Comments Add Comment

सेयर लगानीकर्ता आमरण अनसनमा, अर्थमन्त्रीको राजीनामा माग

२ पुस, काठमाडौं । सेयर लगानीकर्ताहरुले अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा माग गर्दै काठमाडौंमा आमरण अनसन सुरु गरेका छन ।

सेयर बजार सुधार र बिस्तारको माग गर्दै एक साता अघिदेखि रिले अनसन सुरु गरेका उनीहरुको माग सरकारले सुनुवाइ नगरेपछि काठमाडौंको भद्रकालीस्थित नेपाल स्टक एक्जेञ्च कार्यालयको मूलगेटमै आमरण अनसन सुरु गरेका हुन् ।

सोमबारदेखि सेयर लगानीकर्ता दवाव समूहको तर्फबाट आमरण अनसन सुरु गरिएको हो । सेयर लगानीकर्ताद्धय हरि ढकाल र तिलक कोइरालाले आफूहरुको माग सम्बोधन नगरेको भन्दै अर्थमन्त्री खतिवडाको राजीनामा माग गरेका हुन् । आफूहरुको माग सम्बोधनका लागि अर्थ मन्त्रालयद्वारा गठित उच्चस्तरीय अध्ययन समितिको कामै नभएको भन्दै ढकाल र कोइरालाले आपत्तिसमेत जनाएका छन् ।

मुद्रा र पूँजीबजारमा देखिएको समस्या समाधान गर्न अर्थ मन्त्रालयद्वारा गठित उच्च स्तरीय अध्ययन समितिले यसै साता प्रतिवेदन पेश गर्ने तयारी गरेको छ । तर सेयर लगानीकर्ताहरुले सो समितिले पेश गर्ने प्रतिवेदनले आफूहरुको समस्या समाधान गर्न नसक्ने दावी पनि गरेका छन् ।

सेयर लगानीकर्ताहरुबाट कर असुलीमा समेत वृद्धि गरेपछि लगानीकर्ताहरु सरकारसँग आक्रोशित भएका हुन् । उनीहरुले आफूहरुको लगानीको सुरक्षा गर्न माग गर्दै सरकारलाई दवाव दिन यस अघि पनि नेपाल स्टक एक्सचेञ्जको कार्यालयमा धर्नासहितका विरोध प्रर्दशनको कार्यक्रम गर्दै आएका छन् । तर त्यसको पनि सुनुवाइ सरकारले नगरेपछि आमरण अनसनमा बस्नुपरेको सेयरलगानीकर्ता कोइरालाको भनाइ छ ।

कांग्रेसको समर्थन

यसैबीच, प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सेयर लगानीकर्ता दवाव समूहले सूरु गरेको आमरण अनसनसहितको आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, नेता ज्ञानेन्द्रबहादुर कार्कीलगायतका नेताहरुले भद्रकालीस्थित नेपाल स्टक एक्सचेञ्जको मूलगेटमै आमरण अनसन सुरु गरेका ढकाल र कोइरालासँग भेट गरी सेयर लगानीकर्ताहरुको आन्दोलनप्रति ऐक्यवद्धता जनाएका हुन् ।

पूर्वअर्थमन्त्रीसमेत रहेका कार्कीले वर्तमान सरकार बनेयता ओरालो लागेको सेयर बजारमा तत्काल सुधार गर्न सरकारको ध्यानाकर्षण गराए । उनले सरकारले अस्थीर नीतिका कारण सेयर बजार ओरालो लागेको गम्भीर आरोपसमेत लगाए ।

कम्युनिष्ट नेतृत्वको सरकार गठन भएयता पूँजी बजार ओरालो लागेको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको आरोप छ । कांगे्रस नेता कार्कीले सेयर लगानीकर्ताको माग तत्काल सम्बोधन गर्न पनि सरकारलाई सचेत गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment