+
+

निर्मला हत्याकाण्डः प्रहरी ५ ठाउँमा चुक्यो, अब के गर्ने ?

गौरव पोखरेल गौरव पोखरेल
२०७५ भदौ ३० गते २०:३७

३० भदौ, काठमाडौं । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको परिवार अहिले न्याय खोज्दै सिंहदरबारको ढोका ढक्ढकाइरहेको छ । जिल्लामा रहँदा आफ्नो आवाज कसैले नसुनेपछि न्यायको गुहार माग्न राजधानी आउनु परेको पन्तका बुबा यज्ञराज र दुर्गादेवीको दुःखेसो छ ।

घटनामा प्रहरीले मुख्य अभियुक्तका रुपमा सार्वजनिक गरेका दिलिपसिंह विष्ट साधारण तारेखमा छुटिसकेका छन् भने निर्मला अन्तिमपटक पुगेको घरबाट समातिएका बम दिदीबहिनी रोशनी र बबिता पनि छुटेका छन् ।

विष्टको डीएनए निर्मलाको ‘भेजिनल स्वाव’बाट निकालिएको बलात्कारीको शुक्रकीटसँग मेल नखाएपछि उनी छुटेका हुन् ।

विष्टलाई सार्वजनिक गर्नेवित्तिकै स्थानीयले उनी मुख्य अभियुक्त नहुने भन्दै आन्दोलन चर्काएका थिए । त्यसक्रममा प्रहरीको गोली लागेर एक जना प्रदर्शनकारीको मृत्यु समेत भयो ।

प्रहरीबाट सार्वजनिक गरिएका विष्ट मानसिक सन्तुलन गुमेको व्यक्ति भएको दाबी गर्दै प्रहरी अनुसन्धानमाथि प्रश्न उठाइएको थियो । नभन्दै त्यही साबित पनि भएको छ ।

अहिले देशका सुरक्षा प्रमुखदेखि लिएर प्रधानमन्त्री, गृहमन्त्रीसम्मलाई यो प्रकरणले रन्थन्याइदिएको छ । बलात्कारजस्तो अपराधिक घटनामा न्याय पाइएन भन्दै एकातिर पीडित परिवार भौंतारिरहनु परेको भने राज्य संयन्त्र पनि यसैमा अल्झिनुपरेको छ ।

प्रहरी उपरीक्षक डिल्लीराज विष्ट नालायक थिए भने किन उनलाई त्यहाँको प्रहरी प्रमुख बनाएर पठाइयो ? के ७५ हजार फौजीको संगठनभित्र लायक एसपीहरु थिएनन् ?

प्रतिपक्षी दल नेपाली कांग्रेसले यही विषयलाई लिएर संसद नै ततायो । आखिर यो अवस्था कसरी सिर्जना भयो त ? स्थानीयको आशंका झैँ यो प्रकरणमा पर्दा पछाडि ‘हाइप्रोफाइल हत्यारा’ रहेकै कारण समस्या उत्पन्न भएको हो त ?

के जिल्लाका कोही ‘हाइप्रोफाइल’लाई जोगाउन प्रहरी र राज्य संयन्त्र नै लाग्न सक्ला ? यो प्रश्न अहिले आम जनमानसको जिज्ञासा हो । जसको जवाफ भविष्यले नै बताउला ।

आखिर पन्त हत्या प्रकरणको अन्तर्य के हो ? कसरी प्रहरीमाथि जनताको विश्वास खस्कियो ? अब यो प्रकरणमा के होला र के हुनुपर्छ ? यसबारेमा यहाँ विश्लेषण गर्ने कोशिश गरेका छौं ।

आखिर निर्मला पन्त बलात्कार प्रकरणको अनुसन्धानमा प्रहरी कहाँ चुक्यो ? हेरौं केही दृष्टान्तः–

कमजोरी १ः पोष्टिङमा राजनीतिक हस्तक्षेप 

नेपाल प्रहरीका आर्इजीपी सर्वेन्द्र खनालले २२ भदौमा कञ्चनपुर पुगेर भनेका थिए, ‘नालायक नेतृत्वले समस्या भयो ।’ पन्तको बलात्कारपछि हत्या भएको घटनामाथि प्रहरी अनुसन्धानलाई लिएर सिंगो संगठनमाथि प्रश्न उठेका बेला पीडित परिवारलाई भेटेपछि खनालले दिएको अभिव्यक्ति थियो त्यो ।

उनले घटनाको अनुसन्धानमा प्रहरीको कमजोरी भएको स्वीकार्दै भनेका थिए, ‘अनुसन्धान प्रहरीले पक्कै पनि बिगारेकै हो । संगठनभित्र केही यस्तै व्यक्ति भएका कारण संगठन बदनाम भइरहेको छ ।’

खनालले त्यो अभियक्ति दिएर ‘डिफेन्सिभ’ बनिरहँदा एउटा प्रश्न भने स्वाभाविक रुपमा उठेको थियो । यदि प्रहरी उपरीक्षक डिल्लीराज विष्ट नालायक थिए भने किन उनलाई त्यहाँको प्रहरी प्रमुख बनाएर पठाइयो ? के ७५ हजार फौजीको संगठनभित्र लायक एसपीहरु थिएनन् ? जसको जवाफलाई खोज्नेबेला आएको छ ।

०५१ सालमा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका विष्टको अधिकांश पोष्टिङ सूदूरपश्चिममै भएको रेकर्ड छ । प्रारम्भमा कांग्रेसनिकट उनी पछिल्लो समय नेकपासँग निकट भएको विष्टका सहकर्मीहरु स्वयम् बताउँछन् ।

निलम्बित एसपी डिल्लीराज विष्ट ।

राजनीतिक पहुँचकै आधारमा उनी प्रहरी नायब उपरीक्षक (डीएसपी) हुनेवित्तिकै बैतडीको प्रहरी प्रमुख हुन सफल भएको विष्टका सहकर्मीहरुको दाबी छ ।

त्यति मात्र होइन, त्यसपछि दार्जुचा हुँदै ०७२ सालमा एसपी बढुवा हुनेवित्तिकै उनी डोटीका प्रहरी प्रमुख भए । त्यसपछि मध्यपश्चिम क्षेत्रीय कार्यालय, सुर्खेत सरुवा भएर आएका उनी छोटो अवधिमै कञ्चनपुर प्रहरी प्रमुखको रुपमा काज सरुवा हुन सफल भए ।

संगठनभित्र पनि व्यवसायिक छविका नमानिने उनले पोष्टिङमा भने हरेक पटक आफ्नो पायक पर्ने स्थानमा सरुवा हुँदै बाजी मारिरहेका थिए । पछिल्लो समय उनले नेतृत्व गरेका जिल्ला कञ्चनपुरकै बासिन्दा हुन्, उनी ।

अहिले प्रहरी संगठनको हरेक बढुवा र पोष्टिङ विवादित हुँदै गएको छ । कारण, प्रहरी निरीक्षक (इन्स्पेक्टर) र प्रहरी नायब उपरीक्षक (डीएसपी) देखिकै सरुवा आईजीपीको हातमा छैन ।

कानुनतः आईजीपीले प्रहरी उपरीक्षक (एसपी) सम्मको सरुवा गर्न सक्ने अधिकार छ तर, यस कार्यमा उनी स्वतन्त्र हुँदैनन् । हुन सकेका छैनन् ।

जसको परिणाम अहिले निर्मला पन्त बलात्कार प्रकरणमा देखियो । सुनकाण्डमा तत्कालिन अपराध महाशाखा नेतृत्वको भूमिकामा देखियो । मकवानपुरमा सरुवा भएर जाने वित्तिकै एसपी लोकेन्द्र श्रेष्ठले ‘अपराधीलाई इन्काउन्टर’ गर्दिन्छु भनेर सार्वजनिकरुपमा दिएको अभियक्तिमा देखियो ।

कमजोरी २ः पीडितलाई विश्वास दिलाउन नसक्नु

प्रकरणको अनुसन्धानका क्रममा तत्कालीन प्रहरी नेतृत्व पीडितलाई विश्वासमा लिन प्रारम्भदेखि नै चुुकेको देखिन्छ । जुन दिन पन्त हराइन् र पीडित खोजिदिन आग्रह गर्दैै प्रहरी चौकीसम्म पुगे । त्यहाँ प्रहरी अधिकारीले गरेको व्यवहारबाट उनीहरु झनै पीडित भए ।

निर्मला पन्तका बुबाअामा ।

यदि त्यतिबेलै प्रहरीले राम्रो रेस्पोन्स गरिदिएको थियो र खोजीमा जुटेको थियो भने अहिले यो स्थिति आउने नै थिएन सायद । र, सायद निर्मला पन्त पनि जोगिन सक्थिन् । सायद, दोषी उम्कन पाउने थिएनन् ।

तर, प्रहरी त्यहीँदेखि चुकेको देखिन्छ । पीडितको कुरालाई तत्काल सम्वोधन नगर्नु र अनुसन्धानमा भइरहेका प्रगतिबारे पीडितलाई अवगत गराउन चुक्नु पनि यो प्रकरणमा प्रहरीले गरेको कमजोरी हो ।

अनुसन्धान विज्ञहरुका अनुसार बलात्कार जस्तो घटनामा पीडित परिवारलाई अनुसन्धान भइरहेको आभास दिलाउन र त्यसमा प्रगति समेत हासिल भइरहेको परिवार अवगत गराउन जरुरी हुन्छ । यदि त्यसो नभएको खण्डमा दुर्घटना निम्ति सक्छ ।

त्यसैको भयावह परिणाम कञ्चनपुर बलात्कार प्रकरणमा देखिइसकेको छ ।

कमजोरी ३ः परिणाम देखाउने हतारो

अनुसन्धान जति सरल छ, त्यति जटिल पनि । प्रमाण नभेटिएसम्म अनुसन्धान जटिल हुन्छ भने भेटिएपछि सरल हुन्छ ।

तर, यो बलात्कार प्रकरणमा भने अधिकारीको परिणाम देखाउने हतारोले समस्या सिर्जना गरेको देखिन्छ । अनुसन्धान गर्ने प्रहरी अधिकारमाथि अत्याधिक दबाव देखिएको एक पूर्वउच्च प्रहरी अधिकारी समेत बताउँछन् ।

जिल्लाका एसपीलाई प्रदेश प्रहरी प्रमुखसमक्ष नतिजा दिनुपर्ने दबाव । प्रदेश प्रमुखलाई आईजीपीलाई जवाफ दिनुपर्ने दबाव । आईजीपीलाई गृहमन्त्री, गृहमन्त्रीलाई प्रधानमन्त्री र सदनलाई जवाफ दिनुपर्ने दबाव । दबावै दबावमा जेलिएका कारण पनि अनुसन्धान हतारमा भएको देखिन्छ ।

र, प्रमाणसहित अभियुक्त समात्नु पर्नेमा प्रहरी मान्छे समातेर प्रमाण खोज्नतर्फ उत्प्रेरित भएको देखिन्छ । जसको पुष्टि दिलिपसिंह विष्ट छुट्नुले देखाइसकेको छ ।

परिणाम देखाउने लोभमा डीएनएको नमूना पनि भेरिफाई नगरी दिलिपलाई सार्वजनिक गर्दा प्रहरी चुकेको देखिएको छ । जसले संगठनको इतिहासमै नमेटिने एउटा दाग लगाइदिएको छ

यहाँ एउटा प्रश्न स्वभाविक रुपमा उठेको छ, आखिर दिलिपसिंहलाई किन अभियुक्त बनाइयो ? केन्द्रबाट गएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली पनि उनलाई सार्वजनिक गर्दा किन मौन रह्यो ?

केन्द्रबाट गएको टोलीले तत्कालिन प्रहरी उपरीक्षक (एसपी) ले जे निर्देशन दिए, त्यो सीआईबी टोलीले स्वीकार गर्‍यो भन्ने कुरा पत्याउन गाह्रो छ ।

दिलिप विष्टलाई ‘डम्मी’को रुपमा उभ्याइएको थियो भने त्यो कुरा सीआईबीका प्रमुखलाई पनि थाहा हुनुपर्छ । किनकि, टोलीले सीआईबी प्रमुखलाई दैनिक अनुसन्धान विवरण शेयर गरिरहेको हुन्छ ।

अनि, सीआईबी प्रमुखले आईजीपीलाई पनि समयसमयमा जानकारी दिइरहेका हुन्छन् । उता, जिल्ला प्रहरी कार्यालयबाट प्रदेश हुँदै पनि माथिल्लो लेभलसम्मै घटनाको रिपोर्टिङ पुगिरहेको हुन्छ ।

त्यसक्रममा दिलिपलाई सार्वजनिक गर्नुअघि उनीविरुद्धको प्रमाण खोजियो कि खोजिएन ? यो प्रश्न पनि अहिले जटिल बनेर उठेको छ ।

परिणाम देखाउने लोभमा डीएनएको नमूना पनि भेरिफाई नगरी दिलिपलाई सार्वजनिक गर्दा प्रहरी चुकेको देखिएको छ । जसले संगठनको इतिहासमै नमेटिने एउटा दाग लगाइदिएको छ ।

कमजोरी ४ः विज्ञप्ति नै शंकास्पद

प्रहरीले ४ भदौमा पत्रकार सम्मेलन गरेर निर्मला पन्त बलात्कार प्रकरणको मुख्य अभियुक्त दिलिपसंह विष्टलाई सार्वजनिक गर्‍यो । घटना भएको २६ दिनपछि सार्वजनिक गर्दा ‘मानसिक सन्तुलन गुमाएका’ व्यक्तिले निर्मलाको बलात्कारपछि हत्या गरेको दाबी गरिएको थियो ।

दिलिप विष्टलार्इ सार्वजनिक गर्दै प्रहरी ।

प्रहरीको विज्ञप्तिमै मानसिक सन्तुलन गुमाएका व्यक्ति भन्ने शब्द उल्लेख नगरिए पनि उनका यस्ता गतिविधिहरुबारे उल्लेख गरिएको थियो, जसले उनलाई पागल करार गर्थ्यो ।

दिलिपसिंह बिष्टले गाँजा र मादक पदार्थ सेवन गर्ने गरेको, परिवारकै महिला सदस्यलाई पटकपटक यौन दुव्र्यवहारको प्रयास गरेको, बाटोमा महिलालाई देख्दा अश्लील हर्कत गर्ने गरेको, जिल्ला कारागारमा आएर माग्ने गरेको र घरमा बाहिरै सुत्ने गरेको प्रहरीको विज्ञप्तिमा उल्लेख गरिएको थियो ।

फेरि प्रहरी आफैंले पागल करार गर्दै विज्ञप्ति सार्वजनिक गरेपछि उनकै बयानका आधारमा विष्टलाई मुख्य अभियुक्त बनाएको दाबी गर्नुलाई स्थानीयले स्वीकार्न सकेनन् । फलतः आन्दोलन चर्कियो । र, एकजनाको ज्यान पनि गयो ।

कमजोरी ५ः आईजीपीको कमजोर कमाण्ड

उपेन्द्रकान्त अर्याल आईजीपी भएका वेलासम्म ठूल्ठूला, विवादित घटनाहरुका बारेमा कसरी अगाडि बढ्ने भनेर संगठनभित्रका योग्य अफिसरहरुसँग छलफल हुने गरेको थियो ।

‘विवाद आएपछि सिनियर अफिसरहरु, अनुसन्धान अधिकारी र संगठनका विभिन्न निकायमा भएका अब्बल अफिसरहरुलाई राखेर कसरी अगाडि बढ्ने भनेर छलफल हुन्थ्यो’, प्रहरीका एक पूर्वडीआईजी भन्छन्, ‘त्यहीअनुसार अघि बढ्दा समस्याको निकास निस्किन्थ्यो ।’

तर, यो प्रकरणमा न त विज्ञहरुको सुझाव लिइयो न त आईजीपीले विवाद आएपछि प्रारम्भदेखि नै दैनिक रिपोर्टिङ मागेर प्रहरी अधिकारीलाई सचेत गराउने काम नै गरे ।

मुख्य अभियुक्तलाई सार्वजनिक गर्नेबेलामा पनि माथिल्लो निकायबाट प्रमाणबारे गम्भीरताका साथ सोधीखोजी गरेको नदेखिएको ती अधिकारी बताउँछन् ।

‘कमाण्ड गर्ने अधिकारीले विवाद भएको विषयमा प्रारम्भदेखि नै जुन चासो देखाउनुपर्ने थियो, त्यो नभएको देखियो’, उनले थपे, ‘जसका कारण संगठनको भविश्य धरापमा पर्‍यो ।’

तत्कालीन प्रहरी प्रमुख विष्टले छिटो परिणाम देखाउन खोज्दा पनि दुर्घटना निम्तिएको प्रहरी अधिकारी स्वयम् बताउँछन् ।

कसरी सार्वजनिक गरिए विष्ट ?

प्रहरीले घटनाको २६ दिनपछि अभियुक्तलाई सार्वजनिक गरेको थियो । त्यहाँ सीआईबीको दक्ष प्रहरी अधिकारीको टोली पनि थियो । आखिर के आधारमा त्यसवेला विष्टलाई मुख्य अभियुक्त करार गरिएको थियो त ? हामीले यसबारेमा जान्ने कोशिश गर्‍यौं ।

‘विशेषतः प्राविधिक सहयोग गर्ने भनेर हाम्रो टोली त्यहाँ गएको हो’, सीआईबीका एक अधिकारीले अनलाइनखबरसँग भने, ‘त्यहाँ बम दिदी बहिनीको मोबाइल चेक गर्ने, कल डिटेल हेर्ने, भाइबर, ह्वाट्स एप लगायतमा केही छ कि चेक गर्ने लगायतका काम प्रारम्भमा भए ।’

‘त्यसक्रममा जिल्लाको टोलीले उठाएको विष्टले साइकलको चेक बिग्रिएको, बालिकाको गोजीमा २० रुपैयाँ भएको जस्ता बयान दिएका थिए’, ती अधिकारीले थप्छन्, ‘ती लगायतका अन्य बयानका कारणले दिलिपसिंह विष्ट नै मुख्य अभियुक्त भएकोतर्फ संकेत भइरहेको थियो ।’

पन्तको पोष्टमार्टम रिपोर्टले उनको भोकल कर्ड भाँच्चिएको देखाएको थियो । त्यसलाई समेत बल पुग्ने बयान विष्टले दिएका थिए ।

‘टोली पुग्नुअघि नै स्थानीय प्रहरी वा अन्य कसैले उसलाई त्यो सिकाएको भए त वेग्लै कुरा, नत्र उनी आफैंले स्वीकार गर्दैगर्दा हामीले होइन भनेर किटान गर्ने आधार थिएन’, ती अधिकारी थप्छन्, ‘भलै उनलाई सार्वजनिक गर्न हतारचाहिँ गरिएकै हो ।’

तत्कालीन प्रहरी प्रमुख विष्टले छिटो परिणाम देखाउन खोज्दा पनि दुर्घटना निम्तिएको अर्का एक अधिकारी बताउँछन् ।

अबको बाटो

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले शुक्रबार राष्ट्रिय सभाका सांसदहरुलाई जवाफ दिँदै कारागार व्यवस्थापन विभागका निर्देशक हरिप्रसाद मैनाली नेतृत्वको समितिलाई अपराधी पत्ता लगाउनेसम्मको जिम्मेवारी दिएको बताएका छन् ।

तर, ‘सिभिल सर्भेन्ट’लाई अनुसन्धानको सम्पूर्ण जिम्मेवारी दिँदा त्यसले कस्तो परिणाम देला भन्ने चिन्ता अनुसन्धान विज्ञहरुले व्यक्त गर्न थालेका छन् ।

जस्तै– अनुसन्धान समितिमा रहेका उपसचिव वीरेन्द्र केसीले २५ भदौमा राजीनामा दिए, जसले अनुसन्धानमा माथि झन् ठूलो अविश्वास पैदा गरायो । सरकारका ती कर्मचारीलाई गृहमन्त्रीले नै फकाउनुपर्‍यो ।

अन्ततः दोस्रो दिनमै उनले राजीनामा फिर्तासमेत लिए । उनको यो हर्कतले सरकारलाई झनै गाह्रो भयो भने जनमानसमा अविश्वास बढायो ।

‘कतिपय घटनामा विभिन्न प्रमाणहरु छरपस्ट पार्दै हिँड्ने र अनुसन्धानको ज्ञान र अनुभव समेत नहुने कर्मचारीलाई जिम्मेवारी दिँदा राम्रो परिणाम आउला भनेर भन् कसरी विश्वास गर्न सकिन्छ ?’, पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) राजेन्द्रसिंह भण्डारी भन्छन्, ‘निजामति कर्मचारीको नेतृत्वमा बनेका समिति प्रचारमुखी देखिएका छन् । केही क्लू आइसक्दा यही सत्य हो भनेर सार्वजनिक गर्न हतार गरिएको पनि देखिएकै हो ।’

भण्डारीसहितका अधिकांश प्रहरी अधिकारी यस्ता विवादित र जटिल विषयको जिम्मेवारी प्रहरीभित्रकै विश्वासिला पात्रलाई दिनु पर्ने बताउँदै आएका छन् ।

त्यसोभए अबको निकास के त ? अनलाइनखबरले केही पूर्वप्रहरी अधिकारी र अनुसन्धान विज्ञहरुसँग कुरा गर्दा उनीहरुको एउटै मत देखियो ।

पहिलो, राजधानीसम्म भौंतारिँदै आएका पन्त परिवारलाई सरकारले सुरुमा विश्वासमा लिन सक्नुपर्छ । उनीहरुसहित सहयोग गरिरहेका संस्थासंस्थाका अधिकारीहरुलाई घटनाको यर्थाथपरक अनुसन्धान हुन्छ र दोषी सार्वजनिक हुन्छ भन्ने विश्वास दिलाउनु जरुरी छ । अहिलेको स्थितिमा यो नै पहिलो कदम हुनुपर्छ ।

दोस्रो, सरकारले गठन गरेको समितिलाई प्रहरीका कमीकमजोरीको मात्रै अनुसन्धान गर्ने कार्यदेश दिनुपर्छ । र, घटनाको अनुसन्धानका लागि विज्ञ प्रहरी (आईजीपीले नै विश्वास गरेका व्यक्ति हुन् वा अनुसन्धानमा दक्ष पूर्वप्रहरी अधिकारी) को नेतृत्वमा शक्तिशाली समिति बनाउनुपर्छ, जसलाई घटनाको सम्पूर्ण पटाक्षेप गर्ने जिम्मेवारी दिइयोस् ।

तेस्रो, प्रहरी नेतृत्वमा बन्ने त्यो समितिलाई यथेष्ट समय दिएर शुन्यबाट अनुसन्धान सुरु गर्ने स्थिति बनाइदिनुपर्छ ।

पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल ठकुरी पनि दबावविना अनुसन्धान गर्ने वातावरण बनाइदिएर नयाँ मान्छे पठाएर हुन्छ वा पुरानैले अनुसन्धान गर्ने वातावरण मिलाइनुपर्ने बताउँछन् । ‘अब पनि समीक्षा गरिएन भने प्रहरी संगठन झन् समस्यामा फस्छ’, उनी भन्छन् ।

यो पनि पढ्नुस् 

निर्मला पन्तले न्याय नपाएको यो तीज !

निर्मला हत्याकाण्डमा नयाँ टि्वस्ट: लटरपटर वयान गर्दै केसीको राजीनामा फिर्ता

लेखकको बारेमा
गौरव पोखरेल

सुरक्षा मामिलामा रिर्पोटिङ गर्दै आएका पोखरेल अनलाइनखबरका सम्बाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

Conversation

New Old Popular
Advertisment