Comments Add Comment

बैंकको लाइनमा जन्मेका ‘सेलिब्रेटी बच्चा’का लागि दुई गाउँको लडाइँ

२८ मंसिर, काठमाडौं । उनको जन्म धमाकेदार भयो, बैंकको लाइनमा जन्मिएपछि विश्वभर समाचार बने । तर, दुई वर्षका खजान्ची नाथ अहिले परिवारको दुई पक्ष र दुई गाउँको प्रतिष्ठाको विषय बनेका छन् । लोकप्रियताको कारण उनी तिक्ततापूर्ण लडाइँको केन्द्र बनेका हुन् ।

खजान्चीको जन्म उत्तर प्रदेश राज्यमा सन् २०१६ डिसेम्बर २ मा भएको थियो । भारत सरकारले एक हजार रुपैयाँको नोटमा रातारात प्रतिबन्ध लगाएको करिब एक महिनापछि उनी जन्मिएका थिए ।

प्रधानमन्त्री नरेन्द्र मोदीको नोटबन्दी गर्ने उक्त निर्णयले भारतमा रुपैयाँको संकट आयो । धेरै सातासम्म करोडौं भारतीयहरु बैंकको अगाडि नयाँ मुद्रा साट्न लाइन लागेर बस्न थाले ।

सरदारपुर गाउँबाट झिँझक बजारसम्म पैदलै हिँडेर गर्भवती सर्वेशा देवी पनि लाइन बस्न पुगेकी थिइन् । साथमा उनकी सासू शशी देवी र ठूली छोरी १० वर्षीया प्रिती पनि थिए ।

जब उनी प्रसव पीडामा थिइन्, त्यतिखेर त्यहाँ सयौं मानिसहरु बैंकमा नोट साट्न लामबद्ध थिए ।

बैंकको लाइनमै बच्चा जन्माएको खबर लामोसमयसम्म मिडियामा छाइरह्यो र बच्चाको नाम खजान्ची नाथ राखियो । सानो खजान्ची विधानसभा निर्वाचनमा सत्तारुढ भाजपाविरुद्ध निर्वाचन अभियानमा पोस्टरब्वाइ बने ।

०००

म गाउँको धुले बाटो हुँदै उनलाई भेट्न पहिलोपटक जाँदा उनी दुई महिनाका मात्रै थिए । उनी जन्मिनुभन्दा चार महिना अघि नै क्षयरोगको कारण उनको पिताको मृत्यु भएको थियो ।

बैंकको लाइनमै छोरा जन्माउँदाको पीडाबारे उनकी आमाले त्यतिखेर भनेकी थिइन्, ‘सासू त्यहीँ नभएको भए म मर्ने थिएँ ।’

तर, अघिल्लो साता जब म खजान्चीलाई भेट्न फेरि जाँदा अर्को गाउँ अनन्तपुर धौकल जानुपर्‍यो । उनकी आमा सर्वेशा देवी सासूहरुसँग झगडा भएपछि अघिल्लो वर्ष माइती आएर बस्न थालेकी छिन् ।

यो सर्वेशा देवीको माइती गाउँ हो, जहाँ उनी आमा र तीन दाजुभाइहरुको परिवारसँग बसिरहेकी छिन् ।

गाजल लगाएको टाठो आँखाले खजान्चीले मलाई हेरिरह्यो । आमाले भनेपछि उसले मसँग हात मिलायो । मैले उसको औंलामा कसले गुलावी पालिस लगाइदिएको भनेर सोध्दा मुस्कुराउँदै उसले दिदी प्रितीतर्फ औंला सोझ्यायो ।

आफ्नो लागि भएको लडाइँको बारेमा उसलाई केही थाहा छैन । मात्रै उसलाई मेरो चस्मामा ध्यान छ र उसको तस्वीर लिन खोज्दा मेरो फोन खोस्न खोज्छ ।

सर्वेशा देवीले छिमेकीको घरबाट प्लास्टिकको कुर्सी ल्याइन् र हामी आमनेसामने बसेर कुरा गर्न थाल्यौं । केहीबेरमै खजाञ्ची रुन थाल्यो । ‘उ भोकाएको छ’ भन्दै उनले स्तनपान गराइन् ।

त्यतिन्जेलसम्म गाउँमा म आएको खबर फैलिसकेको थियो र उनकी आमा, दाजुभाइ र केही छिमेकीहरु आए ।

खजान्ची रुन छाडेपछि मैले सर्वेशा देवीलाई सासूसँगको सम्बन्धबारे सोधेँ । यसपटक सासू शशी देवीबारे उनको मुखबाट प्रशंसाको कुनै शब्द निस्किएन । सम्बन्ध यति बिग्रिसकेको थियो कि उनले उनीहरुबाट आफ्नो र खजान्चीको जीवन असुरक्षित भएको बताइन् ।

०००

बैंकको लाइनमा छोरा जन्माएपछि सर्वेशा देवीलाई सरकारले राहतस्वरुप दुई लाख भारतीय रुपैयाँ दियो । गरिबीसँग जुधिरहेको परिवारको लागि यो ठूलो रकम थियो र यसैको कारणले झगडा सुरु भयो ।

पहिले जीवन रक्षा गरेकी सासूलाई अहिले उनले छुच्ची सासूको रुपमा ब्याख्या गर्दै आफूलाई राहतस्वरुप आएको आधा रकम माग्दै कुटपिट गरेको आरोप लगाइन् ।

आखिर के कुराले परिवारलाई यसरी तहसनहस पार्‍यो त ?

यो प्रश्न मैले सर्वेशा देवीलाई मात्रै होइन, सरदारपुर पुगेर उनकी सासू शशी देवीलाई पनि सोधेँ । उनीहरुको परिवार र छिमेकीहरुलाई पनि सोधेँ ।

आरोप र प्रत्यारोपको श्रृंखलामा सत्य के हो र झुट के हो पत्ता लगाउनै गाह्रो भयो । कसले सही बोलिरहेको छ र कसले बढाइचढाई कुरा गरिरहेको छ, पत्याउनै मुस्किल ।

बाइगा जातिका खजान्चीको परिवार भारतकै सबैभन्दा गरिब र पीछडिएका समुदायमा पर्छन् । अशिक्षित मात्रै होइन, उनीहरुसँग जग्गा जमिन छैन र धेरैजसोले मागेर गुजारा गर्छन् ।

परम्परागत रुपमा बाइगाहरु सर्प समातेर त्यसलाई नचाउँदै हिड्ने जाती हुन् । उनीहरुले मलाई पनि आफूसँग भएका सर्पहरु देखाएका थिए ।

सरदारपुर र अनन्तपुर धौकल गाउँ रहेको उत्तर प्रदेश भारतको सबैभन्दा धेरै जनसंख्या भएको राज्य हो । यहाँ २० करोड भन्दा धेरै जनसंख्या रहेको छ र यहाँ दैनिक १५ हजार बच्चाहरुको जन्म हुन्छ । यहाँ एक बच्चाको जन्मले यति धेरै उत्साह जगाउने कुरा कल्पना पनि गर्न सकिँदैन ।

०००

बैंकको लाइनमा खजान्ची जन्मिएपछि धेरै मिडियाले यसलाई समाचार बनाए र उसको जन्मले गाउँमा धेरै उत्साह जगायो । त्यसपछि विधानसभा निर्वाचन ताका तत्कालिन मुख्यमन्त्री अखिलेश यादवले बैंकको लाइनमा जन्मिएका खजान्चीलाई नोटबन्दीको असरका रुपमा व्याख्या गरे ।

उनले हरेक सभाहरुमा बच्चाको उदाहरण दिँदै प्रधानमन्त्री मोदीको नोटबन्दीले खजान्चीको जस्तो गरिब परिवारलाई धेरै मार परेको बताए । त्यसको केही समयपछि यादवले खजान्चीको परिवारलाई राहत रकम पनि उपलब्ध गराए ।

सर्वेशा देवीका अनुसार उनले उक्त रकम आफ्नो श्रीमानको ऋण तिर्न र क्षयरोगबाट ग्रसित आफ्नो ठूलो छोराको उपचारको लागि खर्च गरिन् । बाँकी रहेको रकम उनले बैंकमा राखेकी छिन् ।

त्यसपछि सासूले पनि उक्त रकमको आधा हिस्सा दाबी गरेको सर्वेशा देवीले बताइन् । ‘पैसा दिन आनाकानी गरेपछि उनीहरुले मलाई कुटपिट गरेर निकालिदिए र म माइत बस्न थालेँ’ उनी भन्छिन् ।

पाँच सन्तानकी आमा ३७ वर्षीया सर्वेशा देवी भन्छिन्, ‘मेरो श्रीमानको मृत्यु भइसकेको थियो र मैले आफ्नो बच्चाको भविश्यको लागि भनेर सासूलाई पैसा दिइनँ ।’

उनी माइत आएपछि सम्बन्ध झनै बिग्रियो । उनका दाजु मल्खन नाथ भन्छन्, ‘त्यहाँको समाजले उनलाई फिर्ता पठाउन दबाब दियो ।’

‘हामीले त्यो तिम्रो परिवार हो, तिम्रो घर हो त्यसैले जाउँ भन्दा पनि उनी मानिन् किनभने उनीहरुले उनलाई पिटेका थिए र दुर्व्यवहार गरेका थिए । उनी हाम्री चेली हुन्, त्यसैले कसरी उनले नचाहँदा नचाहँदै पठाउन सक्छौं ?’ मल्खन प्रतिप्रश्न गर्छन् ।

परिवारको झगडा विस्तारै दुई गाँउको प्रतिष्ठाको विषय भयो र गाँउमा कचहरी बस्यो । कचहरीको निर्णय कानूनी नभए पनि नमानेमा सामाजिक बहिष्कार हुन्छ र जरिवाना तिर्नुपर्छ ।

मल्खन नाथका अनुसार अघिल्लो वर्षमात्रै उनी तीनपटक कचहरीमा जानुपर्‍यो । एकपटक बहिनी र खजान्चीलाई लिएर नगए बापत ६५० रुपैयाँ जरिवाना तिर्नुपर्‍यो ।

खजान्चीको जन्मदिनको अघिल्लो राति दुईवाट गाडीमा केही मानिसहरु उनको घरमा आए । सर्वेशा खाना खाँदै थिइन् र खजान्ची सुतिरहेका थिए । ‘उनीहरुले खजान्चीको जन्मदिनको उत्सव मनाउन सरदारपुर जान भने, मैले मानिन । त्यसपछि उनीहरुले खजान्चीलाई समातेर गाडीमा हालेर लगे’, सर्वेशा देवीले भनिन्, ‘छिमेकीहरुको सहयोगमा खजान्चीलाई उद्धार गर्‍यौं । उनीहरुले अपहरण गर्ने प्रयास गरेका थिए ।’

विधानसभामा यादवको पार्टीले नजिते पनि उनी खजान्चीसँग सम्पर्कमै थिए । स्थानीय पत्रकारहरुका अनुसार उनले बच्चालाई आउँदो आम निर्वाचनको लागि आफ्नो मस्कट बनाउन चाहेका थिए र उनको जन्मदिनमा उनलाई दुईवटा घर दिने घोषणा गरेका थिएः एउटा सरदारपुरमा र अर्को अनन्तपुर धौकलमा ।

पूर्वमुख्यमन्त्रीले सरदारपुर गएर खजान्चीलाई जन्मदिनको उपहारस्वरुप घरको साँचो हस्तान्तरण गर्ने कार्यक्रम थियो । उनले स्थानीय पत्रकारहरुलाई पनि बोलाएका थिए ।

तर, जब यादव सरदारपुर आइपुगे, खजान्ची त्यहाँ थिएनन् । त्यसैले उनले घरको साँचो शशी देवीलाई सुम्पिए ।

यादवलाई उनको घर र मावली पक्षको झगडाको बारेमा थाहा थिएन । सेलीब्रेटी बच्चाको अनुपस्थितिका कारण रिसाएका उनले आफूलाई दुःखी बनाएको भन्दै दुई पार्टी कार्यकर्तालाई बर्खास्त गरिदिए ।

०००

केही दिनपछि सरदारपुर जाँदा मैले सडकछेउमा नयाँ चिटिक्कको घर देखेँ । शशी देवी बजार गएकी थिइन् । त्यसैले मैले उनका आफन्तहरुसँग कुराकानी गरेँ र उनी फर्कने समय कुरिरहेँ । घरमा सजाइएको सयपत्री फूल भने ओइलाइसकेको थियो ।

‘धेरै मानिसहरु खजान्चीलाई हेर्न जम्मा भएका थिए तर, उसकी आमा उतै बसिन्’ उसको ठूला काका अश्राफी नाथले भने, ‘यादव उपहारहरुसहित आएका थिए तर, उनले सबै फिर्ता लगे । उत्सवमा आउन नमानेर उनले यादवको अपमान गरिन् ।’

गाउँलेहरुका अनुसार खजान्ची जन्मिँदासम्म उनी ठीक थिइन् र त्यसपछि उनको माइतीको कारण स्थिति खराब भएको हो । खजान्ची त्यहाँ बसे, आफ्नो गाउँको विकास हुने भएकाले सर्वेशाको माइतीले त्यसो गरेको गाउँलेहरुको आरोप थियो ।

गाउँलेहरुले अर्को राजनीतिक लडाइँको पनि संकेत गरे । सरदारपुरले यादवको समाजवादी पार्टीलाई समर्थन गर्छन् तर, अनन्तपुर धौकलका माथिल्लो जातिका ठाकूरहरुले भाजपालाई समर्थन गर्छन् ।

गाउँले मुलायम नाथका अनुसार यदि सर्वेशा देवी फर्कन चाहन्न भने उनी आफ्नो माइतमै बस्न सक्छिन् तर, उनले खजान्चीलाई सरदारपुर पठाउनुपर्छ । उनी भन्छन्, ‘उ हाम्रो बच्चा हो, उ हाम्रो गाउँको बच्चा भएकाले सरकारको तर्फबाट दिइने फाइदा हामीले पाउनुपर्छ ।’

०००

शशी देवी आउँदासम्म रात परिसकेको थियो । उनी भर्खरै बनाइएको नयाँ घरको अगाडि बसिन् र मैले उनीमाथि लागेको आरोपबारे कुरा गरे । ‘त्यो सबै झुटो हो’, उनी भन्छिन्, ‘मैले बुहारीसँग कहिल्यै पनि पैसा मागिनँ । अरुले जे सिकायो, त्यो भनिरहेकी छिन् ।’

शशी देवीका अनुसार जब उनीको छोरा बिरामी भएर काममा जान सकेका थिएनन्, त्यतिखेर बुहारी सर्वेशा देवी र उनका पाँच बच्चाहरुलाई परिवारले नै पालेको थियो । उनको मृत्युपछि शशी देवीका श्रीमान र अरु छोराहरुले कमाएको पैसाहरु सबैलाई भाग लगाइएको थियो ।

उनले आफूहरुले बुहारीमाथि हातपात गरेको आरोपको पनि खण्डन गरिन् । उनले त उल्टै आफूमाथि हातपात र दुर्व्यवहार भएको कथा सुनाइन् । ‘म उनीहरुलाई फर्काउन दुईपटक उनको माइत गएँ तर, उनीहरुले खजान्चीलाई लुकाए र त्यहाँका महिलाहरुले हातपात गरे’ शशी देवी भन्छिन् ।

शशी देवीले आफूहरुले सर्वेशा र नातीको ज्यान लिने धम्की दिएको आरोपको खण्डन गर्दै भनिन्, ‘कसरी हामी आफ्नो बुहारी र नातीको ज्यान लिन्छौं ?’

फर्कने बेलामा के अब फेरि सबै जना मिल्ने सम्भावना छ भनेर मैले सोधेँ । उनी त्यति आशावादी देखिइनन्, ‘मैले उनलाई तीनपटक भेटेर घर फर्किएर आउन र नयाँ घरमा बस्न भनेँ तर, उनी मानिनन् ।’

आफ्नो साडीको फेरले आँशु पुछ्दै शशी देवीले भनिन्, ‘पहिले छोरा गुमाएँ, अहिले मेरो नाती पनि गुमाएँ ।’

(गीता पाण्डेले तयार गरेको यो सामग्री हामीले बिबिसीबाट अनुवाद गरेका हौं ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment