्न भ्याए ।

अनौपचारिक कुराकानीमा कतिपय प्रहरी अधिकारीहरु डीएनएको नतिजा नेगेटिभ आइसकेको दाबी गर्छन् । यसरी रावलको सूचना चुहाउँदा फेरि एकपटक प्रहरी विवादमा तानिएको छ ।

विष्ट र रावल मात्र होइन, यसअघि पनि आशंका लागेका २४ जनाको डीएनए परीक्षणका लागि प्रयोगशाला पठाइएको छ । तर, नतिजा शून्य छ ।

अब डीएनएबाटै अपराधी पत्ता लाग्लान् ?

१२ वर्षपछि पक्राउ परेका अभियुक्त र निक्की ।

सन् १९८८ अगस्ट १० तारिखमा नेदरल्याण्ड र जर्मनको सीमा क्षेत्रमा समर क्याममा गएका बेला ११ वर्षीय डच बालक निकी भर्साटाप्पेन हराए । भोलिपल्ट नजिकैको जंगलमा उनको शव फेला पर्‍यो ।

प्रारम्भिक अनुसन्धानमा संलग्न अधिकारीहरुले उनीमाथि यौन दुर्व्यवहार भएको निष्कर्ष निकाले । उनको हत्यामा संलग्नको खोजी र अनुसन्धानलाई व्यापक बनाइयो । तर, प्रहरी अनुसन्धानले घटनालाई किनार लगाउन सकेन ।

बीबीसीका अनुसार घटनाको अनुसन्धानमा अपराधीसम्म पुग्ने एउटा मात्रै कडी भनेको निक्कीको कपडामा भेटिएको डीएनएको स्याम्पल मात्र थियो ।

लामो अनुसन्धानपछि पनि अभियुक्त पहिचान नहुँदा प्रहरीले घटनालाई ‘कोल्ड केश’ बनायो । निश्चित समयसम्म पनि अनुसन्धान पूरा नभएपछि पुरानो केशलाई ‘कोल्ड केश’ अन्तरगत राखिन्छ । त्यस्ता घटनाको अनुसन्धान र फलोअप गर्ने छुट्टै टोली हुन्छ ।

केही उपाय नलागेपछि लिम्बर्ग प्रान्तका पुरुषहरुलाई स्वेच्छिकरुपमा डीएनए स्याम्पल दिन आह्वान गरियो । त्यसक्रममा १४ हजार बढी पुरुषहरुले डीएनए स्याम्पल दिए । तर, तीमध्ये कोही पनि दोषी थिएनन् । तर, त्यो स्याम्पलसँग तुलना गरेर उनीहरुका आफन्त घटनामा संलग्न छन् वा छैनन् भन्ने छुट्टियो ।

अन्ततः यही प्रक्रियाबाट प्रहरीले १२ वर्षपछि निक्की हत्या प्रकरणको गुथ्थी सुल्झाउन सफल भयो । एक आफन्तले दिएको नमूनाका कारण यही वर्षको अगस्टमा प्रहरी मुख्य अभियुक्त ५५ वर्षीय जोसेफ थेरेसिया जोनिस ब्रन्चसम्म प्रहरी पुग्यो ।

उनलाई स्पेनमा प्रहरीले पक्राउ गरेपछि उनी स्काउटका पूर्वनेता भएको समेत खुलेको थियो । उनलाई पक्राउ गरेर डीएनए जाँच गर्दा सतप्रतिशत नतिजा आएको थियो । यही विधि नेपालमा समेत उपयुक्त हुन सक्ने फरेन्सिक विज्ञहरु बताउँछन् ।

कञ्चनपुरका हरेक पुरुषबाट स्वेच्छिकरुपमा डीएनए आह्वान गरेर निर्मलाको अभियुक्त खोजी गर्न सकिन्छ । बच्चा, वृद्ध र पारिवारिक सम्बन्ध जोडिएकालाई छाड्दै ‘न्यारो डाउन’ गरेर अनुसन्धान अघि बढाउनु आवश्यक देखिन्छ । यही भए निर्मलाले पनि न्याय पाउन सक्छिन् र प्रहरीले पनि गुमाएको जनविश्वास पुनः आर्जन गर्न सक्छ भन्ने सुझाव छ, फरेन्सिक विज्ञहरुको ।

आईजीपीलाई समेत लज्जित बनाउने घटना

कञ्चनपुरको उल्टाखामबाट १० साउनमा १३ वर्षीया बालिका निर्मला पन्त हराएदेखि नै प्रहरीको गतिविधि र व्यवहारबाट स्थानीयबासी रुष्ट बनेका थिए । घटनाको अनुसन्धानमा प्रारम्भदेखि नै लापरवाही भएको स्वयम् प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पनि स्वीकारिसकेका छन् ।

कञ्चनपुरमै २२ भदौमा पुगेर खनालले स्वीकारोक्ति दिएका थिए कि ‘नालायक नेतृत्वले गर्दा समस्या भयो । मेरो जीवनमै सबैभन्दा बढी दुःख लागेको छ घटना हो यो । म लज्जित छु ।’

महानिरीक्षक खनाल मात्रै होइन, घटनाको अनुसन्धानका लागि गृहमन्त्रालयले गठन गरेको सरकारी छानविन समिति होस् या प्रहरी प्रधान कार्यालयले नै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) धिरु बस्न्यातको नेतृत्वमा बनाएको समिति होस्, दुवैले प्रहरीबाट अनुसन्धानमा चरम लापरबाही गरेको पुष्टि गरेका छन् ।

त्यसकै आधारमा तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टले आफ्नो जागिर पनि गुमाइसकेका छन् भने अनुसन्धानमा आबद्ध केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) का अधिकारी पनि निलम्बनमा परेका छन् ।

सर्वसाधारणको बुझाइ छ, ‘घटनाको अनुसन्धान नसकिँदै दुई अधिकारीलाई भएको बर्खास्तीले प्रहरीले प्रमाण नष्ट गर्न कुन हदसम्म लापरबाही गरेको थियो भन्ने पुष्टि गर्छ ।’

भलै अनुसन्धान अधिकारीहरु दुई प्रहरीको बर्खास्तीलाई गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालकै राजीनामा माग्दै प्रदर्शन हुन थालेपछि आफ्नो ‘टाउको’ जोगाउन चालिएको कदम मान्छन् । स्थानीयबासीको माग र दबाव अनुसार नै गृहले प्रहरी अधिकारीहरुलाई निलम्बन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment