Comments Add Comment

युवा पुस्ताको हाउडे प्रेम : आज गाँसिने, भोली टुट्ने

अहिलेका युवा-युवती ‘फास्ट फुड कल्चर’ मा हुर्किरहेका छन् । उनीहरुलाई हरेक चीज जाँडो चाहिन्छ । किशोरावस्थामै प्रेममा पर्छन् उनीहरु । तर यस्तो हाउडे प्रेम धेरै समय टिक्दैन ।

आज हेराहेर, भोली प्रेम र पर्सी ब्रेकअप । हो, अहिलेको युवापुस्ता यही कल्चरमा बाँचिरहेका छन् । उनीहरु प्रेमलाई टाइमपासका रुपमा लिन्छन् । त्याग र समर्पणको भावना न्यून छ । खासमा उनीहरुलाई प्रेमको खास अर्थ र महत्व नै थाहा छैन ।

सच्चा प्रेमको चाहना छैन

पहिलेको जस्तो सच्चा प्रेमको युवाहरुलाई मतलब नै छैन । उनीहरु जीवनमा उत्तेजना र रोमाञ्चकता मात्रै चाहन्छन् । फिल्म हेर्न र पार्टीमा झुम्नका लागि मात्रै प्रेमी-प्रेमीका चाहिन्छ ।

कोही यस्तो जसले आफ्नो मनलाई पनि बुझोस र सधैंभरी साथ देओस । त्यस्तो व्यक्तिको खोजी नै गरिदैन । उनीहरु सँगै समय त बिताउछन् तर छुट्टीएपछि याद आँउदैन ।

अहिलेको पुस्ताले भविष्यको बारेमा भन्दा पनि वर्तमानको बारेमा मात्रै सोच्छन् ।   उनीहरु बोरिङ जीवन चाहदैनन् र प्रेमी-प्रेमीका हुँदा-हुँदै अरुसँगै फ्लर्ट गर्न पछि पर्दैनन् ।

खासमा भन्नुपर्दा उनीहरुसँग परिपक्व सम्बन्धका लागि समय नै छैन । सम्बन्धलाई निभाउने धैर्य छैन । शहरी भागदौड र पैसाको पछि लाग्ने जमानामा साँचो प्रेमले ठाँउ नै पाँउदैन ।

सबै जना भौतिक सुखको सपना मात्रै देख्न व्यस्त छन् । सम्बन्ध अब सुविधाभन्दा धेरै केही पनि होइन । भावनाको यहाँ कुनै कदर छैन ।

धैर्यता कम छ

आजकालका युवायुवतीलाई हरेक चीजमा छिट्टै खुसी चाहिन्छ । हरेक कुरा तत्काल चाहिन्छ । रेष्टुरेन्टमा गएर अर्डर गर्नासाथै फास्टफुड आए जस्तै उनीहरुलाई प्रेममा पनि सबै कुरा फास्ट चाहिएको छ ।

सम्बन्धमा गम्भिरता समयसँगै आँउछ र अर्को व्यक्तिसँग जोडिनको लागि वर्षौं लाग्छ । तर, अब प्रेमको लागि समय र धैर्य कम हुँदै गएको छ ।

उनीहरु विकल्पमा विश्वास गर्न थालेका छन् । आफूले भनेको भएन भने अर्को विकल्प सोचिसक्छन् । उनीहरु लालची भएका छन् । उनीहरुलाई सबैथोक चाहिन्छ ।

प्रविधिले बनायो टाढा

हुन त प्रविधिले मानिसहरुलाई धेरै नजिक ल्याएको छ । देश-विदेशमा भएका साथीभाइ आफन्तसँग पनि सजिलै भिडियोकल, भ्वाइसकल गर्न सकिन्छ । तर नजिकै भएका मानिस सँग भने कुराकानी गर्ने फुर्सद छैन ।

शारीरिक उपस्थितीको स्थान फेसबुक, इन्स्टाग्राम, टि्वटर, हृवाट्सएपले लिएको छ । एकअर्कासँग समय बिताउने आवश्यकता महसुस नै हुँदैन ।

फेसबुकले गर्दा एक-अर्काको बारेमा पहिले नै धेरै जानकारी हुन्छ । कुरा गर्नको लागि केही पनि बाँकी हुँदैन । कुनै रहस्य र खुल्दुली नै हुँदैन ।

सेक्सलाई नै प्रेम ठान्ने मनोविकार

सेक्स अहिले धेरै सजिलो चिज भएको छ । प्रेम सम्बन्धमा सेक्स मात्रै सबैथोक होइन तर युवाहरु प्रेमभन्दा पनि सेक्सलाई महत्व दिन थालेका छन् । आफ्नो सम्बन्ध बाहिर अरुसँगै पनि सेक्स हुनु अब ठूलो कुरा रहेन ।

अहिले मल्टिपल रिलेसनसिपको पनि चलन आएको छ । त्यस्तै प्रेम सम्बन्धमा नभए पनि मिल्ने साथीबीच पनि यौनसम्बन्ध हुने गरेको पाइन्छ ।

दिमागले सोच्ने पुस्ता

यो पुस्ता व्यवहारिक पुस्ता हो र उनीहरुले हरेक कुरालाई दिमागले सोच्छन् । उनीहरुलाई पागलपनको हदसम्म प्रेम गर्न आउँदैन । आफ्नो हित-अहित सोचेर मात्रै उनीहरु कुनै कदम उठाउँछन् । प्रेममा पागल जसरी भौतारिने समय अब कसैसँग पनि छैन ।

प्रेममा अब प्रतिबद्धता र मुटु टुट्ने जोखिमबाट डर लाग्छ । अब आँखा बन्द गरेर कसैको प्रेममा परी आफ्नो जीवन खराब बनाउन कसैले चाहँदैन ।

मानिसको लागि प्रेम र विश्वास धेरै नै महत्वपूर्ण कुरा हो । तर, हामी सायद विस्तारै-विस्तारै यी शब्दको अर्थ भुलिरहेका छौं । आधुनिक समयमा रहेका हामी कतै प्रेमको महत्व नै भुल्ने त होइनौं ? यो विचारणीय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment