१६ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली देशहरूलाई उनीहरूसँग रहेको डिजेल भण्डारको केही हिस्सा बजारमा पठाउन आग्रह गर्न सक्ने बताएका छन्।
अमेरिकामा डिजेलको अभाव भइरहेका बेला ट्रम्पले यसको निर्यातमा प्रतिबन्ध लगाउने विषयमा विचार गरिरहेका छन्।
बीबीसीका अनुसार, अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले युरोपलाई यस्तो भण्डार तयार राख्न र आवश्यकता पर्दा खुला गर्न आग्रह गरेलगत्तै ट्रम्पको यो भनाइ आएको हो। बढ्दो मूल्यको भार अमेरिकी किसान, ट्रक चालक र व्यवसायीहरूमाथि थोपर्न नहुने अर्थमन्त्री बेसेन्टको भनाइ छ।
इरान युद्धका कारण मूल्य अकासिइरहेका बेला अमेरिकाले डिजेल निर्यातमा प्रतिबन्ध लगाउने चेतावनी दिएको हो। अमेरिकामा हुन गइरहेको मध्यावधि निर्वाचनअघि अमेरिकी मतदाताहरूका लागि यो एउटा प्रमुख मुद्दा बनेको छ।
सम्भावित प्रतिबन्धको अवस्थालाई मध्यनजर गर्दै बेलायतले बिहीबार युरोपेली साझेदारहरूसँग डिजेल भण्डार खुला गर्ने विषयमा छलफल गरेको छ।
अमेरिका विश्वभर डिजेल आपूर्ति गर्ने एउटा प्रमुख देश हो। यसले दैनिक १२ लाखदेखि १५ लाख ब्यारेल डिजेल निर्यात गर्दै आएको छ।
यदि अमेरिकाले विदेशमा हुने डिजेल आपूर्तिमा प्रतिबन्ध लगाएमा अन्य देशहरूमा मूल्यवृद्धिको थप दबाब पर्न सक्ने भन्दै विशेषज्ञहरूले चेतावनी दिएका छन्।
प्रतिक्रिया 4