२२ मंसिर, काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललेे निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेहरु पक्राउ परिसकेको दाबी गरेका छन् । तर, राजनीतिक दलको आवरणमा जोगाउन आउने हो कि भन्ने डर लागेको उनले बताए ।
१० औं मानवअधिकार राष्ट्रिय महाभेलालाई शनिबार ललितपुरमा सम्बोधन गर्दे उपप्रधानमन्त्री पोखरेलले भने, ‘म यति भन्न चाहन्छु, अपराधी पत्ता लागिसकेको छ, नियन्त्रणमा आइसकेको छ । हामी चाँडै विधिसम्वत ढंगले सार्वजनिक गर्छौं ।’
तर, सरकारले हत्यारा सार्वजनिक गर्दा राजनीतिको ध्येय बोकेकाहरुले छाता ओढाउन आउने हो कि भन्ने डर रहेको उनले बताए । कार्यक्रममा उपस्थित कांग्रेस नेतृ पुष्पा भुसालको नाम लिँदै नेकपाका नेता समेत रहेका मन्त्री पोखरेलले भने, ‘मलाई एउटा डर लागेको छ, सरकारले त्यसलाई सार्वजनिक गर्दा राजनीचिको धेय बोकेकाहरु छाता ओढाउन आउने हुन् कि भन्ने लागेको छ । पुष्पा जी ख्याल गर्नुहोला ।’
प्रतिपक्षी दलका नेता र अखबारका स्तम्भकारले जसरी सरकारले बोल्न नमिल्ने भन्दै उनले सरकारको नजरमा कोही पनि अपराधी उम्कन नसक्ने दाबी गरे । मन्त्री पोखरेलले निर्मलाको हत्यारा सार्वजनिक गर्न माग गर्ने अधिकारकर्मीहरुलाई हत्यारा सार्वजनिक गर्दा रक्षार्थ सक्रियता नदेखाउन पनि आग्रह गरे ।
‘आज जसजसले निर्मला पन्तको बलात्कार र हत्यारालाई एउटा झण्डा बनाएर सडकमा आउनुभएको छ’ उपप्रधानमन्त्री पोखरेलले भने, ‘माफ गर्नुहोला, त्यो अपराधी बाहिर ल्याउँदा कसैले पनि छाता ओढाउन नआउनुहोला । त्यो त कहाँ होर विचरा । निर्दोष थियो, अर्कै पो थियो सरकारले लुकायो भनेर छाता ओढाउन नआउनु होला । आफ्नो राजनीतिको रोटी सेक्नु पर्दैन ।’
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4