News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल धितोपत्र बोर्डले आधारभूत सेयरधनीले सेयर बिक्री गर्दा पूर्वसूचना दिने सीमा ५ प्रतिशतबाट १५ प्रतिशत पुर्याएको छ ।
- लकइन अवधि सकिएपछि १५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्नुपर्ने आधारभूत सेयरधनीले अब ५ कारोबार दिनअगावै कम्पनीलाई जानकारी गराउनुपर्नेछ ।
- सेयर बिक्रीको सूचना पाएपछि कम्पनीले सो विवरण यथाशीघ्र नेप्सेमार्फत सार्वजनिक गर्नुपर्ने र सूचनाको वैधता ३ महिनाको हुनेछ ।
२३ असोज, काठमाडौं । नेपाल धितोपत्र बोर्डले आधारभूत सेयरधनीले सेयर बिक्री गर्दा पूर्वसूचना दिनुपर्ने सीमा बढाएको छ । बोर्डले यसअघि कायम रहेको ५ प्रतिशतको सीमालाई बढाएर १५ प्रतिशत पुर्याएको हो ।
धितोपत्र बोर्डले धितोपत्र बजारमा सूचीकृत कम्पनीका संस्थापक तथा आधारभूत सेयरधनीले ५ प्रतिशतभन्दा बढी सेयर बिक्री गर्दा १५ दिनअघि नै सूचना दिनुपर्ने व्यवस्था गरेको थियो ।
सो व्यवस्थाको विरोध भएपछि बोर्डले उक्त सीमालाई बढाएर १५ प्रतिशत पुर्याएको हो ।
बोर्डले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ८४ को उपदफा (१) अनुसार गत भदौ ९ गते जारी गरेको निर्देशनमा संशोधन गर्दै आधारभूत सेयरधनीका लागि सेयर बिक्रीको सीमा र पूर्वसूचना दिने समय परिवर्तन गरेको हो ।
नयाँ व्यवस्था अनुसार लकइन अवधि समाप्त भएपछि आधारभूत सेयरधनीहरूले १५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्नुपर्ने भएमा ५ कारोबार दिनअगावै सम्बन्धित कम्पनीलाई जानकारी गराउनुपर्नेछ ।
सेयरधनीबाट बिक्रीको सूचना प्राप्त हुनासाथ सम्बन्धित कम्पनीले सो जानकारी यथाशीघ्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत सार्वजनिक गर्नुपर्नेछ । सेयर बिक्रीका लागि जारी गरिएको सूचनाको वैधता अवधि ३ महिनाको हुनेछ ।
बिक्रीको सूचना दिएका तर सेयर बिक्री नगरेका वा पूर्ण रूपमा नबेचेका आधारभूत सेयरधनीले पुन: सोही कम्पनीको सेयर खरिद गरेमा, कारोबार सम्पन्न भएपछि मूल्य र परिमाणसहितको विवरण कम्पनीलाई दिनुपर्नेछ ।
उक्त जानकारी पनि कम्पनीले नेप्सेमार्फत तुरुन्तै सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया 4