Comments Add Comment

आजका पत्रपत्रिकाः कांग्रेसमा कचिंगल, विधानमा सहमति जुटाउने प्रयास विफल

२९ मंसिर, काठमाडौं । राजधानी काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुको पहिलो प्राथमिकतामा कांग्रेस महासमिति बैठक परेको छ । कांग्रेस महासमितिको पूर्वसन्ध्यामा कांग्रेसमा देखिएको किचलोलाई आजका पत्रपत्रिकाहरुले विविध शीर्षकमा लेखेका छन् ।

त्यस्तै, घरधनी सांसदमा देखिएको घरभाडा मोह र नुवाकोटमा डेढ दर्जन बढीको ज्यान जानेगरी भएको सवारी दुर्घटना पनि आजका पत्रपत्रिकाहरुको प्राथमिकतामा परेको छ ।

‘कांग्रेसमा कचिंगल’ शीर्षक दिएर अन्नपूर्णले मुख्य समाचार लेखेको छ । समाचार अनुसार, सभापतिलाई बलियो बनाउने कि सामूहिक नेतृत्वलाई भन्नेमा कांग्रेसमा विवाद छ । त्यस्तै, पदाधिकारीको छनोट प्रक्रिया तथा धर्मनिरपेक्षतामा पनि मतैक्यता छैन । कांग्रेसका शीर्ष नेताहरुबीच बढेको यस्तो किचलोले महासमिति भेला नै प्रभावित भएको समाचारमा उल्लेख छ ।

तत्कालीन माओवादीले सैन्य तालिम गर्ने काभ्रेको कामीडाँडा चियावगानमा बदलिएकोलाई पनि अन्नपूर्णले आज प्राथमिकताका साथ पहिलो पृष्ठमा समेटेको छ ।

कान्तिपुरले खोज पत्रकारिता केन्द्रले घरधनी सांसदको घरभाडा मोहबारे तयार पारेको रिपोर्टलाई मुख्य समाचार बनाएर छापेको छ ।

नियमअनुसार, काठमाडौं उपत्यकामा घर भएका सांसदले घरभाडा लिन मिल्दैन । तर, सत्तारुढसँगै विपक्षी दलका कैयन सांसदले नियमविपरीत घरभाडा रकम बुझ्दै आइरहेको रिपोर्टमा उल्लेख छ । रिपोर्टअनुसार, नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङदेखि काठमाडौंकै रैथाने कांग्रेस सांसद् भीमसेनदास प्रधानसम्मले उपत्यकामा घर हुँदाहुँदै घर नभएकालाई दिन व्यवस्था गरिएको रकम लिँदै आइरहेका छन् ।

यति मात्रै होइन, सांसद रहेका मन्त्रीका श्रीमतीहरुले समेत एक कदम अघि बढेर यस्तो सुविधा लिइरहेका छन् । यो सूचीमा ओनसरी घर्ती र सत्या पहाडी छन् ।

लिटिल एन्जेल्सका सञ्चालकसमेत रहेका कांग्रेस सांसद् उमेश श्रेष्ठको नाम पनि घरभाडा बुझ्नेको सूचीमा छ । त्यस्तै कांग्रेसकी चित्रलेखा यादव, नेकपा सांसद् योगेश भट्टराई, पम्फा भुसाल, कांग्रेसका नारायण खड्काले पनि झूटो विवरण पेस गरेर घरभाडा लिँदै आएका छन् ।

राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतो, राजपाकै लक्ष्मण लाल कर्णले पनि यो सुविधा लिनेको सांसद्को सूचीमा छन् ।

रिपोर्टअनुसार, नेकपाकी गोमा देवकोटा, नवीना लामा, यज्ञराज सुनुवार र रामकुमारी झाँक्रीले पनि घर भाडाको रकममा मन थाम्न सकेका छैनन् ।

विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीले झूटो विवरण पेस गरेर सरकारी सुविधा लिनु आफैंले बनाएको कानूनको उल्लंघन भएको बताएका छन् । नक्कली प्रमाणपत्र पेस गर्नु र झूटो विवरण पेस गरेर सरकारी सुविधा लिनु एउटै भएको उनले कान्तिपुरसँग बताएका छन् ।

पूर्वसहसचिव एवं अधिवक्ता शेरबहादुर ढुंगानाको बुझाइमा काठमाडौं उपत्यकामा घर हुँदाहुँदै छैन भनेर भाडा लिनु स्वतः भ्रष्टाचार हो ।

मिनीट्रक खस्दा नुवोकोटमा डेढ दर्जनको मृत्यु भएकोदेखि चितवनको चेपाङ गाउँमा विद्यालय नहुँदा बालबालिकाको पढाइ प्रभावित भएकोलाई कान्तिपुरले पहिलो पृष्ठमा छापेको छ ।

राजधानीले ‘पहिलो महिला प्रधानमन्त्री बन्छु’ भनेर मिस नेपाल श्रृंखला खतिवडाले व्यक्त गरेको भनाइलाई मुख्य समाचार बनाएको छ ।

प्रधानमन्त्रीको सारथि फेर्न नेकपाभित्र दबाव बढ्दै गएको अर्को खबर पनि राजधानीमा छ । तेस्रो स्थायी समिति बैठकमा सरकारका सारथि एवं सल्लाकार फेर्न छलफल हुने समाचारमा उल्लेख छ ।

नागरिकले सार्वजनिक संस्थानहरुले अर्बौं व्ययभार थपेको भन्दै यसको निरन्तरतामाथि प्रश्न उठाएको छ । अन्य पत्रिकाहरुले जस्तै कांग्रेस महासमिति बैठकको चर्चा पनि नागरिकले  गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment